मन्त्रालयगत कर्मचारी समूह (क्याडर प्रणाली) विकासका लागि अध्ययन गर्न कार्यदल गठन हुने भएको छ । सोमबार मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकले कार्यदल गठनबारे निर्णय गरेको हो ।
पछिल्ला वर्षहरूमा मन्त्रालयगत कर्मचारी समूह भत्किँदै गएको छ । यो प्रणाली भत्किँदा संवेदनशील खासगरी अर्थ मन्त्रालय, गृह मन्त्रालयलगायतको कार्यसम्पादन र गरिमा घट्दै गएको छ । यसैको अध्ययनका लागि कार्यदल गठनको निर्णय गरिएको हो ।
विभिन्न मन्त्रालय र निकायमा कर्मचारीको छिटो–छिटो सरुवा हुँदा संस्थागत स्मृति नरहने, कर्मचारीको ज्ञान, सिप, अनुभवको उपयोग गर्न नसकिने विद्यमान अवस्थाले निजामती सेवाको व्यवसायिकता तथा कार्यकुशलतामा ह्रास आउँदै गरेको गुनासोबिच यसबारे अध्ययनका लागि कार्यदल गठनको निर्णय भएको सार्वजनिक गरिएको निर्णयमा उल्लेख छ ।
मन्त्रालयगत कर्मचारी समूह विकासका लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको संयोजकत्वमा अध्ययन कार्यदल गठनको निर्णय सचिव बैठकले गरेको हो ।