विश्व भोकमरी सूचकांकमा नेपालको सुधार, १२२ देशमध्ये ७२औँ स्थानमा

शनिबार, ७ कार्तिक, २०८३
डिजिटल संस्करण


काठमाडौं । विश्व भोकमरी सूचकांक (जिएचआई) २०२६ अनुसार नेपाल १२२ देशमध्ये ७२औँ स्थानमा रहेको छ। प्रतिवेदनले नेपालमा भोकमरीको अवस्था मध्यम श्रेणीमा रहेको देखाउँदै पछिल्ला वर्षहरूमा पोषण तथा खाद्य सुरक्षाको क्षेत्रमा सुधार भएको औँल्याएको छ।

प्रतिवेदनअनुसार नेपालले यस वर्ष १०० पूर्णांकमा १४.५ अंक प्राप्त गरेको छ। सन् २०१८ मा नेपालको अंक १८.४ रहेको थियो। भोकमरी सूचकांकमा कम अंकले तुलनात्मक रूपमा राम्रो अवस्था जनाउने भएकाले नेपालको पछिल्लो नतिजाले भोकमरीको अवस्थामा सुधार भइरहेको संकेत गर्छ।

दक्षिण एसियाली मुलुकसँगको तुलनामा पनि नेपाल तुलनात्मक रूपमा राम्रो अवस्थामा देखिएको छ। श्रीलंका १०.२ अंकसहित ५३औँ स्थानमा रहँदा बंगलादेश १९.२ अंकसहित ८४औँ, भारत २४.१ अंकसहित १००औँ र पाकिस्तान २५.५ अंकसहित १०६औँ स्थानमा छन्। अफगानिस्तान १०८औँ स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ।

दक्षिण एसियाको औसत भोकमरी सूचकांक २३.५ रहेको छ, जुन विश्वको औसत १८.१ भन्दा बढी हो। यसले दक्षिण एसियामा भोकमरी, कुपोषण तथा खाद्य सुरक्षासम्बन्धी चुनौती अझै कायम रहेको देखाउँछ।

विश्व भोकमरी सूचकांकमा चार प्रमुख सूचकलाई आधार मानिन्छ। यसमा अपर्याप्त क्यालोरी उपभोग गर्ने जनसंख्याको अनुपात, पाँच वर्षमुनिका बालबालिकामा उमेरअनुसार उचाइ कम हुने समस्या (पुड्कोपन), उचाइअनुसार तौल कम हुने समस्या (ख्याउटेपन) र पाँच वर्ष उमेर नपुग्दै हुने बालमृत्यु दर समावेश छन्।

यी सूचकका आधारमा देशको भोकमरीको अवस्था मूल्यांकन गरिन्छ। सूचकांकमा प्राप्त अंक घट्दै जानुले समग्र भोकमरीको अवस्थामा सुधार भएको संकेत गर्छ।


 

सुझावित समाचार