खेलाडी वा टोलीलाई सफल बनाउन पछाडिबाट मार्गनिर्देशन गर्ने एक व्यक्ति मैदानबाहिर खटिरहेको हुन्छ, जसले खेलको अवस्थाअनुसार मैदानबाहिरबाट तत्कालै रणनीति परिवर्तन गरिरहेको हुन्छ, ती प्रमुख प्रशिक्षक हुन् । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी आठवटा फ्रेन्चाइज टोलीले मुख्य प्रशिक्षक नियुक्त गरिसकेका छन् । त्रिवि क्रिकेट मैदानमा १ देखि २७ मंसिरसम्म चल्ने प्रतियोगितामा यी आठमध्ये एकजना मुख्य प्रशिक्षक च्याम्पियन बन्नेछन् । यसपटक पाँचजना विदेशी र तीनजना नेपाली मुख्य प्रशिक्षक छन् । उनीहरूको एउटै सपना छ, च्याम्पियन बन्ने । गत वर्ष पुबुदु दासानायेकेको प्रशिक्षणमा जनकपुर बोल्ट्सले उपाधि उचालेको थियो । यसपटक पुबुदु जनकपुरमा छैनन् । उनी विराटनगर किंग्समा पुगेका छन् । यसपटक केही नयाँ प्रशिक्षक आएका छन् । साबिक विजेता जनकपुरले वेस्ट इन्डिजका पूर्वदिग्गज खेलाडी शिवनारायण चन्द्रपाउललाई मुख्य प्रशिक्षक बनाएको छ । एनपिएलमा सहभागी टोलीका मुख्य प्रशिक्षकहरू यस्ता छन् :
शिवनारायण चन्द्रपाउल (जनकपुर बोल्ट्स)
अन्तर्राष्ट्रिय क्रिकेटमा चन्द्रपाउल नयाँ नाम होइनन् । वेस्ट इन्डिजका दिग्गज खेलाडीसमेत रहिसकेका चन्द्रपाउलको प्रशिक्षणमा जनकपुरले उपाधि रक्षा गर्ने कसरत गरेको छ । पुबुदुलाई निरन्तरता नगरेको जनकपुरले विश्वस्तरीय प्रशिक्षक अनुबन्ध नगरे पनि खेलाडीका रूपमा ठुलो नाम राखेका व्यक्तित्व चन्द्रपाउललाई सम्झौता गर्दा सबै अचम्ममा परे । चन्द्रपाउलसँग प्रशिक्षण गरेको धेरै अनुभव छैन । उनीसँग अमेरिकी महिला क्रिकेट हेरेको अनुभव भने छ । क्रिकेट करिअरपछि चन्द्रपाउल प्रशिक्षणतर्फ लागे । वेस्ट इन्डिजका सर्वकालीन महान् खेलाडीमा पर्ने चन्द्रपाउलले टेस्टमा ११ हजार आठ सय तथा एकदिवसीयमा आठ हजार सात सयभन्दा बढी रन बनाएका छन् । बायाँहाते क्लासिक ब्याट्सम्यान चन्द्रपाउलसँग इन्डियन प्रिमियर लिग खेलेको अनुभव छ । पहिलोपटक नेपालमा आउँदा आफू उत्साहित भएको उनले बताएका छन् । ‘पहिलोपटक यहाँ आएको छु, मलाई नेपाली खेलाडीबारे धेरै कुरा थाहा छैन,’ जनकपुरले मुख्य प्रशिक्षक सार्वजनिक गर्दा चन्द्रपाउलले भनेका थिए, ‘एनपिएलमा राम्रो क्रिकेट खेल्न सक्यौँ भने उपाधि जोगाउन सक्छौँ ।’ उनले जनकपुरलाई उपाधि रक्षा गर्ने र नेपाली युवा खेलाडीलाई आफ्नो अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव साट्न आएको जानकारी गराए । ‘यहाँ यस टोलीलाई उपाधि रक्षा गर्न र नेपालका युवालाई आफ्नो कौशल देखाउन आएको हुँ,’ उनले भने । नेपालको वातावरणबाट उनी मख्ख छन् । उनी भन्छन्, ‘यहाँको वातावरण निकै राम्रो छ । यसले मलाई निकै प्रभावित बनाएको छ ।’
जगत टमाटा (सुदूरपश्चिम रोयल्स)
घरेलु क्रिकेटमा जगत् ‘गुरु’ नाम प्रख्यात जगत टमाटाले दोस्रोपटकको प्रयासमा सुदूरपश्चिमलाई एनपिएलको उपाधि दिलाउन प्रतिज्ञा लिएका छन् । गत वर्षको फाइनलमा जनकपुरसँग पाँच विकेटले हारेको क्षण उनी भुल्न सक्दैनन् । त्यो पीडादायी क्षण बिर्साउने एउटै मात्र उपाय भनेको एनपिएलको उपाधि चुम्ने नै हो । लामो समय नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकको भूमिका निर्वाह गरेका जगतले घरेलु क्रिकेटको संरचनालाई गहिरोसँग बुझेका छन् । टोलीमा आबद्ध नेपाली खेलाडीका राम्रा र नराम्रा पक्ष उनलाई सबै थाहा छ । उपाधि जित्ने अभियानमा लागेका सुदूरपश्चिमका खेलाडी निरन्तर अभ्यासमा छन् । एनपिएलअगाडि सुदूरपश्चिम सेपमा आएको उनी मान्छन् । ‘हामी पछिल्ला केही दिनदेखि निरन्तर अभ्यासमा छौँ,’ उनले भने, ‘आबद्ध भएका विदेशी खेलाडी राम्रो टचमा छन् ।’ यसपटक सुदूरपश्चिमका समर्थकलाई त्रिवि क्रिकेट मैदानबाट निराश नबनाउने उनले बताए ।
