विदेशी मुद्रा सञ्चिति साढे ३० खर्ब

मंगलबार, १ पुष, २०८२
डिजिटल संस्करण

चालू आव ०८२/८३ को कात्तिक मसान्तसम्म नेपालको कुल विदेशी विनिमय सञ्चिति ३० खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्म नेपालमा विदेशी मुद्रा सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ थियो ।

गत आवको कात्तिक मसान्तसम्म भने २२ खर्ब ५५ अर्ब ३५ करोड यस्तो सञ्चिति थियो । नेपालसँग भएको विदेशी मुद्रा सञ्चिति कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को तुलनामा ५०.०३ प्रतिशत हो । असार ०८२ सम्म नेपालको जिडिपी ६१ खर्ब सात अर्ब रुपैयाँ छ ।  

यो विदेशी विनिमय सञ्चितिले २०.८ महिनाको वस्तु आयात र १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकको भनाइ छ । समीक्षा अवधिमा मुलुकबाट बाहिरिने र भित्रिने रकमबिचको अन्तर तीन खर्ब १८ अर्ब ४० करोड रुपैयाँ बचतमा देखिएको छ । गत आवको यसै अवधिमा शोधनान्तर स्थिति दुई खर्ब पाँच अर्ब ८३ करोडले बचतमा रहेको थियो ।

रेमिट्यान्स आप्रवाहमा ३१.४ प्रतिशतको वृद्धि 
चालू आवको चार महिनामा रेमिट्यान्स आप्रवाह ३१.४ प्रतिशतले बढेको छ । गत आवको चार महिनामा पाँच खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो । चालू आवको चार महिनामा भने ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स आएको तथ्यांकमा उल्लेख छ । 

कात्तिक महिनामा मात्रै एक खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । गत आवको कात्तिक महिनामा एक खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको छ । गत आवको चार महिनामा तीन अर्ब ८७ करोड डलर रेमिट्यान्स आएको थियो । चालू आवको चार महिनामा चार अर्ब ८८ करोड डलर रेमिट्यान्स आएको छ । 

कात्तिक महिनामा मुद्रास्फीति अर्थात् मूल्यवृद्धि दर १.११ प्रतिशत मात्रै देखिएको छ । गत आवको कात्तिकमा मुद्रास्फीति ५.६० प्रतिशत थियो । वस्तु तथा सेवाको मागमा कमी आएपछि मूल्यवृद्धि दर घट्दै आएको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३२ प्रतिशतले ऋणात्मक देखिएको छ । समीक्षा महिनामा तरकारीको मूल्य सूचकांक १४.४३ प्रतिशत, मरमसलाको ७.८५ प्रतिशत र दाल तथा गेडागुडीको ५.३६ प्रतिशतले घटेको छ । 

सुझावित समाचार