डा. गीता त्रिपाठी मूलत: कवि हुन् । उनी गीत, समालोचना र निबन्ध पनि लेख्छिन् । ‘आधुनिक नेपाली कवितामा पर्यावरणीय चेतना’ विषयमा विद्यावारिधि गरेकी त्रिपाठी त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक पनि हुन् । ‘नृशंस पर्खालहरू (२०६५)’ कवितासंग्रहसहित उनका एक दर्जन पुस्तक प्रकाशित छन् । त्रिपाठीसँग राजु स्याङ्तानले पर्यावरण र कवितामा केन्द्रित रही संवाद गरेका छन् :
नेपालमा पर्यावरणबारे कहिलेबाट क–कसले कविता लेख्न थालेको देखिन्छ ?
पर्यावरण प्रकृतिको विषय हो, प्रकृतिबारे कविता लेख्न आरम्भ भएको त शताब्दियौँ भयो होला । वेदका मन्त्रहरू प्रकृति संरक्षण र समवेत पर्यावरणका कविता हुन् भने मुन्धुमले प्रकृतिमय जीवनको अवगाहन गरेको छ । हामीकहाँ प्रकृतिको पूजा गरिनु, कवितामार्फत आराधना गरिनु आध्यात्मिक शान्तिको अनुभूति र नैतिक चेत दुवै पक्षबाट महत्वपूर्ण रहेको छ । मानिस र प्रकृतिको सम्बन्ध नै कवितात्मक रहँदै आएको छ । पर्यावरण संरक्षणमा आधारित पछिल्लो अवधारणालाई सम्बोधन गर्दै लेखिएका कविताको कुरा गर्नुभएको हो भने प्रथम र द्वितीय विश्वयुद्धका विषाक्त असरका पृष्ठभूमिमा पश्चिमका कविहरूले संरक्षण चिन्तनमा केन्द्रित कविता लेख्न आरम्भ गरेको पाइन्छ । सन् १९३० को दशकमै रबिन्सन जेफर्स र त्यसयता ग्यारी स्नाइडर, रिचल कार्सनलगायतका रचनाहरूले पर्यावरण विनाशमा मानवीय क्रियाकलापका विरुद्ध सशक्त अभिव्यक्ति दिए । नेपालमा यो चेतना लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे, विजय मल्लका कवितामा आंशिक रूपमा आए भने चालिसको दशकमा केही कविहरूले यसलाई मुख्य विषय र अभियान बनाएरै कविता रचना गरे । त्यसमा कवि अविनाश श्रेष्ठका कविताहरू पहिलो लहरमा छन् । संग्रहकै रूपमा भने संरक्षण कविता आन्दोलनमा लेखिएका कविताहरूको संकलन संरक्षण कविता यात्रा (२०५३) रहेको छ, जसमा कविहरू सरुभक्त, रमेश श्रेष्ठ, भुपिन व्याकुल, हरिदेवी कोइरालालगायतका कविता छन् । सोलो संकलनका हिसाबले कवि अविनाश श्रेष्ठको ‘करोडौँ सूर्यको अन्धकार (२०६०)’ मैले थाहा पाएसम्म संरक्षण चेतनामा केन्द्रित पहिलो कवितासंग्रह हो भने कवि सुमन पोखरेलको कवितासंग्रह ‘शून्यमुटुको धड्कनभित्र (२०५६)’का अधिकांश कवितामा पर्यावरणीय चिन्तन पाइन्छन् । अधिकांश कविताहरू प्रदूषणका विरुद्ध, विनाशका विरुद्ध रचना गरिएकामा उनका केही कवितामा भने पोस्ट ह्युम्यान इकोलोजिकल वेभ जुन अहिलेको पछिल्लो वा तेस्रो वेभको अवधारणा मानिन्छ, त्यस आधारमा व्याख्येय कवितासमेत पाइन्छन् ।
नेपाली कवितामा हिमाल, पहाड, झरना, झरी, नदी तालतलैयालाई बिम्ब बनाएर असंख्य कविता लेखिएका छन् । ती पर्यावरणीय कविता भएकी भएनन् ? कस्तो कवितालाई पर्यावरणीय चेतसहितको कविता मान्ने ?
