केही महिनादेखि सामाजिक सञ्जालमा क्यान्सरको नयाँ ‘चामत्कारिक उपचार’बारे बहस चलिरहेको छ । सुपरफुड र सप्लिमेन्टदेखि अत्यधिक आहारसम्मका वाचा लगभग सधैँ भ्रामक हुन्छन् । एउटा पछिल्लो दाबीले सुझाव दिन्छ कि २१ दिनसम्म पानी मात्र पिएर बस्ने उपवासले क्यान्सर कोषलाई ‘भोकै’ राख्न र शरीर आफैँले निको पार्न सक्छ । यो सरल र अझ सशक्त सुनिन्छ, खान बन्द गर्नुहोस् र तपाईंको शरीरले बाँकी काम आफँै गर्नेछ । तर, जीवविज्ञान बिरलै त्यति सरल छ । क्यान्सर एकल रोग होइन र मेटाबोलिजमले ‘बिरामी’ र स्वस्थताबिच राम्रोसँग परिवर्तन गर्दैन । उपवासले हाम्रा कोषले ऊर्जा कसरी उपयोग गर्छन् भन्ने कुरालाई असर गर्न सक्ला । तर, यसले ट्युमरलाई उन्मूलन गर्न सक्छ भन्ने कुनै वैज्ञानिक प्रमाण छैन । वास्तवमा, विशेषगरी क्यान्सर वा यसको उपचारबाट पहिले नै कमजोर भएका मानिसका लागि लामो समयसम्म उपवास खतरनाक हुन सक्छ ।
उपवासले मेटाबोलिजम, रोग प्रतिरोधात्मक क्षमता र कोषिकाको वृद्धिका केही पक्षलाई असर गर्न सक्छ, तर लामो समयसम्म पानी पिएर बस्ने उपवासले क्यान्सरको उपचार वा निको पार्न सक्छ भन्ने कुनै विश्वसनीय प्रमाण छैन । प्रयोगशाला अध्ययनमा उपवास (अनियमित उपवासदेखि छोटो अवधिको क्यालोरी प्रतिबन्धसम्म) ले कोषहरूले आफूलाई गर्ने मर्मत र ऊर्जा व्यवस्थापनमा असर पार्ने देखाइएको छ ।
उपवासले आन्द्राको स्टिम सेल गतिविधिलाई अस्थायी रूपमा दबाउने र त्यसपछि खाना पुन: लिन थालेपछि एक शक्तिशाली चरण सुरु हुने २०२४ को अनुसन्धानले देखाएको छ । स्टिम सेल वृद्धिमा हुने यो परावर्तन एमटिओआर भनिने मार्गद्वारा सञ्चालित हुन्छ, जसले प्रोटिन संश्लेषण र कोषिका प्रसारलाई बढावा दिन्छ । यो पुनर्जागरणले तन्तुहरूलाई पुन: सक्रिय हुन मद्दत गरे पनि यसले एक कमजोर रिक्तता पनि उत्पन्न गर्न सक्छ, जहाँ हानिकारक उत्परिवर्तन हुन सक्छन् । जसका कारण ट्युमर बन्ने जोखिम बढ्छ । उपवासको प्रभावबारे धेरैजसो अनुसन्धानले १२ देखि ७२ घण्टासम्म चल्ने छोटा उपवासमा केन्द्रित गरेको छ, एक सातासम्म जारी रहने अत्यधिक पानी पिएर लिइने उपवासमा होइन । २१ दिनको पानी उपवासले गम्भीर जोखिम निम्त्याउँछ । लामो समयसम्मको उपवासले निर्जलीकरण, इलेक्ट्रोलाइट असन्तुलन, खतरनाक रूपमा न्यून रक्तचाप र मांसपेशीमा हानि निम्त्याउन सक्छ ।
