काठमाडौं / नेपालीहरूको महान् चाड बडादसैंको समापनसँगै आज कोजाग्रत पूर्णिमा मनाइँदै छ। यस अवसरमा साँझ महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने धार्मिक परम्परा छ।
धार्मिक विश्वासअनुसार कोजाग्रत पूर्णिमाको रात जाग्राम बसेर लक्ष्मीको पूजा गरे घरमा सुख, समृद्धि र धनधान्य प्राप्त हुन्छ। आजै दसैंको टीका र जमरा लगाउने क्रम पनि समाप्त हुन्छ।
आज दसैंघरका फूलप्रसाद र जमराका अवशेष नदी तथा जलाशयमा विसर्जन गरिन्छ। भोलिदेखि कात्तिक स्नान र आकाशदीप दान गर्ने परम्परा सुरु हुने भएकाले यस दिनलाई दसैंको बिदाइ र तिहारको तयारीको सुरुवातका रूपमा समेत लिइन्छ।