भारतले आफ्नो इनर्जी एक्सचेन्ज मार्केट (आइइएर्क्स)मा थप ३५ मेगावाट विद्युत् बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणलाई अनुमति दिएको छ । भारतको डेजिग्नेटेड अथोरिटी, सेन्ट्रल इलेक्ट्रिसिटी अथोरिटीले मंगलबार थप ३५ मेगावाट विद्युत् बिक्री गर्न प्राधिकरणलाई अनुमति दिएको हो । २४.२५ मेगावाटको सेतीनदी र १०.७० मेगावाटको माथिल्लो तादीखोला जलविद्युत् परियोजनाको गरेर सो बराबरको विद्युत् निर्यात गर्न अनुमति आएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।
भारतीय बजारमा विद्युत् निर्यात गर्न परियोजना नै तोकेर त्यहाँको सेन्ट्रल इलेक्ट्रिसिटी अथोरिटीबाट अनुमति लिनुपर्छ । सोहीअन्तर्गत भारतले दुई परियोजनाको ३५ मेगावाट विद्युत् बिक्री गर्न अनुमति दिएको हो ।
योसँगै मध्यकालीन द्विपक्षीय सम्झौतासहित भारतमा निर्यात गर्न पाउने विद्युत्को सीमा १२ सय मेगावाट पुगेको छ । प्राधिकरणले यसअघि ३३ आयोजनाको ११ सय ६५ मेगावाट विद्युत् निर्यात गर्न अनुमति पाइसकेको थियो । अब ३५ परियोजनाबाट भारतमा १२ सय मेगावाट विद्युत् निर्यात गर्न सकिनेछ । स्वीकृति पाएको भन्दा १० प्रतिशत थप विद्युत् निर्यात गर्न पाउने सुविधा पनि रहन्छ । त्योअनुसार थप १२० मेगावाट गरेर १३२० मेगावाट विद्युत् निर्यात गर्न पाइन्छ ।
प्राधिकरणले बंगलादेशमा पनि दुई आयोजनाको ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ । गत साता बंगलादेशमा सम्पन्न द्विपक्षीय ऊर्जासचिवस्तरीय बैठकमा थप २० मेगावाट निर्यात गर्ने सहमति भएको छ । यस्तै, भारतले प्राधिकरणलाई २०४.५८ मेगावाट विद्युत् निर्यात गर्न पाउने अवधि थप गरिदिएको छ । यसअघि १५ जुनदेखि ३१ अक्टोबरसम्म मध्यकालीन द्विपक्षीय सम्झौतामार्फत निर्यात अनुमति प्रदान गरेका १२ आयोजनाबाट उत्पादित २०४.५८ मेगावाट विद्युत् वर्षको बाँकी अवधिका लागि प्रतिस्पर्धी बजारमा निर्यात गर्न पाउने गरी निर्यात अनुमति नवीकरण गरेको हो ।
प्राधिकरणले वर्षायाममा नेपालमा खपत भई बढी भएको विद्युत् भारतको प्रतिस्पर्धी बजार भारतीय ऊर्जा एक्सचेन्जको डे–अहेड तथा रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा, द्विपक्षीय मध्यकालीन सम्झौतामार्फत हरियाणा र बिहारमा तथा भारतीय प्रसारणलाइन प्रयोग गर्दै बंगलादेशमा निर्यात गर्दै आएको छ भने सुक्खायाम नेपालमा अपुग ऊर्जा भारतको आइएक्स र द्विपक्षीय सम्झौतामार्फत आयात गर्ने गरेको छ ।