सरकारले छुट्याएको बजेटमा आयोगको असन्तुष्टि, एक अर्ब ९० करोड थप्न माग

मंगलबार, १७ मंसिर, २०८२
डिजिटल संस्करण

सरकारले आसन्न २१ फागुनका लागि छट्याएको बजेट थोरै भएको गुनासो गर्दै आएको निर्वाचन आयोगले एक अर्ब ९० करोड थप्न माग गरेको छ । आयोगले सात अर्ब ८१ करोड मागेकोमा सरकारले चुनावका लागि चार अर्ब ९६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आवश्यकताअनुसार बजेट निकासा नभए निर्वाचन व्यवस्थापनमा समस्या हुने आयोगको गुनासो छ । आयोग पदाधिकारीले बजेट थप्न भन्दै गृहमन्त्री ओमप्रकाश अर्याल र अर्थमन्त्री रामेश्वर खनालसँग छलफल गरेका छन् । अर्थमन्त्री खनालले सरकारले निर्वाचनका लागि बजेट अभाव हुन नदिने आश्वासन दिएका छन् । 

सोमबार पनि अर्थमन्त्री खनाललाई बोलाएर आयोग पदाधिकारीले बजेट पर्याप्त नभएको गुनासो गरेका छन् । त्यसअघि उनीहरूले गृहमन्त्री अर्याललाई बोलाएर निर्वाचनमा खटिने कर्मचारीलाई खाजा र अतिरिक्त भत्तासमेत दिन नसकिने र मतदाता शिक्षाको बजेट पाँच गुणाले कटौती हुँदा निर्वाचनमा असर पर्न सक्ने भन्दै ध्यानाकर्षण गराएका थिए । 

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बजेटको कमी हुन नदिने प्रतिबद्धता अर्थमन्त्रीबाट आएको बताए । ‘सरकारले निर्वाचनका लागि चाहिने बजेट कुनै वेला पनि पठाउँछ, तपार्इंहरू अगाडि बढ्नुस् भनेर अर्थमन्त्रीले प्रस्ट भन्नुभयो । ढुक्क त पहिले नै थियौँ, अझ प्रस्ट भयो,’ उनले भने । भेटमा आयुक्तहरूले निर्वाचन तयारीको विषयमा मन्त्री खनाललाई जानकारी गराएका थिए । मन्त्री खनालले बजेटमा पुनर्विचार हुने भन्दै ढुक्कका साथ निर्वाचनमा लाग्न आग्रह गरेका थिए । आयोगले कम्तीमा एक अर्ब ९० करोड बजेट थपिदिनुपर्ने माग गरेको छ । 

समानुपातिक निर्वाचन कार्यालय स्थापना 
निर्वाचन आयोगले २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन कार्यालय स्थापना गरेको छ । आयोगका सचिव निर्वाचन अधिकृत रहने कार्यालयको उद्घाटन कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सोमबार गरेका छन् । कार्यालयले समानुपातिक निर्वाचन प्रणालीबमोजिम स्वीकृत निर्वाचन कार्यक्रमलाई अगाडि बढाउने सहसचिव यज्ञ भट्टराईले बताए । जसमा समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन सूचना प्रकाशन गर्ने, दलहरूबाट निवेदन माग्ने, निवेदन जाँचबुझसहित स्वीकृत गरेर निर्णय गर्ने, दललाई चुनाव चिह्न निर्धारण गर्ने, बन्दी सूची लिने, प्रकाशन गर्ने कार्यक्रम छ ।

निर्वाचनको काममा राष्ट्रिय सभाले आवश्यक सहयोग गर्छ : दाहाल
राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सफल गराउन माथिल्लो सदनले सघाउने प्रतिबद्धता जनाएका छन् । सोमबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँगको भेटमा दाहालले निर्वाचन आयोगको सक्रियता र पहलकदमीले निर्वाचनको राम्रो माहोल बनेको भन्दै निर्वाचन सफल बनाउन आयोगको काम प्रशंसनीय रहेको बताए । 

सुझावित समाचार