पर्यावरणीय चेत हाम्रा पूर्वीय जीवनदर्शनमा समाजको अवधारणासँगै विकसित भएको विषय हो । यस हिसाबले प्रकृति संरक्षण हाम्रो सादगीपूर्ण जीवनयात्रामा अविच्छिन्न विषय हो । आदिवासीको प्रकृतिमय जीवनसंघर्षका लयहरू हुन् वा धर्म र संस्कृतिको स्रोत प्रकृतिलाई मान्ने मानव संस्कृतिको समष्टिगत गतिशील यात्रा हुन्, हाम्रोतिर यस लयमा प्रकृतिको सौन्दर्य र आदिम अनुभूति आउनुलाई स्वाभाविक मानिन्छ । पर्यावरणीय कविता प्रकृतिमाथि मानिसले पुर्याएको क्षति र त्यसले निम्त्याएको पर्यावरणीय संकटका विषयमा लेखिएको हुनुपर्छ । यसमा संरक्षणको भाव रहन्छ वा रहनुपर्छ भन्ने सैद्धान्तिक मान्यता रहेको छ । अत्यधिक दोहनमा पर्दै गएको प्रकृति र त्यसले विस्थापनमा पर्दै गएको प्राकृतिकताको रक्षाको उद्देश्यले संरचित कवितालाई पर्यावरणीय चेतअन्तर्गत राखिएको छ ।
‘इकोपोयट्री’ यदाकदा सुनिन्छ । पर्यावरणीय कविता भनेको यही नै हो ?
इको पोयट्रीको क्षेत्रभित्र संरक्षण कविता पर्छ, तर विषय र अर्थगत आधारमा इको पोयट्री विस्तृत छ । यसो भनौँ, वर्तमान विध्वंशको स्थितिमा पर्यावरणीय कविताको सन्दर्भ विनाश, संकट र संरक्षणसँग ज्यादा नजिक छ, यसैबाट परिभाषित छ । अन्तत: इको पोयट्री अहिले विस्तृत अर्थमा भन्दा यही विशिष्ट अर्थबाट चिनिएको छ ।
नेपाली कवितामा पर्यावरणीय विषय कत्तिको लेखिएको देखिन्छ ?
अहिलेको कविता पर्यावरणीय चेतसहितको लेखनतिर ज्यादा अग्रसर छ । भोगाइका बिम्बकै आधारमा आजका कवितामा यो विषय प्रवेश गरिहाल्छ । हामी धुवाँ र विषाक्त परिवेशको जुन आहालमा डुब्न विवश भइरहेका छौँ, त्यसबाट हाम्रा कविता जोगिएका छैनन् । अहिले पर्या–कविता लेखनलाई विभिन्न संघसंस्थाहरूले प्रतियोगितात्मक कार्यक्रमहरू गरेर पनि यस विषयप्रति सचेत बनाउन र लेख्न प्रेरित गरिरहेको छ । भारतीय नेपाली कवितामा मनप्रसाद सुब्बा, राजेन्द्र भण्डारी, राजा पुनियानी, देवेन सापकोटाजस्ता दिग्गज कविहरूले पर्यावरणीय कविताका विविध पक्षलाई सस्वर बनाउनुभएको छ । यता वातावरणविज्ञ विजय हितान कविता र निबन्धमा पर्यावरण लेखनलाई विस्तार गर्ने अभियानमा संलग्न रहेर पर्या–साहित्य प्रतिष्ठानमार्फत सामूहिकतामा जोड दिई सहकार्यका निम्ति पहल गरिरहनुभएको छ । नेपाली सेनाले प्रकृति संरक्षणमा गरेको त्याग र समर्पणको इतिहास कवि निबन्धकार बाबुकृष्ण कार्कीका कलमबाट प्रकट भइरहेको छ । कवि कृष्ण बाउसेको ‘पर्या–कविताको गुञ्जन’, गोपी उप्रेतीको ‘प्रकृत्या सहजीवनम्’, ऋषि बस्ताकोटीको ‘पानीको रङ’लगायतका संरक्षण चिन्तनका कविताहरू यही ८० को दशकको आरम्भका प्राप्ति हुन् । यस विषयमा फुटकर र आंशिक रूपमा लेखिएका कविता प्रशस्त पाइन्छन्, तर केन्द्रीय कथ्य नै पर्यावरण संरक्षणलाई बनाएर लेखिएका कविता कम पाइन्छन् ।
सायद मातृत्वको कारणले हुन सक्छ, महिलालाई प्रकृतिको नजिक मान्ने विचार समाजमा छ । विश्व कवितामा ‘इकोफेमिनिस्ट पोयट्री’बारे पनि बहस सुनिन्छ । तपाईं पर्यावरणीय कविताबारे विद्यावारिधि गर्नुभएको सर्जक हुनुहुन्छ । नेपालमा ‘इकोफेमिनिस्ट पोयट्री’को अवस्था के कस्तो देख्नुहुन्छ ?
