बाँकेमा दुई कार ठोक्किँदा एकजनाको मृत्यु, ६ घाइते

शनिबार, ७ कार्तिक, २०८३
डिजिटल संस्करण

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका– १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुईवटा कार एक–आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

शनिबार ७ गते बिहान करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगन्जतर्फ जाँदै गरेको बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कार एक–आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका– ५ घर भई हाल काठमाडौं बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको छ। घाइते शाहीलाई उपचारका क्रममा बिहान १०:०८ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

सोही कारमा सवार ४० वर्षीया कुसुम शाही र १६ वर्षीय सुभम शाहीको अवस्था सामान्य रहेको छ। कारचालक डोटीको साबिक मुदेगाउँ गाविस– ७ घर भएका ४५ वर्षीय नरेन्द्रबहादुर शाही घाइते भएका छन्। उनको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रा.लि.मा उपचार भइरहेको छ।

त्यस्तै, बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कारमा सवार दाङको घोराही उपमहानगरपालिका– ७ का ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी घाइते भएका छन्। उनीहरूको नेपालगन्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।

उक्त कारका चालक घोराही उपमहानगरपालिका– ७, सौरियारका करिब ४० वर्षीय सम्राट नाथ योगीलाई चोटपटक लागेको छैन। उनलाई इलाका प्रहरी कार्यालय कुसुम, बाँकेले नियन्त्रणमा लिएको छ। दुर्घटनाका कारण अवरुद्ध भएको सडक बिहान १०:१५ बजे पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

सुझावित समाचार