स्वास्थ्य
साबुनपानीले हात धुनु केवल व्यक्तिगत बानी मात्र होइन, यो एक सामाजिक जिम्मेवारी र जनस्वास्थ्यको आधारस्तम्भ हो ।
नेपालमा हात धुने परिपाटीलाई बुझ्न यहाँको सामाजिक, सांस्कृतिक र धार्मिक पक्षलाई नियाल्न आवश्यक देखिन्छ । नेपाली समाजमा सरसफाइ र शुद्धताको अवधारणा गहिरोसँग जोडिएको छ । नेपाली संस्कृतिमा ‘चोखो’ र ‘बिटुलो’को अवधारणा छ । खाना खानुअघि वा पूजापाठ गर्नुअघि पानीले हातखुट्टा धुनु तथा चोख्खिनु एक सामान्य अभ्यास हो । शौचालय गएपछि पानीले सफा गर्ने चलन पनि पुरानो हो । परम्परागत रूपमा धेरैजसो अवस्थामा पानीले मात्र हात पखाल्ने चलन थियो । साबुनको प्रयोगभन्दा पनि पानीले पखालेपछि हात ‘चोखो’ हुन्छ भन्ने मान्यता थियो । त्यस्तै, ग्रामीण क्षेत्रमा, विशेषगरी शौचालय प्रयोग गरेपछि, हात सफा गर्न खरानी वा माटो प्रयोग गर्ने चलन अझै पनि कतैकतै देखिन्छ । खरानीमा हुने क्षारीय गुणले केही हदसम्म कीटाणु मार्न मद्दत गरे पनि यो साबुनजस्तो प्रभावकारी र सुरक्षित भने हुँदैन ।
पछिल्ला केही दशकमा नेपालमा हात धुने परिपाटीमा उल्लेखनीय परिवर्तन आएको छ । शिक्षाको विस्तार, स्वास्थ्य चेतना, सञ्चारमाध्यमको पहुँच र विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको अभियान, परियोजना तथा सचेतना कार्यक्रमले साबुनपानीले हात धुने बानीको विकासमा ठुलो भूमिका खेलेको पाइन्छ । कोभिड–१९ महामारीले हात धुने बानीलाई समाजमा उल्लेख्य रूपमा परिवर्तन ल्याएको थियो । यस्ता महामारीबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय नै साबुनपानीले हात धुनु वा स्यानिटाइजर प्रयोग गर्नु भएकाले घर, कार्यालय, पसल, रेस्टुरेन्ट जताततै हात धुने स्टेसन वा स्यानिटाइजर राख्ने चलन बस्यो । कोभिड महामारीपछि मानिसहरूले हात धुने प्रक्रिया र महत्वलाई पहिलेभन्दा धेरै गम्भीरतासाथ लिएको पाइन्छ । यसका अलावा विद्यालयमा सञ्चालित सरसफाइ कार्यक्रमले बालबालिकामार्फत परिवारसम्म हात धुने सन्देश पुर्याउन सफल भएका छन् । यद्यपि, अझै पनि धेरै ग्रामीण र दुर्गम क्षेत्रमा साबुनपानीको सहज पहुँच नहुनु, पानीको अभाव हुनु र पुरानै बानी नछुट्नुजस्ता चुनौती कायमै छन् ।
हात धुनुको मतलब पानीले हात भिजाउनु मात्र होइन । कीटाणुलाई पूर्ण रूपमा हटाउन एक निश्चित वैज्ञानिक प्रक्रिया अपनाउनुपर्छ । विश्व स्वास्थ्य संगठनले सिफारिस गरेअनुसार हात धुने प्रक्रिया कम्तीमा २० सेकेन्डको हुनुपर्छ ।
