हतारमा जंगल फाँडियो, सगरमाथा विमानस्थलको छैन टुंगो

बुधबार, ९ पुष, २०८२
डिजिटल संस्करण

उदयपुरको त्रियुगा नगरपालिका– १ र २ को जोगीदह क्षेत्रमा सगरमाथा विमानस्थल निर्माण गर्ने भन्दै ०७८ मै १०५ हेक्टरका रुख फँडानी गरिसकिएको छ। विमानस्थललाई आवश्यक पर्ने १५६.११ हेक्टरमा १०५ हेक्टरका रुख काटिएको थियो। तर, विमानस्थलको प्रक्रिया नै थालिएको छैन। स्थानीय यदुप्रसाद ढकालले विमानस्थल बनाउने भनेर फँडानी गरिएको जग्गा अहिले गौचरन बनेको बताए।

सगरमाथा विमानस्थल निर्माणका लागि स्थानीयस्तरबाट सहयोग गर्न बनेको प्रारम्भिक कमिटीका कोषाध्यक्ष रुद्र अधिकारीले पनि विमानस्थल बन्ने–नबन्ने टुंगो नरहेको बताए।  खाली जग्गामा सामूहिक केराखेती गर्न पाउनुपर्ने माग स्थानीयले गरिरहेको उनले बताए।

‘अब विमानस्थल नबन्ने हो भने जग्गा संरक्षणमा स्थानीय सरकारले कुनै विधि लगाउँदा हुन्छ,’ उनले भने, ‘नत्र अतिक्रमणको चपेटामा पर्न सक्छ।’ २५ भदौ ०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद्ले नागरिक उड्डयन प्राधिकरणलाई विमानस्थल बनाउन भौतिक पूर्वाधार निर्माणका लागि वनको १५६.११ हेक्टर दिने निर्णय गरेको थियो  । त्यहीअनुसार रुख काटिएका थिए।

जिल्ला मालपोत कार्यालय उदयपुरका प्रमुख डुबिन्द्रप्रसाद बरालले सगरमाथा विमानस्थलको नाममा जग्गा दर्ता नभएको बताए। ‘त्यो जग्गा अहिले वन क्षेत्रकै सरकारी जग्गा हो। विमानस्थलको नाममा आइसकेको छैन,’ उनले भने।

त्रियुगा नगरपालिकाका मेयर वसन्तकुमार बस्नेतले विमानस्थल नबने पनि अब त्यस जग्गालाई उपयोगमा ल्याउने गरी घेराबारा गरिने बताए। ‘अहिलेसम्म विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनेको छैन भन्ने सुनेको छु,’ उनले भने।

कोशी प्रदेश सभा सदस्य नारायण बुर्जामगरका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रारम्भिक अध्ययन गर्दा लागत चार अर्ब आकलन गरिएको थियो।

यो पनि पढ्नुहोस् : अर्बौँ लगानी भएका २० विमानस्थल बेवारिसे

सुझावित समाचार