कोशी प्रदेश सभाका मुख्य विपक्षी दल माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले हिउँदे अधिवेशनको बैठक तुरुन्त बोलाउन माग गरेका छन् । संसदीय मामिला पत्रकाहरूसँग कुरा गर्दै नेता आङ्बोले जेन–जी आन्दोलनपछि संसद्को खाँचो अति नै खड्किएको, तर सरकारले ठोस तयारी नगरेको भन्दै तुरुन्तै कोशी प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउन माग गरेका हुन् ।
जेन–जी आन्दोलनपछि ध्वस्त भएको प्रदेश सभा स्थानान्तरण भएको एक महिना बितिसक्दासमेत अझै पूर्वाधारको अभावलाई कारण देखाउँदै अधिवेशन आह्वान नगर्नु सरकारको बहानाबाजी मात्रै भएको विपक्षी दलका नेता आङ्बोले आरोप लगाएका छन् । नेता आङबोले भने, ‘सरकारले संसद् छल्नका लागि कहिले महाधिवेशनको त कहिले पुनर्निर्माणको एकपछि अर्को बहाना बनाइरहेको छ। यसरी हुँदैन, जे–जस्तो अवस्था छ त्यसैमा बैठक सञ्चालन गर्नेगरी हिउँदे अधिवेशन बाेलाउनुपर्छ ।’
जेन–जी आन्दोलनपछि विराटनगरको देवकोटा चाेकमा रहेको प्रदेश सभा भवन आगजनी भएर ध्वस्त भएपछि कटहरी गाउँपालिका– १ जमटोकीमा रहेको कृषिथोक बजारमा प्रदेश सभा सचिवालय सरेको छ । तर, एक महिना बितिसक्दा पनि सरकारले प्रदेश सभाको बैठक सञ्चालन हुने कक्ष पुनर्निर्माण गराएको छैन । नेता आङ्बोले पूर्वाधार निर्माणका लागि छिटो ठेक्का प्रक्रिया अघि बढाउन खोज्दा ३१ दिनको सूचना आशय र सम्झौताको प्रक्रियामै समय बित्ने भएकाले भएको भौतिक संरचनाकै अवस्था उपयोग गर्ने गरी प्रदेश सभाको हिउँदे अधिवेशन सञ्चालन गर्नुपर्ने नेता आङ्बोको भनाइ छ । नेता आङ्बोले भने, ‘चुनाव नजिक आइरहेको छ, अब पनि भौतिक संरचनाको बहानामा संसद् सञ्चालन गर्न ढिलाइ गर्यौँ भने धेरै ढिलो हुन्छ, जनाताका आवाज कुण्ठित भइरहन्छन्।’
जेन–जी आन्दोलनपछि कटहरीको कृषि बजारमा प्रदेश सभा सचिवालय स्थापना भएपछि कोशी सरकारले मंसिर दोस्रो हप्ताभित्रै जे–जस्तो अवस्था छ त्यस्तै अवस्थामा भए पनि प्रदेश सभाको बैठक गराउने प्रतिबद्धता जनाएको थियो । तर, एमाले पार्टी र कांग्रेस पार्टीको महाधिवेशन अनि भौतिक संरचनाहरू पुनर्निर्माण भइनसकेको बहाना बनाउँदै सरकारले संसद्को हिउँदे अधिवेशन बोलाउन आलटाल गरिरहेको छ । सरकारले अझैसम्म कृषि बजारमा रहेको संरचनाहरू स्तरोन्नति गर्न ठेक्का प्रक्रिया अगाडि बढाएकौ छैन । भौतिक अवस्थाकै कारणलाई बहाना बनाइरहने हो भने अझै कम्तीमा दुई महिना कोशी प्रदेश सभाको हिउँदे अधिवेशन सुरु हुन सक्ने अवस्था नभएको नेता आङ्बो बताउँछन्।
अझै जेन–जी आन्दोलनपछि लयमा फर्किरहेको कोशी प्रदेश सभामा आवश्यक भौतिक पूर्वाधारदेखि फर्निचर कुर्सीसमेतको व्यवस्था नहुनु दुःखद भएको नेता आङ्बोको भनाइ छ । नेता आङ्बोले सरकार पुनर्गठनपछि मात्र सदन चलाउने सरकारको नियत गलत भएको टिप्पणी गर्दै गठबन्धन सरकारमा मुख्यमन्त्री कमजोर भूमिकामा देखिएको आरोप लगाए । सरकारको नीति तथा कार्यक्रममा माओवादी केन्द्रको समर्थन रहेको स्मरण गर्दै नेता आङ्बोले सरकारले सञ्चालन गरिरहेको पर्यटन वर्ष र लगानी सम्मेलन अपेक्षाअनुसार सफल हुन नसकेको बताए ।