केवरत समुदायले आदिवासी जनजातिको रूपमा सूचीकृत हुन पाऊँ भन्दै सरकारसमक्ष अनुनय गरेको १७ वर्ष पूरा भयो । तर, अहिलेसम्म राज्यले केवरतलाई आदिवासी जनजातिको पहिचान दिएको छैन । २०६५ सालमा त्रिविका प्रा.डा. ओम गुरुङको संयोजकत्वमा गठित आदिवासी जनजाति पुन: सूचीकरण उच्चस्तरीय कार्यदल गठन भएको थियो । त्यस कार्यदलको तीन सदस्यीय टोली केवरत जातिको बसोवासमा स्थलगत भ्रमण गरेको थियो । टोलीले तीन दिन बसेर केवरत जातिका भाषा, संस्कार, संस्कृति, प्रथा प्रणाली र जीवनपद्धतिबारे प्राथमिक सामग्री संकलन गरेको थियो ।
त्यही क्रममा प्राप्त सामग्री, आइएलओ १६९ र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको निमयअनुसार मिल्दोजुल्दो प्रमाणका आधारमा २५ वटा जाति समुदालाई आदिवासी जनजाति हुन् भनेर सरकारलाई अर्को वर्ष प्रतिवेदन बुझाएको थियो । तर, अझैसम्म त्यो कुरा मन्त्रिपरिषद्बाट अनुमोदन हुन सकेको छैन । ०७६ को माघमा राना थारूलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा सूचीकरण गराइयो । तर, शक्तिमा हाम्रो पहुँच नभएकाले अझै पनि हामी आदिवासी जनजातिमा सूचीकृत हुन सकेका छैनौँ । अध्ययनका क्रममा केवरतको संस्कार, संस्कृति, जीवनपद्धतीलगायत आदिवासी जनजातिसँग मेल खान्छ । केवरत समुदायमा मूर्ति पूजा चलन थिएन । वनस्पति, बोटबिरुवा, पानी, माटोको पूजा गर्नेे प्रचलन छ ।
राज्यले केवरत समुदायको वस्तुपरक अध्ययन गरेको छैन । किनभने केवरतलाई कुनै छलफल नै नगरी मधेशीमा राखिएको छ । कुनै पनि समुदायबारे अध्ययन–अनुसन्धान नगरी कुनै पनि क्लस्टरमा राख्नु उपयुक्त हुँदैन । तर, केवरतसँग कुनै छलफल, जानकारीविना मधेशीमा राखियो । राज्यले सामाजिक न्यायको सिद्धान्त, मानव अधिकारको सिद्धान्तका आधारमा यी कुरा सुनिश्चित गर्नुपर्ने हो । तर, तथ्य प्रमाण भएर पनि सूचीकृत हुन नपाउँदा पीडित भएका छौँ । राज्यबाट पाउनुपर्ने धेरै सेवा–सुविधाबाट वञ्चित भएका छौँ ।
केवरत समुदायको बसोवास मोरङको सुनवर्सी ननगरपालिका वडा– ४ का कासिजान (जिम्दार टोल, प्रधान टोल, स्कुल टोल) गोपी कामत टोल, वडा– ५ का गाइडेग्रा, बेलडांगी, रमनपुर, वडा– ६ का बाँसबारी, बिर्ता, तालगाछ, खिखिरडाङी र सरनपुर गाउँमा रहेका छन् । सोही नगरपालिका वडा– ७ को बारडंगा र वडा ९ का चन्ननखारही र डाइनियाँ गाउँहरूमा केवरत जाति बस्छन् । रतुवामाई नरपालिकाले वडा– ३ को महादेवा पिढाली र वडा– ५ को कुइलडाङी रतिलालमा पनि केवरतको बसोवास छ ।
मोरङमा केवरत परापूर्वकालदेखि बस्दै आएका हुन् । यो समुदाय त्यहाँ बस्नुभन्दा अघि जंगल नै थियो । तर, राज्यको आधिकारिक अभिलेखमा केवरतबारे केही भेटिएको छैन । २००३ सालमा केवरत समुदायबाट मुक्तिलाल दास केवरतले जमिन्दारी किनेका थिए । जमिन्दारी किन्नु भनेको त्यतिवेला प्रभुत्वशाली समुदाय हो भन्ने संकेत गर्छ । मेरी आमापट्टिका हजुरआमाहरूले अढाई, तीन सय जति गाई पाल्थे । डेड दुई सय बिघा जमिन भएको लालपुर्जा भेटिएको छ । लिखित प्रमाण केही नभएको लालपुर्जामा मात्र केवरत सिमित भएको पाइन्छ ।
अनि भाषा बोक्न थालेँ
गाउँमा रहदा मेरो समुदायबारे त्यति जानकारी थिएन । किनभने केवरत समुदायका बारेमा अध्ययन, अनुसन्धान केही भएको थिएन । केवरत समुदायका बारेमा जान्नैपर्ने गरी सचेतनाको काम पनि भएको थिएन । आफ्नै समुदायभित्र रहेकाले पहिचान खड्किएको महसुस पनि भएन । जब म अध्ययनको सिलसिलामा ०५० सालमा काठमाडौं आएँ । काठमाडौं आएपछि विभिन्न अभिलेख अध्ययन गर्न थालेँ ।
