काठमाडौं । देशका विभिन्न ६ जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एकैदिन ६ जनाको मृत्यु भएको छ। रुपन्देही, नवलपरासी, कास्की, स्याङ्जा, कैलाली र काभ्रेमा भएका दुर्घटनामा ६ जनाले ज्यान गुमाएका हुन्। प्रहरीका अनुसार कात्तिक ६ गते भएका दुर्घटनामा ट्र्याक्टर, मोटरसाइकल र स्कुटरसमेत संलग्न रहेका छन्।
रुपन्देहीको मायादेवी गाउँपालिका– ३, शुक्लौलीस्थित भित्री सडकखण्डमा ट्र्याक्टरको ट्रलीबाट लडेर एक मजदुरको मृत्यु भएको छ। लु.२त ४४२५ नम्बरको ट्र्याक्टरमा लेबर काम गर्ने ३६ वर्षीय प्रेमसागर धौडी ट्रलीबाट लडेर गम्भीर घाइते भएका थिए। उनलाई भीम अस्पताल भैरहवामा सामान्य उपचारपछि थप उपचारका लागि सिटी अस्पताल लगिएको थियो। उपचारकै क्रममा साँझ ७:२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
त्यस्तै, नवलपरासीको सुनवल नगरपालिका– ३, कीर्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा पछाडि सवार रुपन्देहीको देवदह नगरपालिका– ९ निवासी करिब ४० वर्षीय सुवास सेन्चुरीको मृत्यु भएको छ। साँझ ७:१० बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका उनलाई अस्पताल पुर्याइएकोमा साँझ ७:४० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
कास्कीको पोखरा महानगरपालिका– २१, आदर्शचोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ५५ वर्षीय रमाकान्त शर्माको मृत्यु भएको छ।
ग.२४४प १६३५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका पोखरा महानगरपालिका– २९ निवासी शर्माको गण्डकी अस्पतालमा उपचारका क्रममा साँझ ७:०४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैगरी, स्याङ्जाको बिरुवा गाउँपालिका– ३, टाटीस्थित राङखोला–बिरुवा सडकखण्डमा स्कुटर दुर्घटना हुँदा बिरुवा गाउँपालिका– २ निवासी ३१ वर्षीय रेवती गुरुङको मृत्यु भएको छ। ग.२६ प १३५० नम्बरको स्कुटर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो। दुर्घटनामा गुरुङको घटनास्थलमै मृत्यु भएको विवरणमा उल्लेख छ।
कैलालीको कैलारी गाउँपालिका– ३ भर्रास्थित हुलाकी सडकखण्डमा मोटरसाइकलले गोरुगाडालाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलचालक १८ वर्षीय सुजन चौधरीको मृत्यु भएको छ। से प ५ प ३४६५ नम्बरको मोटरसाइकलले गोरुगाडालाई ठक्कर दिँदा गम्भीर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा राति ९ बजे मृत्यु भएको हो।
यस्तै, काभ्रेको महाभारत गाउँपालिका– ८, छठीगाउँस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीय दिनेश पाख्रिनको मृत्यु भएको छ। बा.प्र. ०२–०५ प ४७०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको नालीमा ठोक्किँदा महाभारत गाउँपालिका– ९ सिउरेनी निवासी पाख्रिनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
एकैदिन भएका यी दुर्घटनाले सडक सुरक्षाप्रति थप सतर्कता अपनाउनुपर्ने आवश्यकता औँल्याएका छन्। सवारी चलाउँदा गति नियन्त्रण गर्ने, ट्राफिक नियम पालना गर्ने र सडकको अवस्थाअनुसार सावधानी अपनाउने हो भने दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सकिन्छ।