रासायनिक मल वितरण गर्ने सूचना पाएपछि नेपालगन्ज उपमहानगरपालिका– १६, जयसपुरका सद्दाम हुसैन खाँ सोमबार बिहान चार बजे जिल्ला सहकारी संघ बाँकेको कार्यालय पुगे, तर उनी नपुग्दै करिब सय किसान लाइनमा बसिसकेका थिए । लाइनमा बसे पनि मल पाउनेमा उनी ढुक्क थिएनन् । किनभने रासायनिक मलका लागि धेरैपटक लाइन बसेर रित्तो हात फर्किएको अनुभव उनीसँग थियो ।
तर, यसपटक उनले एक बोरा मल पाएपछि खुसी हुँदै भने, ‘विगतमा दिनभर लाइनमा बस्दासमेत मल नपाएर धेरैपटक रित्तो हात फर्किएको अनुभव छ । यसपटक भने जसोतसो एक बोरा पाइयो ।’ नेपालगन्ज उपमहानगरपालिका– १७, परस्पुरकी राममोती रैदास पनि बिहान पाँच बजेदेखि मल खरिद गर्न लाइनमा बसिन् । गहुँमा हाल्ने युरियाका लागि बिहानैदेखि लाइनमा बसेकी उनी भने यसपटक पनि रित्तै फर्किइन् । युरिया मलका लागि लाइनमा बसेको यो उनको तेस्रोपटक हो । ‘दुईपटक लाइनमा बसिसकें, पालो आउने वेला मल सकिएको भन्दै फिर्ता पठाएका थिए । यसपालि पनि त्यस्तै भयो,’ उनले भनिन्, ‘गहुँमा युरिया मल हाल्ने ठिक समय हो । अहिले पनि पाइएन भने पछि पाउनुको कुनै अर्थ छैन ।’
सहकारीमा मल थोरै आउने र माग धेरै हुने डुडुवा गाउँपालिका– ६, हिरमिनियाकी शान्तिदेवी हरिजनले बताइन् । अघिल्लोपटक त मल किन्ने किसानको भिड धेरै हुँदा वितरण नै रोकिएको उनले सुनाइन् ।
जिल्ला सहकारी संघ, बाँकेका प्रबन्धक नवराज उपाध्यायले सोमबार दुई सय ४० बोरा युरिया मल वितरण गरिएको जानकारी दिए । तर, पाँच सयभन्दा बढी किसान संघको कार्यालयमा आएको उनले बताए । ‘मल चाहिएर लाइनमा बसेकामध्ये आधालाई मात्र वितरण गर्न सक्यौँ,’ उनले भने । यद्यपि, उनले बाँकेमा रासायनिक मलको अभाव नभएको जिकिर गरे । ‘सोमबारसहित पुसमा मात्र एक हजार बोरा युरिया मल वितरण गरिसक्यौँ, तर किसान मल पाएनौँ भन्दै संघको कार्यालयमा आउनुहुन्छ,’ उनले भने, ‘यो समय युरिया मल आवश्यक पर्ने वेला पनि होइन । धान सिजनमा मल पाइँदैन कि भन्ने आशंकाले भण्डारण गरेर राख्दा अभाव देखिएको हो ।’ सहकारीले बिहान नौ बजेदेखि मल वितरण गर्ने सूचना जारी गरे पनि किसान बिहान तीन–चार बजेदेखि नै कार्यालयअगाडि लाइनमा बसेको उनले बताए ।
सरकारको गोदाममा ८८ हजार टन मौज्दात रहेको दाबी
अनुदानको रासायनिक मल वितरण गर्ने जिम्मेवारी लिएका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाममा भने ८८ हजार चार सय ८२ टन मल रहेको दाबी गरेका छन् । कृषि सामग्रीको देशभर रहेका गोदाममा ६० हजार आठ सय ११ टन र साल्ट ट्रेडिङसँग २७ हजार ६ सय ७० टन मौज्दात रहेको दाबी छ । त्यसमध्ये युरिया ४१ हजार एक सय १५ टन, डिएपी ४१ हजार पाँच सय ५४ टन र पोटास पाँच हजार आठ सय १२ टन मौज्दात रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । त्यस्तै, ५९ हजार आठ सय ६३ टन मल विभिन्न देशबाट आयातको प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ । ४४ हजार पाँच सय २७ टन युरिया र १५ हजार दुई सय ७६ टन डिएपी मल ठेक्का सम्झौता भई आपूर्ति भइरहेको मन्त्रालयले जनाएको छ । यसमध्ये केही परिमाण कोलकाता बन्दरगाहमा आइपुगेर बोरामा प्याकिङसमेत भइरहेकाले १० दिनभित्र नेपाल प्रवेश गर्न थाल्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले यो वर्ष ६ लाख टन मल खरिद गर्ने योजना बनाएको र हालसम्म चार लाख ६६ हजार टन खरिदका लागि टेन्डरसमेत भइसकेको जनाएको छ । ९ पुससम्म देशभर दुई लाख ९५ हजार तीन सय ४६ टन युरिया, डिएपी र पोटास बिक्री भइसकेको छ ।
मल आपूर्ति र बिक्रीको अवस्था अनलाइनबाट हेर्ने सुविधा
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले मल आपूर्ति, भण्डारण र वितरणलाई पारदर्शी बनाउन ‘अनुदानको मल वितरण सूचना प्रणाली’ लागू गरेको छ । कृषि मन्त्रालयको वेबसाइटमा राखिएको उक्त प्रणालीमा देशभर रहेको मलको आपूर्ति अवस्थाबारे समग्र जानकारी राखिएको छ । त्यस्तै, किसानले आफ्नो स्थानीय तह र नजिकको मल बिक्री केन्द्र (सहकारी, साना किसान वा कृषिसम्बन्धी औषधि पसल)मा रहेको मौज्दात र बिक्री अवस्थाबारे समेत जानकारी लिन सक्ने गरी प्रणाली तयार गरिएको छ ।