- अघिल्लो वर्षको अगस्टमा भएको विद्यार्थी आन्दोलनमा तत्कालीन हसिना नेतृत्वको सरकारले गरेको बर्बर दमनमा १४ सयभन्दा धेरैको मृत्यु भएको थियो, जसमध्ये अधिकांश सुरक्षाकर्मीको गोलीबाट मारिएका थिए
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई त्यहाँको विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । गत वर्ष भएको विद्यार्थी आन्दोलनमा बर्बर दमन गरेर मानवताविरोधी अपराध गरेको ठहर गर्दै सोमबार अदालतले फैसला सुनाएको हो ।
गत वर्षको अगस्टमा भएको आन्दोलनका क्रममा १४ सय जनाको मत्यु भएको थियो, जसमध्ये धेरैजसो सुरक्षाकर्मीको गोलीबाट मारिएका थिए । आन्दोलनकारीले राजधानी कब्जा गर्दै प्रधानमन्त्री निवासतर्फ आउन थालेपछि तत्कालीन प्रधानमन्त्री ७८ वर्षीया हसिना देश छाडेर भागेकी थिइन् । अहिले पनि भारतमा शरण लिइरहेकी छिन् । उनको अनुपस्थितिमा मुद्दा चलाएर फैसला आएको होे ।
अदालतले हसिनाको मन्त्रिपरिषद्का गृहमन्त्री असदुज्जमान खान र प्रमुख साक्षीका रूपमा बयान दिएका पूर्वप्रहरी प्रमुख चौधरी अब्दुल्लाह अल–मामुनलाई पनि दोषी ठहर गरेको छ । खानलाई मृत्युदण्ड र अल–मामुनलाई पाँच वर्षको जेल सजाय सुनाएको छ । तत्कालिन प्रहरी प्रमुख मामुन अदालतमा हसिनाले दमन गर्न आदेश दिएको विषयमा सरकारी साक्षी बनेका थिए । विद्यार्थी आन्दोलनमा दमन हुनुमा उनीहरू तीनैजना जिम्मेवार रहेको अदालतको ठहर छ । त्यस्तै, अदालतले आन्दोलनका क्रममा मारिएका र घाइते भएका प्रदर्शनकारीलाई क्षतिपूर्ति दिन सरकारलाई आदेश दिएको छ ।
अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणका लागि बंगलादेशका प्रमुख अभियोजक मोहम्मद ताजुल इस्लामले हसिना र खानलाई मृत्युदण्डको सजाय सुनाएर अदालतले देशलाई ‘न्याय दिएको’ बताए । ‘यो फैसलाले प्रमाणित गर्छ कि कोही पनि कानुनभन्दा माथि छैन, चाहे त्यो जतिसुकै शक्तिशाली किन नहोस्,’ उनले भने ।
यो फैसलाले हसिनालाई सुपुर्दगी गर्न भारतलाई दबाब दिने अनुमान गरिएको छ । अदालतको आदेशसँगै देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ भने केही ठाउँमा विरोध प्रदर्शन भइरहेका छन् ।
फैसलापछि हसिनाले विज्ञप्ती जारी गर्दै अदालतको निर्णयलाई ‘पक्षपाती र राजनीतिक रूपमा प्रेरित’ भनेकी छिन् । उनी सत्ताच्यूत भएदेखि भारतमा बस्दै आएकी छिन् । आफ्नो अनुपस्थितिमा ‘राजनीतिक प्रतिद्वन्द्वीद्वारा नियन्त्रित कंगारु कोर्टमा सुनुवाइ भएको’ भन्दै हसिनाले त्यसलाई ‘नौटंकी’को संज्ञा दिएकी छिन् । उनले बंगलादेशको अन्तरिम सरकारलाई आफूविरुद्ध हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) मा मुद्दा चलाउन चुनौती दिएकी छिन् ।
ऐतिहासिक फैसला : अन्तरिम सरकार
