नेपाली बजारमा सुनचाँदीको भाउले दिनदिनै रेकर्ड बनाइरहेको छ । साताको पहिलो दिन आइतबार दुई लाख ५८ हजार तीन सय रुपैयाँ प्रतितोला रहेको सुन त्यसयता निरन्तर बढिरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबार दुई लाख ६१ हजार सात सय, मंगलबार दुई लाख ६७ हजार दुई सय, बुधबार दुई लाख ६८ हजार एक सय, बिहीबार दुई लाख ६७ हजार पाँच सय र शुक्रबार दुई लाख ६९ हजार तीन सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।
साताभरमा सुनको भाउ ११ हजार प्रतितोलाले बढेको हो । त्यस्तै, चाँदीको मूल्य पनि सातामा प्रतितोला चार सय ६० रुपैयाँ बढेको छ । आइतबार चार हजार एक सय पाँच रुपैयाँ रहेको चाँदी सोमबार चार हजार दुई सय ३५, मंगलबार दुई हजार दुई सय ५५, बुधबार चार हजार चार सय २०, बिहीबार चार हजार चार सय र शुक्रबार चार हजार पाँच सय ६५ रुपैयाँ प्रतितोलामा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारण नेपाली बजारमा पनि समायोजन भएको महासंघले जनाएको छ । विश्व अर्थतन्त्रमा छाइरहेको अनिश्चितता, सुरक्षित लगानी क्षेत्रको खोजी, ठुला शक्तिबिचको भू–राजनीतिक तनाव, शक्ति राष्ट्रका केन्द्रीय बंैकहरूले बढाइरहेको मागलगायतका कारण सुनको भाउ बढेको एजेन्सीहरूले जनाएका छन् ।
विश्वका ठुला लगानीकर्ताले मन्दी, सुस्त आर्थिक वृद्धिलगायत अस्थिर परिस्थितिका कारण अन्य क्षेत्रको तुलनामा परम्परागत रूपमा सुरक्षित मानिने सुनमा लगानी बढाइरहेका छन् । जसका कारण मूल्यमा चाप परेको विश्लेषण गरिएको छ । विश्वका ठुला केन्द्रीय बैंकहरूले अहिले जतिसक्दो धेरै सुनको सञ्चय गर्ने नीति लिएका छन् ।