झापाको माटोमा बढ्दै अम्लीयपन, घट्दै उत्पादन

शनिबार, १९ पुष, २०८२
डिजिटल संस्करण
  • सबैभन्दा धेरै धान फल्ने जिल्लाका रूपमा परिचित झापाको माटोमा अम्लीयपन बढ्दै जाँदा धानसहित अन्य फसल उत्पादनमा ह्रास
  • अम्लीयपनको मात्रा थोरै रहेको माटो खेतीका लागि उपयुक्त मानिँदैन, तर झापाका १५ वटै पालिकाबाट १५ सय ७७ वटा माटोका नमुना परीक्षण गर्दा १६.९३ प्रतिशत मात्रै भेटियो तटस्थ, ८३.०६ प्रतिशत माटोमा देखियो अम्लीयपन

सात कट्ठा जमिनमा खेती गर्दै आएका दमक नगरपालिका– ३ का कृषक दिलेन्द्र सापकोटाको कृषि उत्पादन केही वर्षयता घट्दो छ । बर्सेनि २३–२४ मन मकै फल्ने खेतमा ६ मन मात्रै उत्पादन भएपछि उनले गत वर्ष माटो परीक्षण गराउँदा अत्यधिक अम्लीयपन देखिएको बताए । ‘माटो परीक्षण गर्दा अत्यधिक अम्लीयपन देखियो । नगरपालिकाबाट सात बोरा कृषि चुन पाएको छु । कृषि चुन लगाउनेबित्तिकै बाली लगाउन नहुने भएकाले अहिलेसम्म लगाएको छैन । अब तोरी उठाएपछि कृषि चुन लगाउँछु’ उनले भने ।

दमक– १० का चन्द्र भण्डारीको खेतीमा पनि क्रमश: उत्पादन घटेपछि गत वर्ष परीक्षण गर्दा माटोमा अत्यधिक अम्लीयपन देखियो । अहिले उनी अम्लीयपन हटाउने विधिको प्रयोग गरिरहेका छन् । पछिल्लो समय झापामा किसानको खेतीयोग्य जमिनमा अम्लीयपन बढ्दै गएको पाइएको कृषि ज्ञानकेन्द्रको तथ्यांक छ । जसकारण फसल उत्पादन घटिरहेको केन्द्रले जनाएको छ ।

आर्थिक वर्ष ०८१/८२ मा झापाका १५ वटै पालिकाका एक हजार पाँच सय ७७ वटा माटोका नमुना परीक्षण गर्दा पाँच सय ५९ वटा नमुनामा अम्लीयपन देखिएको केन्द्रको तथ्यांक छ । जुन कुल नमुनाको ३५.४४ प्रतिशत हुन आउँछ ।

यस्तै, सात सय ५१ वटा नमुनामा सामान्य अम्लीयपन देखिएको कृषि ज्ञानकेन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए । जुन कुल नमुनाको ४७.६२ प्रतिशत हुन आउँछ । यस्तै, दुई सय ६७ नमुना तटस्थनजिक देखिएको छ । जुन कुल नमुनाको १६.९३ प्रतिशत हुन आउँछ । कृषिका लागि तटस्थनजिकको माटो मात्र राम्रो मानिने उनले बताए । ‘अम्लीयपन धेरै र थोरै रहेको माटो खेतीका लागि राम्रो मानिँदैन,’ उनले भने ।

कृषि ज्ञानकेन्द्रको माटो तथा मल परीक्षण प्रयोगशाला शाखाले नियमित माटो परीक्षण गर्दै आएको छ । चालू आर्थिक वर्ष ०८२/८३ मा पनि स्थानीय तहको समन्वयमा दमक नगरपालिका, अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा माटो परीक्षण गरिसकेको छ । जसमा ४६ प्रतिशतभन्दा बढी अम्लीयपन देखिएको कृषि ज्ञानकेन्द्र झापाकोे माटो तथा मल परीक्षण प्रयोगशाला शाखा प्रमुख अञ्जु बुढाथोकीले जानकारी दिइन् । 

अम्लीयपनको उक्त मात्रा खेतीयोग्य जमिनका लागि खतराको संकेत भएको उनको भनाइ छ । पिएचको मान ५.५ भन्दा कमलाई अम्लीयपन भएको र ५.६ देखि ६.४ सम्म हल्का अम्लीयपन भएको माटो मानिन्छ । त्यसभन्दा बढी ७.४ सम्म तटस्थनजिक र त्यसमाथि बढी छारियपन भएको माटोका रूपमा लिइने उनले बताइन् । तर, पूर्वको माटोमा छारियपन नभेटिएको शाखा प्रमुख बुढाथोकीले जानकारी दिइन् ।

अम्लीयपन र हल्का अम्लीयपन भएको माटोमा खेती नफस्टाउने समस्या रहेको उनको भनाइ छ । यस्तो माटोमा प्रांगारिक पदार्थ, नाइट्रोजन, फस्फोरस र पोटासको मात्र कम हुन्छ । ‘जसका कारण जुनसुकै खेती गर्दा पनि बिरुवा नसप्रने हुन्छ । बिरुवाले माटोबाट पाउनुपर्ने तत्व पनि पाउन सक्दैन,’ उनले भनिन्, ‘यसले गर्दा बिरुवामा किरा लाग्ने र बिरुवाको वृत्तिविकास हुँदैन, जसले उत्पादन पनि घट्छ । माटोमा अम्लीयपन बढ्दै जाँदा क्रमश: उत्पादनमा ह्रास आउँदै जाने समस्या बढ्दै जान्छ ।’ 

दक्षिणी क्षेत्रको माटोमा अत्यधिक अम्लीयपन देखिएको उनले बताइन् । पछिल्लो समय खेतीमा अत्यधिक मात्रामा असन्तुलित रूपमा रासायनिक मलको प्रयोग बढिरहेकाले माटोमा अम्लीयपन बढ्दै गएको बुढाथोकीको भनाइ छ । माटोमा देखिएको अम्लीयपन घटाउनका लागि कृषि चुन सबैभन्दा उपयुक्त विधि रहेको उनी बताउँछिन् । 

माटोमा अम्लीयपन कम गर्न किसान नै सचेत हुनुपर्छ : अञ्जु बुढाथोकी, माटो प्राविधिक, कृषि ज्ञानकेन्द्र, झापा

अहिले प्रांगारिक मलभन्दा पनि रासायनिक मलको प्रयोग बढ्दो छ । रासायनिक मल पनि सन्तुलन नमिलाई लगाउँदा यो समस्या आएको हो । माटोमा अम्लीयपन कम गर्नका लागि किसान नै सचेत हुनुपर्ने अवस्था छ । प्रांगारिक मलले पनि अम्लीयपन घटाउँछ । तर, अत्यधिक भएका कारण यसका लागि समय लाग्छ । अहिलेको सन्दर्भमा कृषि चुन नै उपयुक्त हुन्छ ।  गत वर्ष कृषि ज्ञानकेन्द्रसँग किसानलाई कृषि चुन वितरणको कार्यक्रम पनि थियो । त्यो वेला हामीले कृषकलाई कृषि चुन पनि उपलब्ध गरायौँ । अहिले हामीसँग त्यो कार्यक्रम नभएकाले अम्लीयपन देखिएको स्थानीय तहसँग समन्वय गरिरहेका छौँ ।

See More On

सुझावित समाचार