क्यान्सर आफैँले प्राय: कुपोषण निम्त्याउँछ, र उपवासले शरीरलाई क्षीण बनाउन सक्छ, प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउन सक्छ र संक्रमणका लागि संवेदनशीलता बढाउन सक्छ । धेरै क्यान्सर बिरामीले केमोथेरापीहरू गराइरहेका छन्, जसमा अंगको कार्य कायम राख्न र औषधिलाई सुरक्षित रूपमा मेटाबोलिजम बनाउन पर्याप्त पोषण चाहिन्छ । यी उपचारलाई लामो समयसम्म उपवाससँग मिलाउँदा विषाक्तता बढ्न सक्छ, निको हुन ढिलाइ हुन सक्छ र थकान बढ्न सक्छ । केमोथेरापीअघि छोटो उपवास वा उपवासको नक्कल गर्ने आहारमा निरन्तर क्लिनिकल अध्ययन भएका छन्, तर यिनलाई चिकित्सकीय रूपमा निरीक्षण गरिन्छन्, सामान्यतया ४८ घण्टाभन्दा कम समयसम्म रहन्छन् र सुरक्षाको लागि सावधानीपूर्वक निगरानी गरिन्छ ।
उपवासले वैज्ञानिकलाई अझै पनि छल गरिरहेको छ । किनभने, यसले प्राचीन बाँच्ने संयन्त्रलाई सक्रिय बनाउँछ । खाद्यान्न अभावको समयमा शरीरले अटोफेजीजस्ता प्रक्रिया सुरु गर्छ, जहाँ कोषहरूले क्षतिग्रस्त घटकलाई पुन: प्रयोग गर्छन् । जनावरमा गरिएको अध्ययनमा यो प्रक्रियाले जलन गर्न र मेटाबोलिक स्वास्थ्य सुधार गर्न सक्छ । तर, क्यान्सरमा विवरण धेरै जटिल छ । क्यान्सर कोषहरू संसाधनपूर्ण हुन्छन् । तिनीहरू वैकल्पिक इन्धन स्रोतहरू फेला पारेर उपवासमा अनुकूलन गर्न सक्छन्, कहिलेकाहीँ पोषक तत्वको तनावमा स्वस्थ कोषलाई पछाडि पार्छन् । पोषणविना लामो समयसम्म ट्युमर पत्ता लगाउने र आक्रमण गर्ने प्रतिरक्षा कोषलाई पनि कमजोर बनाउन सक्छ । २०२४ को उपवास अध्ययनले यो दोहोरो प्रवृत्तिलाई दर्साउँछ । उपवासले मेटाबोलिजम पुनस्र्थापना गर्न सक्छ, तर पुन: खाँदा एमटिओआरजस्ता वृद्धि मार्गलाई द्रुत रूपमा सक्रिय गर्छ । स्वस्थ कोषहरूमा यसले तन्तुहरू मर्मत गर्न मद्दत गर्छ । पहिले नै डिएनए क्षति वा प्रारम्भिक उत्परिवर्तन बोकेका कोषहरूमा यसले घातक प्रगतिलाई प्रोत्साहन गर्न सक्छ । यसले उपवासलाई हानिरहित वा उपचारात्मक हस्तक्षेपको सट्टा जटिल जैविक तनाव कारक बनाउँछ ।
खानाबाट टाढा रहँदा शरीर विषाक्तमुक्त हुन्छ ?
उपवासको धेरैजसो लोकप्रिय आकर्षण ‘डिटक्सिफिकेसन’को मिथकबाट आउँछ, खानाबाट टाढा रहनाले शरीरलाई ‘सफा’ गर्छ भन्ने विश्वास । यथार्थमा कलेजो, मिर्गौला र लिम्फेटिक प्रणालीजस्ता अंगले पहिले नै यो कार्य निरन्तर रूपमा गर्छन् । जम्मा भएका तर फ्लस आउट (बाहिर निकाल्न सकिने) ‘विषाक्त पदार्थहरू’को कारणले क्यान्सर हुँदैन । यो आनुवंशिक परिवर्तनमार्फत विकसित हुन्छ, जसले अनियन्त्रित कोषिका वृद्धि निम्त्याउँछ । उपवासले क्यान्सर कोषहरूलाई हटाउन सक्छ वा मानिसमा ट्युमरहरू संकुचित गर्न सक्छ भन्ने कुरालाई कुनै पनि अनुसन्धानले देखाएको छैन । नियन्त्रित अध्ययनले केवल छोटो अवधिको मेटाबोलिक परिवर्तन अवलोकन गरेका छन्, जसले जलन वा इन्सुलिन संकेतलाई असर गर्न सक्छ । यी प्रभावले दीर्घकालीन रोगका लागि दीर्घकालीन जोखिम कारकहरूलाई न्यून गर्न मद्दत गर्न सक्छ, तर एकपटक यो विकसित भएपछि तिनीहरूले क्यान्सरलाई उल्टाउँदैनन् ।
