द्वन्द्वले कंगोमा चार लाख विस्थापित

सोमबार, ९ मंसिर, २०८२
डिजिटल संस्करण

 पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआरसी)मा सन् २०२५ को सुरुदेखि चार लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । द्वन्द्व बढ्दै गएपछि देशमा विस्थापित बढेको संयुक्त राष्ट्र संघको शरणार्थी निकायले जानकारी दिएको हो । शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त (युएनएचसिआर)ले पूर्वी डिआरसीमा नागरिक र आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू (आइडिपी)को संरक्षणबारे गम्भीर रहेको जनाएको छ । यी क्षेत्रमा लडाकुबिचको लगातार झडपले दक्षिण किभु र उत्तर किभु प्रान्तमा नागरिक सुरक्षाको वातावरण बिग्रिँदै गएको छ ।

उत्तरी किभु प्रान्तको साके सहर र यसवरपरका क्षेत्रमा सरकारी सेना र विद्रोहीबिच हिंसात्मक झडप जारी छ । उत्तरी किभु प्रान्तको राजधानी गोमावरिपरि ठुला विस्फोट भएका छन् । तीव्र हिंसाको सामना गरिरहेका तीन क्षेत्र गोमा, साके र कालेबिचका सबै मानवीय मार्ग जारी युद्धका कारण अवरुद्ध भएका युएनएचसिआरले जनाएको छ । घाइतेको आगमनले अस्पतालको आपतकालीन क्षमतालाई तनावपूर्ण बनाएको प्रतिवेदनमा जनाएको छ ।

दुवै पक्षको गोलाबारीले गोमा र वरपरका क्षेत्रमा विस्थापित बासिन्दामा त्रास फैलाएको छ । धेरै विदेशी दूतावासले अलर्ट जारी गरेका छन् । उत्तरी किभुमा डिआरसी सेनाका प्रवक्ता गुइलाउम एनजिके काइकोले शुक्रबार विद्रोहीले कब्जा गरेको साकेलाई मुक्त गर्ने प्रयास अझै जारी राखेको जनाएको छ । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले यस वर्षको सुरुदेखि नै एम २३ ले गरेको आक्रमणको निन्दा गरेका छन् ।

सुझावित समाचार