सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से २८.७३ अंक (१.१० प्रतिशत)ले बढेर दुई हजार ६३९.३७ विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्समा पनि ०.८२ प्रतिशतको बढोत्तरी भएको छ।
आज ३३५ कम्पनीका एक करोड २४ लाख ५९ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार रुपैयाँको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो। आइतबार करिब पाँच अर्बको सेयर कारोबार भएको थियो।
आज नेप्सेका सबै १३ वटै समूहको सूचकमा हरियाली छाएको छ। उत्पादन तथा प्रशोधन समूह तीन प्रतिशतभन्दा धेरैले उकालो लाग्दा विकास बैंक, होटेल तथा पर्यटन पनि दुई प्रतिशतभन्दा धेरैले बढेका छन्।
बढेको बजारमा आज पाँचवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सागर डिस्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबलकार र रुरु जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेका हुन्।
सर्वाधिक घट्नेमा भने सप्तकोशी विकास बैंक र रिलायबल नेपाल लाइफ रहेका छन्। यी दुवै कम्पनी दुई प्रतिशतभन्दा धेरैले गिरावट भएका छन्।