गिडीदहमा विद्युत् उत्पादनको सम्भाव्यता अध्ययन

शनिबार, १४ मंसिर, २०८२
डिजिटल संस्करण
  • कर्णालीमा रारा र फोक्सुन्डो तालपछिको तेस्रो ठुलो पर्यटकीय गन्तव्य गिडीदहबाट ७२ मेगावाट विद्युत् उत्पादनको सम्भावना

तातोपानी गाउँपालिका–४ स्थित गिडीदहबाट बगिरहेको पानीबाट विद्युत् उत्पादन गर्न सम्भाव्यता अध्ययन थालिएको छ । 

जर्मनी र भारतीय विज्ञसहितको टोलीले स्थलगत सम्भाव्यता अध्ययन गरेर विस्तृत अध्ययन प्रतिवेदन बनाउने तयारीसमेत थालेको छ । तातोपानी– ४ का वडाध्यक्ष अमरबहादुर रोकायाले स्थानीय तहको समन्वयमा एक वर्षदेखि प्राविधिक टोलीले विद्युत् सर्भेको काम थालिरहेको बताए । दुईपटक स्थानीयस्तरमा प्राविधिक जनशक्ति परिचालन गरेर सर्भे भए पनि यसपटक विज्ञहरूको टोली गिडीदह जलाधार क्षेत्रमा पुगेको उनले जानकारी दिए ।

हेलिकोप्टरमा आएको विज्ञको टोली सर्भे गरेर फर्किए पनि केही प्राविधिक गाउँमै बसेर काम गरिरहेका छन् । वडाध्यक्ष रोकायाले भने, ‘गिडीखोला जलाधार क्षेत्रबाट धेरै ठुलो क्षमताको विद्युत् निकाल्ने गृहकार्य भइरहेको छ । जसका लागि नेपाल विद्युत् प्राधिकरणबाट अनुमति लिनेदेखि स्थानीय समुदायसँग स्रोत प्रयोगबारे छलफल भइसकेको छ ।’

ड्रोनको प्रयोग गरेर क्षेत्र मापन गर्नेदेखि सर्भेको काम तीव्र रूपमा भइरहेको छ । ‘अहिले विद्युत् प्राधिकरणले ७२ मेगावट विद्युत् उत्पादनका लागि अनुमति दिएको छ,’ वडाध्यक्ष रोकायाले भने, ‘आगामी वैशाख महिनासम्म सबै रिपोर्ट सार्वजनिक हुनेछ ।’

विज्ञटोलीले विद्युत् निकाल्न प्रयोग हुने पानीको स्रोत गिडीदहदेखि विद्युत्गृह बनाउने स्थानसम्मको अवलोकन गरेर समुदायसँग छलफल गरेर फर्किएको छ । विद्युत्को डिपिआर बनाउनेदेखि उत्पादन गर्ने जिम्मेवारीसम्म इन्भेस्टमेन्ट प्रालिले लिएको छ ।

सबै रिपोर्ट हेरेर पाँच वर्षसम्म विद्युत् उत्पादन गर्न सक्ने लक्ष्य लिएको रोकायाले बताए । ‘पहिलो चरणमा प्राविधिक रिपोर्टले ८० प्रतिशत विद्युत् निकाल्न सकिने सम्भावना देखाइसकेको छ,’ वडाध्यक्ष रोकायाले भने ।

कर्णाली प्रदेशको तेस्रो ठुलो र मनोरम गिडीदह ताल पर्यटक आकर्षण केन्द्रका रूपमा रहेको छ । रारा र फोक्सुन्डो तालपछि कर्णालीको तेस्रो ठुलो गिडीदहको लम्बाइ १५ सय १० मिटर, चौडाइ तीन सय १० मिटर र गहिराइ ४२.८ मिटर रहेको छ । ०८१ मा तीन सय पर्यटकले गिडीदह भ्रमण गरेका थिए ।

भूतप्रेत लाग्ने भ्रामक प्रचारका कारण तालनजिक जान स्थानीयसमेत डराउन थालेपछि तातोपानी गाउँपालिकाले ०७९ असोजमा पहिलोपटक गिडीदह सम्मेलन गरेको थियो । त्यसपछि भने गिडीदह घुम्नेको संख्या बढ्न थालेको वडाध्यक्ष रोकायाले बताए । पर्यटकको आगमन सहजताका लागि प्रचारप्रसारदेखि पदमार्ग निर्माण गरिएको छ । 

सुझावित समाचार