चिनियाँ युवासँग मध्यरातमा हुन लागेको बालविवाह प्रहरीले रोकेको छ । बाराको करैयामाई गाउँपालिका– १ मा मुस्लिम समुदायकी १८ वर्षीया नावालिग र पर्यटक भिसामा नेपाल आएका २२ वर्षीय चिनियाँ नियु युबिनबिच बुधबार राति विवाहको तयारी भइरहँदा प्रहरीले रोकेको हो । चीनको गान्सु प्रान्तका युबिनसहित बालिका र उनका बाबुलाई पक्राउ गरी अनुसन्धान पनि अघि बढाएको छ । नेपालको कानुनले विवाहका लागि २० वर्ष पुगेको हुनुपर्ने व्यवस्था गरेको छ ।
‘चिनियाँ युवकसँग विवाहको उमेर नै नपुगेकी बालिकाको मध्यरातमा विवाह हुँदै छ भन्ने सूचना पाएपछि तत्कालै प्रहरी विवाहस्थल पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको छ,’ बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले भने, ‘उनीहरूलाई जिप्रका कलैयामा राखेर थप अनुसन्धान गरिरहेका छौँ ।’ प्रहरीले यो घटनालाई मानव बेचबिखन तथा आर्थिक प्रलोभनमा आधारित विवाह र अन्तर्राष्ट्रिय बिचौलियाको संलग्नताजस्ता अनेक कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौंमा बस्ने युवतीका आफन्तसँगको नेटवर्कमार्फत चिनियाँ युवकसँग विवाहको प्रबन्ध मिलाइएको र ती युवक विवाहकै उद्देश्यले युवतीको घरमा आएको सूचना आफूले पाएको वडाध्यक्ष सोनालाल साहले बताए ।