धर्तीको उर्वरता र महिलाको मातृत्व क्षमताका आधारमा यी दुईको तुलना गरिएको पाइन्छ । यदि मानव समाज चेतनाको हिसाबले समानताको व्यावहारिक पक्षमा बाँच्ने अवस्थामा पुगेको भए वास्तवमा जमिन र महिला तुलना गरिनुपर्ने विषयचाहिँ त्यति होइनन् । यस विषयमा पर्यावरणीय नारीवादी सिद्धान्तमा छलफल भएको पाइन्छ । कतिपयले तात्विक आधारमा नै महिलालाई बायस गरिने यो तुलनात्मक पद्धतिको अवज्ञा पनि गरेका छन् । हाम्रो पूर्वीय जीवनदर्शनमा जननी र जन्मभूमिको शक्ति र सामथ्र्यमाथि सकारात्मक सैद्धान्तिक चिन्तन रहेको छ, जुन आफैँमा हाम्रो मौलिक बलियो पक्ष पनि हो । व्यावहारिकताचाहिँ सिद्धान्तको विपरीत हुँदै गएपछि नारीवादी चिन्तन अघि आयो । यही नारीवादको एउटा हाँगाका रूपमा पर्यावरणीय नारीवादी चिन्तन विकसित भएको हो । पुँजीवाद र उपभोक्तावादले प्रकृतिमाथि दोहन बढाएर प्रकृतिलाई रित्याउँदै आए जसरी नै पितृसत्ताले लिंगका आधारमा महिलामाथि गरेको शोषणबिच प्रवृत्तिगत समानता छ भन्ने अवधारणामा इकोफेमिनिस्ट अवधारणा आएको हो । नेपाली कवितामा नारी अस्तित्व र अस्मिताका सन्दर्भमा केही कविता लेखिएका छन् । यसैमा पर्यावरणीय नारीवादी मान्यतासँग विश्लेष्य अंश आएका कविता धेरै छन्, सम्पूर्णत: पर्यावरणीय नारीवादी कविता कमै लेखिएका छन् । मञ्जु काँचुली, मनप्रसाद सुब्बा, राजेन्द्र भण्डारी, कृष्णसेन इच्छुक, रेमिका थापा, भुपिन, हेमन यात्री, सरिता तिवारी, निभा शाह, समाश्री, सीमा आभाष, शकुन्तला जोशी, राधिका कल्पितलगायत कविहरूका कवितामा पर्यावरणीय नारीवादी चिन्तन पाइन्छ । तराईका महिलाका जीवनभोगाइलाई श्यामल र आहुतिका केही कविताले पर्यावरणीय संकटसापेक्ष प्रस्तुत गरेका छन् ।
नेपाली महिला कविहरूले पितृसत्ता, बजारवादलगायत विषयमा लेखिरहेकै छन् । पर्यावरणबारे चाहिँ के–कस्तो लेखेको पाउनुहुन्छ ?
महिला कवितामा पितृसत्ता र बजारवादको विज्ञापनमुखी उपभोक्तावादका प्रतिरोधका सन्दर्भमा प्रकृति विनाशका सन्दर्भ आएका छन् । मूल रूपले प्रकृति र महिलालाई बुझ्ने, आफँैतिर फर्किएर सामाजिक संरचनाका विभेदहरूलाई हेर्ने अभ्यास हाम्रोमा महिलाका निम्ति त्यति सहज विषय भएको पाइँदैन । कतिपयमा ज्ञान भएर पनि चिन्तनका तहमा आउन नसक्नुका व्यावहारिक सीमा छँदैछन् । प्रतीकात्मक रूपले प्रशस्त आएका भए पनि सम्पूर्णतामा पर्यावरणीय चिन्तनका कविता थोरै लेखिएका छन् । आदिवासी चिन्तनबाट प्रकृति पर्यावरणलाई समावेश गरिएका कविता केही आएका छन् । निश्चित अवसर र उद्देश्यले लेखिएकाबाहेक स्वस्फूर्त रूपले पर्यावरण चिन्तन गरी रचना गरिएका महिलाका कविता कमै पाइन्छन् ।
जलवायु परिवर्तनका कारण सीमान्त महिलाहरू पहिलो निसानामा परेको प्रतिवेदन धेरै भेटिन्छन् । तर, यस्ता विषयमा काव्य गोष्ठी र कविहरू जुटेको खासै सुनिन्न । यसबारे तपाईंको मत के हुन्छ ?
