इनरुवा-कप्ताङगन्ज सडक निर्माणको ठेक्का तोडियो

मंगलबार, १६ मंसिर, २०८२
डिजिटल संस्करण

हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा-कप्ताङगन्ज २२.६६ किलोमिटर सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ। सडक विभागमातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सडक निर्माणका लागि गौरीपार्वती-देव एन्ड सायर-भूमि संयुक्त उपक्रम (जेभी), विराटनगरसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ।

सडक स्तरोन्नतिका लागि उक्त जेभीसँग २ माघ २७८ मा ५२ करोड ७० लाख रुपैयाँमा (करसहित) ठेक्का सम्झौता भएको थियो। सडक  निर्माण साउन ०८१ भित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएकोमा निर्माण प्रगति करिब १८ प्रतिशत मात्र छ। ठेक्का सम्झौता ०८३ असारसम्म थप गरिएकोमा पटक-पटक ताकेता गर्दा काम नगरेको,  प्रतिबद्धताबमोजिम काम नगरेको र साइट ठप्प बनाएकाले ठेक्का तोडिएको हो।  

ठेक्का सम्झौता रद्द गरिएका निर्माण व्यवसायीकाे कार्य सम्पादन जमानतबापतको १६ करोड ९४ लाख र पेस्की दुई करोड ३१ लाख एक करोड ७१ लाख रुपैयाँ जफत गरिने जनाइएकाे छ। पेस्की रकममा १० प्रतिशत ब्याजसहित असुल हुनेछ। निर्माण व्यवसायीले अनुमानित लागतभन्दा करिब ५० प्रतिशत कम रकम कबोल गरेको थियो। योजना कार्यालय इटहरीबाट गत साउनमा ठेक्का किन नतोड्ने भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधिएको थियो। निर्माण व्यवसायीबाट पेस भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानुनमा भएको व्यवस्थाबमोजिम ठेक्का रद्द गरिएको हो।

निर्धारित अवधिमा कार्य सम्पन्न हुन नसकेको कारण र कार्य सम्पन्न गर्न सक्ने अद्यावधिक कार्यतालिका, स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित निर्माण व्यवसायीको आधिकारिक प्रतिनिधि उपस्थित नभएको, पेस भएको स्पष्टीकरण चित्तबुझ्नो नभएको र कार्य नियमित गर्नेतर्फसमेत तदारुकता नदेखाएको हुँदा सार्वजनिक खरिद ऐन तथा ठेक्का सम्झौता उल्लंघन गरिएको जनाइएको छ।

ऐनको प्रावधानबमोजिम कार्य सम्पादन जमानतबापतको रकम जफत गरिने, बाँकी काम पूरा गर्न आवश्यक पर्ने रकम सरकारी बाँकीसरह असुलउपर गरिने र कालोसूचीमा राख्न सिफारिस गरिएको जनाइएको छ। हालसम्मको अद्यावधिक भएको काम र बाँकी कामको नापजाँच मूल्यांकन गरी वित्तीय फरफारक गर्न १५ दिनभित्र कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ। निर्माण व्यवसायी कार्यालयमा उपस्थित नभएमा कार्यालयबाट नापजाँच गरिनेछ।
 

सुझावित समाचार