मल्टिपल इन्डिकेटर क्लस्टर सर्भे (एमआइसिएस), २०१९ का अनुसार नेपालका ८६.४ प्रतिशत घरपरिवारमा हात धुने सुविधा उपलब्ध छ । साथै, ८०.७ प्रतिशत घरपरिवारमा हात धुनका लागि साबुनपानीसहितको सुविधाको व्यवस्था रहेको छ । यो तथ्यांक सहरी क्षेत्रमा ८५.६ प्रतिशत देखिन्छ भने ग्रामीण क्षेत्रमा जम्मा ७०.७ प्रतिशत रहेको छ । प्रदेशगत तथ्यांक हेर्दा कोशी प्रदेशमा ८४.६ प्रतिशत, मधेश प्रदेशमा ७९.३ प्रतिशत, बागमती प्रदेशमा ८८.२ प्रतिशत, गण्डकी प्रदेशमा ८८.१ प्रतिशत, लुम्बिनी प्रदेशमा ८४.६ प्रतिशत, कर्णाली प्रदेशमा ५५.२ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ५७.६ प्रतिशत घरपरिवारमा हात धुनका लागि साबुनपानीसहितको सुविधा उपलब्ध रहेको पाइन्छ । सो तथ्यांकलाई विश्लेषण गर्दा सबैभन्दा कम कर्णाली प्रदेश, त्यसपछि सुदूरपश्चिम र मधेश प्रदेशमा देखिएको छ भने बागमती र गण्डकी प्रदेशमा सबैभन्दा धेरै घरपरिवारमा हात धुनका लागि साबुनपानीको व्यवस्था रहेको देखिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार वार्षिक प्रतिएक लाख मृत्युमा १८.३ को मृत्यु असुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छताको कारणबाट हुने गर्दछ भने सो दर नेपालमा १७.८ रहेको पाइन्छ । नेपालमा अझै पनि वेलाबखत हैजा, झाडापखालाजस्ता रोगका कारण शिशु, बालबालिकाको मृत्यु हुने समाचार सुनिने गरिन्छ ।
हात जतिवेला फोहोर देखियो, त्यतिवेला धुनुपर्छ, तर कीटाणुहरू आँखाले देखिँदैन । त्यसैले हात सफा देखिँदैमा कीटाणुमुक्त हुन्छ भन्ने हुँदैन । जनस्वास्थ्य विशेषज्ञले केही यस्ता महत्वपूर्ण क्षणहरू पहिचान गरेका छन्, तीवेला हात धुनु अनिवार्य हुन्छ । जस्तै– आँखा, नाक र मुख छुनुभन्दा पहिले, खाना खान र त्यसलाई पस्कन वा छुनुभन्दा पहिले शौचालयको प्रयोग गरिसकेपछि, खोकी वा हाछ्युँजस्ता श्वासप्रश्वाससम्बन्धी स्रावहरूद्वारा हात प्रदूषित भएपछि, सार्वजनिक यातायात, बजार तथा धार्मिक स्थलजस्ता सार्वजनिक स्थानमा गएर फर्केपछि, बच्चाको डायपर फेरेपछि वा बच्चा तथा बिरामीको रेखदेख गर्दा फोहोर लागेका सरसमामान छोएपछि, घरपालुवा तथा अन्य जनावरलाई छोएपछि, खिया लागेको तथा अन्य सामग्री छोएपछि आदि । यी समयमा हात धुँदा रोग सर्ने शृंखलालाई तोड्न सकिन्छ।
हात धुनुको मतलब पानीले हात भिजाउनु मात्र होइन । कीटाणुलाई पूर्ण रूपमा हटाउन एक निश्चित वैज्ञानिक प्रक्रिया अपनाउनुपर्छ । विश्व स्वास्थ्य संगठनले सिफारिस गरेअनुसार हात धुने प्रक्रिया कम्तीमा २० सेकेन्डको हुनुपर्छ । सोअनुसार, सबैभन्दा पहिले सफा, बगिरहेको पानीले हात राम्रोसँग भिजाउने, पर्याप्त मात्रामा दुवै हातमा साबुन (झोल वा ठोस) लगाएर फिँज आउने गरी हात रगड्ने । साथै, हत्केला, औँलाका काप, पछाडि, टुप्पा, बुढी औँला, नाडीमा राम्रोसँग साबुन लगाएर माड्ने, त्यसपछि धाराको पानीले हातलाई राम्ररी पखाली सफा कपडा, टिस्यु पेपर वा एयर ड्रायर (हात सुकाउने मेसिन) को सहायताले हात पुछ्ने वा सुकाउनुपर्छ । सफा हातले पानीको धारालाई फेरि सोझै छुनु हुँदैन । धारा बन्द गर्दा धाराको घुमाउनेलाई तौलिया तथा टिस्यु पेपरले बेरेर धारा बन्द गर्न सकिन्छ । अथवा, धारा घुमाउनेलाई सफा गर्न त्यसमाथि पानी छ्यापेर वा अर्काे व्यक्तिद्वारा धारा बन्द गर्न सकिन्छ ।