मेटाबोलिक अनुसन्धानको प्रतिज्ञा र सीमाहरू
मेटाबोलिज्मले क्यान्सरलाई कसरी असर गर्छ भन्ने कुरामा वैज्ञानिक चासो छ । अनुसन्धानकर्ताले लक्षित क्यालोरी प्रतिबन्ध वा न्यून कार्बोहाड्रेटयुक्त डाइटको आहारले स्वस्थहरूलाई बचाउँदै ट्युमर कोषहरूलाई उपचारका लागि बढी संवेदनशील बनाउन सक्छ कि सक्दैन भनेर अन्वेषण गरिरहेका छन् । यी अध्ययन अझै प्रारम्भिक चरणमा छन् र तथ्यमा केन्द्रित छन्, अनुमानमा होइन । कुनै पनि अध्ययनमा हप्तासम्म शरीरलाई सबै पोषक तत्वबाट भोकै राख्नु समावेश छैन ।
सनसनीपूर्ण दाबीहरूले परिकल्पना र प्रमाणबिचको रेखालाई धमिलो पार्छन्, तथ्यहरू छुट्याएर जोखिममा रहेका बिरामीलाई झुटा आशा दिन्छन्, कोष मर्मतमा उपवासको भूमिका उल्लेख गर्छन् । जबकि, धेरैजसो निष्कर्षहरू मानव परीक्षणबाट होइन, बरु पशु मोडेलबाट आउँछन् भन्ने महŒवपूर्ण विवरणलाई बेवास्ता गर्छन् । क्यान्सरको उपचार गराइरहेका कसैका लागि सुपरीवेक्षण नगरिएको अत्यधिक उपवासको प्रयासले आवश्यक हेरचाहमा ढिलाइ गर्न सक्छ, साइड इफेक्टहरू बिग्रन सक्छ, वा उनीहरूको जीवनलाई जोखिममा पार्न सक्छ ।
उपवास एक शारीरिक तनाव हो । सानो, नियन्त्रित मात्रामा गरिने उपवासले स्वास्थ्यलाई फाइदा पुर्याउन सक्छ । अत्यधिक उपवास विशेषगरी बिरामी भएको अवस्थामा भने यसले हानि पुर्याउन सक्छ ।
२१ दिनको पानी उपवास न त सम्भव छ, न त सुरक्षित क्यान्सर उपचार हो । उपवासको अनुसन्धानले हामीलाई कोषहरूले पोषण र तनावप्रति कसरी प्रतिक्रिया दिन्छ भनेर बुझ्न मद्दत गर्छ, तर त्यो ज्ञानले थेरापीको रूपमा समर्थन गर्नुको सट्टा उपवासको जटिलतालाई जोड दिन्छ । सन्तुलित पोषण, हाइड्रेसन, नियमित शारीरिक गतिविधि र पर्याप्त निद्राले क्यान्सर उपचारको समयमा लचिलोपनलाई समर्थन गर्न सक्छ, तर कुनै पनि ट्युमर जीवविज्ञानलाई लक्षित गर्न डिजाइन गरिएको चिकित्सा उपचारलाई प्रतिस्थापन गर्दैन । क्यान्सर हेरचाहलाई केमोथेरापी, रेडियोथेरापी, शल्यक्रिया र इम्युनोथेरापीजस्ता लक्षित, प्रमाणमा आधारित उपचारहरू आवश्यक पर्छ ।
उपवास अनुसन्धानले हामीलाई मेटाबोलिजम र रोगबिचको गहिरो सम्बन्ध बुझ्न मद्दत गरिरहेको छ, तर यो एक गिलास पानी र इच्छाशक्तिले क्यान्सर निको पार्नुभन्दा धेरै फरक छ । क्यान्सरजस्तो डरलाग्दो कुराको सामना गर्दा मानिसहरू नियन्त्रण चाहन्छन् भन्ने कुरा बुझ्न सकिन्छ । विकल्पहरूको खोजी प्राय: डर, निराशा वा पीडादायी उपचारबाट बच्ने इच्छाबाट आउँछ । तर, आशा कहिल्यै गलत जानकारीमा आधारित हुनुहुँदैन ।
(जस्टिन एन्जिला रस्किन युनिभर्सिटीमा बायोमेडिकल साइन्सकी प्राध्यापक हुन् ।)
द कन्भर्सेसनबाट सुभाष शर्माको अनुवाद ।