हसिनालाई मृत्युदण्ड दिने आदालतको आदेशलाई बंगलादेशको अन्तरिम सरकारले भने ‘ऐतिहासिक’ भनेको छ । बंगलादेशको कानुन मन्त्रालयका कार्यवाहक प्रमुख प्राध्यापक आसिफ नजरुलले पूर्वप्रधानमन्त्री हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खानलाई अदालतले सुनाएको मृत्युदण्डको फैसलालाई गत वर्षको विद्रोहपछि ‘न्यायको सबैभन्दा ठुलो कार्यमध्ये एक’ भनेका छन् ।
फैसलापछि पत्रकारसँग कुरा गर्दै नजरुलले भने, ‘यो ऐतिहासिक दिन हो । सयौँको मृत्यु र हजारौँलाई अपांग बनाउन जिम्मेवार व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाइएको छ । यो जुलाई विद्रोहको विजय हो ।’ बंगलादेशले हसिनालाई सुपुर्दगी गर्न भारतलाई अनुरोध पनि गरेको उनले बताए । ‘यदि भारतले सामूहिक हत्याका लागि जिम्मेवार व्यक्तिलाई शरण दिइरह्यो भने बंगलादेश र यहाँका जनताप्रति शत्रुता निम्त्याएको ठहर हुन्छ,’ उनले भने ।
फैसलासँगै देशमा अराजकता बढ्न सक्ने भन्दै सरकारले सबैलाई शान्त रहन पनि आह्वान गरेको छ । ‘अराजकता वा सार्वजनिक व्यवस्थालाई खलल पार्ने कुनै पनि प्रयासलाई कडाइका साथ दबाइने छ,’ नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा गठित सरकारले भनेको छ ।
फैसलाले विद्यार्थी र सहिद परिवारमा खुसियाली छाएको छ । धेरैजसो बंगाली हसिनाको सजायबाट दंग छन् । तर, देशकै ठुलो दलमध्येको एक अबामी लिग (हसिनाको पार्टी) फैसलाले आक्रोशित बनेको छ । व्यक्तिगत रूपमा हसिनाका समर्थक पनि उल्लेख्य छन् र उनीहरूले यसलाई सहजै स्वीकार नगर्ने अनुमान गरिएको छ । फैसलाबारे अन्तर्राष्ट्रिय समुदायबाट कस्तो प्रतिक्रिया आउँछ भनेर हेर्न भने बाँकी छ ।
भारतमा शरण लिइरहेकी हसिनालाई सुपुर्दगी गर्न बंगलादेशको आग्रह
भारतले भन्यो– बंगलादेशका जनताको सर्वोत्तम हितप्रति प्रतिबद्ध छौँ
हसिनालाई सुपुर्दगी गर्ने विषयमा भने मौन
भारतको विदेश मन्त्रालयले हसिनाविरुद्धको फैसलालाई सम्बोधन गर्दै एक विज्ञप्ति जारी गरेको छ । फैसलालाई ध्यान दिएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘बंगलादेशका जनताको सर्वोत्तम हितप्रति भारत प्रतिबद्ध छ । उक्त उद्देश्यका लागि सबै सरोकारवालासँग रचनात्मक रूपमा संलग्न हुनेछौँ ।’ हसिना र पूर्वगृहमन्त्री खानलाई सुपुर्दगी गर्न बंगलादेशले गरेको आह्वानबारे भने विज्ञप्तिमा प्रस्ट रूपमा केही उल्लेख गरिएको छैन । जानकारहरूका अनुसार भारतले हसिनालाई बंगलादेश सुपुर्दगी गर्ने सम्भावना अत्यन्तै कम छ । हसिनाका छोराले उनलाई कहिल्यै सुपुर्दगी नगरिने र भारतीयले उनको सुरक्षा सुनिश्चित गर्ने बताएका छन् । यस्तो भएमा दुई देशबिच कूटनीतिक समस्या निम्तिन सक्छ ।
एजेन्सीकाे सहयाेगमा