नेपाल एसबिआई बैंक लिमिटेडले सेयरधनीलाई प्रदान गर्ने भनिएको नौ प्रतिशत लाभांश प्रस्ताव पारित भएको छ । बैंकको शुक्रबार सम्पन्न ३२औँ वार्षिक साधारणसभाले लाभांश प्रस्ताव पारित गरेको हो ।
बैंकले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफबाट चार प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसहित) वितरणको प्रस्ताव गरेको थियो ।
सभामा बैंकको गत आवका लागि सञ्चालक समितिको प्रतिवेदन एवं लेखा परीक्षकको प्रतिवेदनसहितको असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीसमेत पारित गरिएको छ ।
यसका साथै चालू आवका लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक पनि सभाले निर्धारण गरेको छ । उक्त सभाले बैंकको प्रबन्धपत्रको विभिन्न दफामा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
त्यस्तै, सर्वसाधारण सेयरधनी समूहका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने अप्सरा उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको छ । साथै, सभाले उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने–गाभिनेलगायतका कार्य गर्नुपर्ने अवस्था आएमा सो कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ । बैंकले साधारणसभाकै अवसर पारी सबै प्रदेशमा ३२ भन्दा बढी सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।