२१ देखि २७ मंसिरसम्म मतदाता नामावलीको त्रुटि सच्याउन मिल्ने

१५ पुसमा अन्तिम मतदाता नामावली प्रकाशन

शुक्रबार, ६ मंसिर, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगले मतदाता नामावलीको त्रुटि सच्याउन २१–२७ मंसिरसम्मको समय तोकेको छ । आयोगले २१ फागुनमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बिहीबार मतदाताको उमेर १८ वर्ष पुग्ने निर्दिष्ट मिति (कट अफ डेट) निर्धारण र मतदाता नामावलीलाई अद्यावधिक गर्ने कार्यक्रम स्वीकृत गरेको हो । प्रवक्ता नारायण भट्टराईका अनुसार ५ मंसिरसम्म देशभरबाट संकलन हुने मतदातामध्ये २० फागुनसम्म १८ वर्ष उमेर पुग्ने मतदाताहरूको नामावली २० मंसिरमा आयोगको वेबसाइटमा प्रकाशन गरिनेछ । 

स्वीकृत कार्यक्रमअनुसार उक्त नामावलीमा कुनै त्रुटि भएमा सच्याउन, कसैले झुटा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनका लागि २१–२७ मंसिरसम्म आयोगको वेबसाइट वा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा निवेदन, उजुरी वा सूचना दिन सकिनेछ । प्राप्त गुनासा, उजुरी वा सूचनाहरूका सम्बन्धमा सम्बन्धित निर्वाचन कार्यालयबाट छानबिन गरी १५ पुसमा सम्बन्धित निर्वाचन कार्यालय र वडा कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिने प्रवक्ता भट्टराईले बताए । 

आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रमअन्तर्गत मतदाता नामावलीलाई त्रुटिरहित र थप शुद्ध तुल्याउन आममतदाता तथा सबै सरोकारवालाको सहभागिता अपरिहार्य रहेकोमा जोड दिँदै २१–२७ मंसिरसम्म त्रुटि सच्याउन निवेदन दिनेलगायतका तोकिएका कार्यहरूमा अनलाइन प्रणालीसमेतबाट निवेदन, सूचना वा उजुरी दिन भनेको छ । ३ मंसिरसम्म सात लाख २९ हजार २० मतदाता थपिएका छन् । मतदाता संकलनको समय ५ मंसिरसम्म तोकिएकोमा अब एक दिन बाँकी छ । यसअघि १६ कात्तिक ०८२ सम्म एक लाख ८१ हजार ६८ हजार २३० मतदाता थिए । 

सुझावित समाचार