हात नधुनु भनेको रोगका कीटाणुहरूलाई शरीरभित्र प्रवेशका लागि निम्तो दिनु हो । फोहोर हातबाट सर्ने प्रमुख रोगहरू, झाडापखला, हैजा, टाइफाइड, निमोनिया, हेपाटाइटिस, आन्द्रामा संक्रमण, आँखा पाक्ने, हातखुट्टा र मुखको रोग, छालासम्बन्धी रोग तथा विभिन्न महामारी आदि हुन् । त्यसैले, हात धुनुको महत्वलाई स्वास्थ्य, सामाजिक र आर्थिक दृष्टिकोणबाट हेर्न आवश्यक सकिन्छ । स्वास्थ्यसम्बन्धी महत्वलाई प्रस्ट्याउँदा झाडापखलाको रोकथाम, श्वासप्रश्वाससम्बन्धी संक्रमणमा कमी, छाला र आँखाको संक्रमणबाट बचाउ, पेटमा जुका पर्ने, साथै, हैजा, टाइफाइड, हेपटाइटिस ए, कोभिड–१९ जस्ता महामारी फैलाउने कीटाणु र अन्य सर्ने रोगबाट जोगिन सकिन्छ । त्यस्तै, सामाजिक र आर्थिक पक्षलाई नियाल्दा, नियमित हात धुने बानीले गर्दा स्वास्थ्य उपचार खर्चमा कमी आउने, उत्पादकत्वमा वृद्धि, पोषणमा सुधार, सामाजिक प्रतिष्ठा वृद्धिजस्ता विषयमा प्रत्यक्ष रूपमा सुधार ल्याउँछ ।
अत: साबुनपानीले हात धुनु केवल व्यक्तिगत बानी मात्र होइन, यो एक सामाजिक जिमेवारी र जनस्वास्थ्यको आधारस्तम्भ हो । हात धुनु रोग रोकथामको सबैभन्दा सस्तो, सरल र प्रभावकारी उपाय हो, जसले लाखौँको जीवन बचाउन सक्छ र देशको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ । नेपालले विगत दशकमा सरफाइको क्षेत्रमा, विशेषगरी खुल्ला दिसामुक्त अभियानमा, ऐतिहासिक सफलता हासिल गरेको छ । तर, यो अभियान अझै पूरा भएको छैन । अझै पूर्ण सरसफाइ, अर्थात् बनेका संरचनाको दिगो प्रयोग र हात धुनेजस्ता व्यवहारलाई जीवन पद्धतिको रूपमा स्थापित गर्नुमा सबैको ध्यान केन्द्रित हुन आवश्यक देखिन्छ । हात धुने बानीलाई प्रत्येक घर, विद्यालय, स्वास्थ्य संस्था र समुदायमा पुर्याउन सबै तहको सरकार, गैरसरकारी संस्था, निजी क्षेत्र, सञ्चार माध्यम र प्रत्येक नागरिकको प्रतिबद्धताको अति आवश्यक छ । जब हामी प्रत्येक नागरिकले हात धुनुलाई आफ्नो र आफ्नो परिवारको स्वास्थ्यप्रतिको जिम्मेवारीको रूपमा लिन्छौँ, तब मात्र हामी एक स्वस्थ, समृद्ध र सम्मानित समाज निर्माण गर्ने दिशामा अघि बढ्न सक्छौँ ।
(लेखकले ‘नेपालमा गुणस्तरीय जीवनका निम्ति स्वास्थ्य, जनसंख्या, एवं वातावरण शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको भूमिका’ विषयमा विद्यावारिधि गरेका छन् ।)