राजनीतिक विश्लेषक चन्द्रकिशोरलाई ३ प्रश्न

बुधबार, ४ मंसिर, २०८२
डिजिटल संस्करण

नयाँ–नयाँ राजनीतिक दल खुल्नुले देशको भावी राजनीतिमा कस्तो प्रभाव पार्ला ?
राजनीतिको मैदानमा विभिन्न पेसा, व्यवसाय र पृष्ठभूमिका मानिसहरू नयाँ नयाँ दल लिएर आउनुले राजनीतिक प्रतिस्पर्धाको मैदानलाई फराकिलो नै पार्छ । तर, यसो भन्दैमा यसबाट लोकतान्त्रिक प्रतिस्पर्धा गुणात्मक हुन्छ भन्नचाहिँ सकिन्न । राजनीतिको मैदानमा बलियो हस्तक्षेपका लागि यसरी आउने नयाँ–नयाँ दलको प्रस्ट आधार हुनुपर्छ । विनाआधार पुराना दल समाप्त हुँदै छन् भन्ने हल्लाका भरमा आआफ्ना लोटामा केही शक्ति सञ्चय गर्न सकिन्छ कि भन्ने ध्येयले खुलेका दलको चाहिँ खासै अर्थ हुँदैन । 

नयाँ दलहरू नयाँ राजनीतिक शक्तिका रूपमा उदाउन कति सम्भव देखिन्छ ? 
नयाँ दलहरूले बोक्ने नेपाली समाजका विविधता र अँगाल्ने सिद्धान्तले दलहरूको भविष्य निर्धारण गर्ने हो । नेपाली सामाजिक तथा आर्थिक पाटोमा पुराना दलहरू कहाँकहाँ चुके भन्ने विश्लेषण गरी नयाँ दलहरू विकल्पको ‘रोडम्याप’सहित अगाडि आउन सके भने मात्र त्यसको केही अर्थ रहन्छ । अन्यथा ‘क’को ठाउँमा ‘ख’ आउँदैमा केही फरक पर्दैन ।

हाम्रो जस्तो देशमा राजनीतिक दल थोरै वा धेरै हुनुले कस्तो अर्थ राख्छ ?
निर्वाचन आयोगमा कति दल दर्ता भए भन्नेले राजनीतिमा खासै ठुलो अर्थ राख्दैन । जनताले नै निर्वाचनमा आफ्नो मतमार्फत दलहरूको संख्या निर्धारण गरिदिन्छन् । दल त विभिन्न व्यक्तिका फरकफरक स्वार्थवश पनि खुल्न सक्छन् । तीमध्ये कतिपयले त निर्वाचनमा भागै नलिन पनि सक्छन् । भाग लिनेमध्ये पनि कसलाई शक्तिमा ल्याउने भनेर निर्णय गर्ने रेफ्री जनता मात्र हुन् । दल खोल्न, संगठित हुन, वैकल्पिक विचार राख्न पाइन्छ । तर, कसलाई शक्तिमा ल्याउने र कति दललाई राख्ने भन्ने निर्णय जनताले नै गर्ने हुनाले आयोगमा दर्ता संख्या धेरै वा थोरै हुनुको अर्थ रहँदैन । 

सुझावित समाचार