विभिन्न जात, समुदायकाबारे अनगिन्ती जानकारी हासिल गरेँ । तर, मैरै समुदायका बारेको केही पनि पाउन सकिनँ । केवरतको बारेमा शून्यता हुँदा मलाई व्यक्तिगतभन्दा सामुदायिक पहिचानकै समस्या अनुभूति भयो । विविधता हाम्रो पहिचान हो । तर, एउटा समुदाय अभिलेखमा कहिँकतै छैन । जातीय, भाषिक, सांस्कृतिक चिनारी छैन । जातीय पहिचान नहुँदा विभिन्न अधिकारबाट वञ्चित हुने रहेछ । राज्यले योजना निर्माण गर्दा जातीय क्लस्टर, सामाजिक, राजनीति, आर्थिक अवस्था पनि हेर्नेरहेछ । त्यहीअनुसार बजेट बाँडफाँड गर्नेरहेछ । स्तरोन्नतिका कार्यक्रम निर्धारण गर्ने कुरा रहेछ । यी सबै कुरा थाहा पाएपछि केही न केही गर्नुपर्छ भन्ने लाग्यो । त्यही वेला भाषामा काम गरिरहेका अमृत योञ्जन तामाङसँग मेरो भेट भयो । उनीसम्म पुर्याउने काम नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य अमर तुम्मेहाङले गरे । यो भेटले भाषामा काम गर्ने थप ऊर्जा प्राप्त भयो ।
आफ्नो जाति र भाषाबारे कुनै अभिलेख नभेटेपछि निदाउन सकिनँ । त्यसपछि भाषासँग सम्बन्धित विभिन्न कार्यक्रममा सहभागी हुने, आफैँले विभिन्न लेखरचना लेख्ने, आफ्नो भाषाको बनोटबारे छलफल, बहस गर्ने गर्न थालेँ । केवरत भारोपेली भाषाअन्तर्गत पर्छ । तर, बंगाली भाषाको धेरै प्रभाव छ । हाल केवरत भाषाको लामो अध्ययन–अनुसन्धान, शब्द, बाध्य गठनजस्ता कारणले पृथक् पहिचान स्थापित भएको छ । यसको वर्ण निर्धारणमा भाषाविद् अमृत योञ्जन तामाङले निर्देश गरेका हुन् । चार वर्षअघि तामाङ राष्ट्रिय पुस्तकालमै कार्यक्रम पनि गरेका थियौँ । केवरत भाषाको वर्ण पहिचान भएको छ । यही वर्ष भाषा आयोगबाट केवरत भाषाको व्याकरणबारे अनुसन्धान सकिएको छ । जुन प्रकाशन्मुख छ । म काठमाडौं आउँदा केवरत जातिय संस्कृति संरक्षण समिति गठन भएको थियो । २०६४ मा नेपाल केवरत विकास सेवा समाज खोल्नका लागि पहल गरेँ ।
केवरत भाषाको पहिलो कविता
२०६४ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘पृथ्वी, सभा र घर’ शीर्षकको कविता वाचन गरेँ । यो कविता लेखनबाट मैले औपचारिक रूपमा केवरत भाषामा लेख्न थालेको थिएँ । त्यो कविता केवरत भाषाको पहिलो कविता थियो । यहि कविता केवरत भाषाको पहिलो लिखित सामग्री पनि बन्यो । २०६७ मा केवरत भाषाको कविता संग्रह भरौवा हँयगेल बजारमा आयो । यो संग्रह केवरत भाषामा लेखिएको पहिलो कवितासंग्रह हो ।
यीबाहेक केवरत भाषाका लगभग चार हजार शब्द समावेश गरिएको ‘केवरत शब्दसंग्रह (२०७०)’ नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित छ । केवरत जातिबारे ‘केवरत आदिवासित्वका आधारहरू (२०७५)’ प्रकाशित छ । नेपाल प्रज्ञा–प्रतिष्ठानबाटै केवरत जातिको समग्र पहिचान झल्काउने ‘केवरत लोकजीवन २०७६’ लगायत सात पुस्तक मेरो नाममा प्रकाशित छन् ।
केवरतको विवाहमा गाइने साढे तीन सय गीत हेमन्ती केवरतले संकलन गरेकी छिन् । उनको केवररत बिहार गिदला २०७५ सालमा प्रकाशित छ । हाल केवरत जातिको भाषाबारे त्रिविको शिक्षा संकायबाट विभिन्न शीर्षकमा सातवटा स्नातकोत्तर तहका शोधकार्य सम्पन्न भइसकेका छन् । केवरतको उखानटुक्का पनि संकलन भएका छन् । केवरतका लोककथा संकलन भइसकेको छ । यो प्रकाशोन्मुख रहेको छ ।
०७८ को जनगणनाअनुसार केवरतको जनसंख्या ८,८०९ र मातृभाषा बोल्ने केवरतको संख्या ३,४६९ देखाएको छ । मैले माध्यमको काम गरेको हुँ । यसको श्रेय समुदायलाई दिन्छु । हाल केही केवरतहरू सचेत भएर भाषा बोल्न थालेका छन् । दुई–चारजना भाषामै काम गर्ने पनि आएका छन् ।