सीमान्त महिला सबैखाले परिवर्तनका समयमा निसानामै परेका हुन्छन्, पर्दाअगाडि र पछाडि घटित हुने दोहनका अनेक स्वरूपबारे हामी अज्ञानी छैनौँ । अझ सांस्कृतिक विभेदले पोलेको जीवनलाई प्रकृतिको शीतलताबाट जोगाइआएका वा सांस्कृतिक रूपले नै प्रकृतिमय भएर जीविकोपार्जन गरिरहेका सीमान्त महिलाहरू जंगल, जल र जमिनका संकटग्रस्त उलटपुलटले भौँतारिरहेको पक्ष हाम्रोजस्तो जातीय, लैंगिक र वर्गीय विभेदका पत्रभित्र अनेक किसिमले रहेका छन् । हाम्रोमा प्रकृतिबाट विस्थापित भएका महिलामाथि शरीरराजनीतिको चक्रव्यूह बनिसकेको छ । ती वैदेशिक रोजगारी वा देशभित्रै वैकल्पिक रोजगारीको खोजी वा प्रलोभनमा परेर/पारिएर महादोहनमा पुगिसक्छन् । केही जो देशको नाममा बाँच्छन्, तिनका केही कविता उनीहरूबाटै, उनीहरूको समुदायबाटै लेख्न थालिएको पाइन्छ, यो सम्मानयोग्य विषय हो । म नवोदित कवि अस्मिता वादीलाई उनका कवितासहित एउटा वर्गको स्वर लिएर उभिएको भेट्छु । समुदाय हुँदै मानिसका हृदयमा पुग्ने कविता प्रकाशनमा आइरहेका छन् । पारिजातले महिला अस्तित्व र अस्मितालाई विभिन्न सांस्कृतिक कोणबाट लेख्नुभयो, अझै गहिरिएर आफू बाँचेको र आफूले देखेका समुदायभित्र पनि पसेर कविता लेख्नुभयो । कविहरू प्रगति राई, विमला तुम्खेवा, विना थिङ, लक्ष्मी रुम्बाका कवितामा आउने सीमान्तीय स्वर प्रतिनिधिमूलक छ ।
नेपालमा प्राय: सबै विषय व्यावहारिक रूपले लामो समय अभ्यासकालमै रहन्छन् । जलवायु परिवर्तनको असरभन्दा राजनीतिक दाउपेच, अस्थिरता र अस्तव्यस्ततातिर हाम्रो नियतिले हामीलाई डोर्याइरहेको देखिन्छ । परिणाममा भन्दा नाममा आकर्षित हुने हाम्रो सोच रहेसम्म गोष्ठी, छलफल र कविता लेखनको मर्म बुझिँदैन । यहाँले भन्नुभएजस्तै जलवायु परिवर्तनले ल्याएका जैविक विविधताभित्रको विस्थापनको संकट सीमान्तीय महिलाका निम्ति प्रकृतिसँगको अन्तरंग वियोग भइआएको छ । आठ मार्चका सन्दर्भमा वाचन गरिने पुराणसम्ममा मात्र सीमित देखिने यी विषयतर्फ कवि–समालोचकहरूको पनि ध्यान बिस्तारै पुग्छ नै होला । समाजशास्त्रीय चिन्तनमा पर्यावरण जोडिनु आवश्यक छ । अहिले विश्वविद्यालयका नेपाली, अंग्रेजीलगायतका विभागहरूमा पाठ्यक्रममा समावेश गरी यस विषयमा व्यापक अनुसन्धान सुरु भएको छ । मौसम परिवर्तन र अनुत्पादनको संकट जमिनमा मात्र होइन, महिलामा पनि उत्तिकै देखिएको तथ्य बाहिर आइरहेको छ । मातृत्वको अथाह गहिराइमा पुगेर कविता लेख्ने कविले मातृत्वविहीनताको स्वर लेख्न सक्लान् कि नसक्लान् ! बाढी, डुबानमा परी रोगको सिकारसमेत भएर ज्यान गुमाएको कमल सदाको शव विसर्जन गर्ने जमिन नपाएर नदीमा बगाउने आमाबारेको कवि विवश पोखरेलको कविता करोडले पढे, आँसु बगाए, हामीले विश्लेषण पनि गरेकै हौँ । हाम्रो जुटाई पातलो छ, तर पारदर्शी छैन ।