शरीरको बजार

कविता

शनिबार, १४ मंसिर, २०८२
डिजिटल संस्करण

दिनभरि ऊ सानो अँध्यारो कोठामा थुनिन्छे ।
भित्तामा देखिएका चिराजस्तै, 
उसको जीवन पनि चिराचिरा भएको छ ।
बाहिरको घामले ढोका ढकढक्याउँछ, 
तर उसलाई छुन पाउँदैन 
बाहिरको घाम र हावा
मानौँ उसका लागि बनाइएका होइनन् ।
साँझ पर्नासाथ लाली धस्छे ओठमा, 
सस्तो सुगन्ध छर्केपछि
आफैँलाई फेरि बेपत्ता पार्ने अनुहार बनाउँछे ।
र निस्कन्छे सडकमा,
जहाँका बत्तीहरू
उसको शरीरलाई चुपचाप नाप्छन् ।
ग्राहक उसका चिरपरिचित छन्
दोहोरी साँझबाट निस्किएका हाकिम, 
युनिफर्म फुकालेर आइपर्ने पुलिस, 
खेलको मैदानमा नाम कमाएका खेलाडी, 
ट्रकका ड्राइभर र पेटी–पसलका साहु ।

दिउँसो थुक्ने,
राति भने त्यही शरीर चाट्ने,
त्यसरी नै, 
मानौँ केही भएको नै थिएन ।
ऊ मूल्य तोल्छे हजार पाँच सय तीन सय दुई सय
कतिमा जाने, तर मनमा सोच्छे 
प्यासभन्दा ठुलो त पेटको भोक हो, 
भोलि के खाने भन्ने डर हो ।
त्यसैले बेच्नैपर्छ शरीर
पाल्न फेरि त्यही शरीरलाई ।
उसको सीप बिक्दैन, 
उसको पहिचान बिक्दैन, 
उसको पढाइको प्रमाणपत्र बिक्दैन । 
किनकि ऊ दिमागको नारी हो,
तर जन्मले शरीरमा धोका दियो ।

त्यसपछि समाज, परिवार, राज्य 
सबैले धोका दिए ।
आज हरेक रात ग्राहकले धोका दिन्छन् 
कोही थुक्छन्, कोही पिट्छन्,
कोही पैसा मात्र फालेर,
मिठासको मुख लगाएर हिँड्छन् ।

ऊ सोच्छे
प्यास मेटाउने त्यो समाजको मर्द
सम्मानित किन ?
र भोक मेटाउने म बदनाम किन ?
तर, उत्तर कहिल्यै आउँदैन ।
सडकको बत्तीको उज्यालोमा
ऊ फेरि उभिन्छे
शरीरको मूल्यसहित,
मान्छेको मूल्यविनै ।

See More On

सुझावित समाचार