कलाम अली (चितवन राइनोज)
गत वर्ष कलाम बलिङ प्रशिक्षकका रूपमा चितवनसँग जोडिएका थिए । चितवनले भारतीय प्रशिक्षक उमेश पटवाललाई निरन्तरता नदिई स्वदेशी कलामलाई एनपिएलको जिम्मेवारी दिएको छ । नेपालका पूर्वतीव्र गतिका बलर कलामसँग प्रशिक्षणको राम्रो अनुभव छ । उनले कुनै समय सञ्चालन भएको एभरेस्ट प्रिमियर लिगमा पञ्चकन्या तेज र काठमाडौं किंग्स ११ को प्रशिक्षकका रूपमा काम गरेका थिए । यसअघि दुई–दुईवटा फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षकका रूपमा काम गरिसकेको अनुभव बुटलेका कलाम दोस्रो एनपिएलमा पूरै जिम्मेवारी हर्षित पनि छन् । पहिलो संस्करणमा प्ले अफसम्म पुगेको चितवनलाई यसपटक उपाधि दिलाउने जिम्मा आफ्नो काँधमा आएको उनी बताउँछन् । ‘यहाँ सहभागी सबैको लक्ष्य उपाधि जित्नु नै हो । गत वर्षको तुलनामा यसपटक घरेलु खेलाडीमाथि धेरै फोकस भएका छौँ,’ उनले भने, ‘यसपटक विदेशी खेलाडी पनि राम्रा छन् । यो सिजन उत्कृष्ट नतिजा दिलाउने हो ।’ यद्यपि, उनले पूर्ण जिम्मेवारी पाउँदा दबाब महसुस गरेको बताए । ‘केही दबाब र चुनौती छन्,’ उनले भने, ‘अवश्य पनि यो जिम्मेवारी अलि गाह्रो नै हुन्छ ।’
ज्ञानेन्द्र मल्ल (कर्णाली याक्स)
पहिलो संस्करणमा प्ले अफ स्थान सुरक्षित गरेको कर्णालीले यसपटक ज्ञानेन्द्रलाई मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ । कुनै समय नेपाली राष्ट्रिय टोलीको मध्यक्रम बलियो बनाउन प्रमुख योगदान दिएका ज्ञानेन्द्रले सक्रिय करिअरपछि प्रशिक्षणलाई दोस्रो इनिङ्स बनाए । निकै छोटो समयमै उनले आफ्नो प्रशिक्षण कौशलता देखाएका छन् । नेपाली पुरुष राष्ट्रिय ‘ए’ टोलीका मुख्य प्रशिक्षकसमेत रहेका उनले यसपटक कर्णालीलाई उपाधि दिलाउने मुख्य लक्ष्य बनाएका छन् । गत वर्ष भारतका चर्चित ब्याट्सम्यान शिखर धवनलाई समेत निर्देशन दिएका उनले दोस्रो संस्करणमा विदेशी र नेपाली खेलाडीबाट अपेक्षाकृत प्रदर्शन हुने विश्वास राखेका छन् । सुरुको योजना प्ले अफ र त्यसपछि उपाधितर्फ अग्रसर हुने ज्ञानेन्द्रले बताएका छन् । ‘हाम्रो पहिलो लक्ष्य प्ले अफ हो । त्यसपछि उपाधितर्फ लम्कनेछौँ,’ उनले भने । पहिलो संस्करणबाटै उनी सफल प्रशिक्षकका रूपमा स्थापित भए । ‘गत वर्षको अनुभवका आधारमा पुराना गल्तीलाई सच्याउने प्रयास गरेका छौँ,’ ज्ञानेन्द्रले भने, ‘सबै खेलाडी एक–आपसमा राम्रोसँग घुलमिल भइसकेका छन् ।’
मोन्टी देसाई (काठमाडौं गोर्खाज)
मोन्टी देसाईको राम्रो पक्ष ‘ह्याप्पी ड्रेसिङ’ रुम हो । अर्थात् खेलमैदानमा जस्तो नतिजा आए पनि ड्रेसिङ रुमसम्म पुग्दा खुसी हुनुपर्छ । देसाईले खेलाडीलाई ड्रेसिङ रुमभित्र निराश बन्न नहुने, एकले अर्कालाई सहयोग गर्नुपर्ने र खुसीका साथ अर्को खेलमा तयार हुनुपर्ने गुरुमन्त्र दिएका थिए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकका रूपमा कार्यरत रहँदा उनले यही नै रणनीति कायम राखे । यसको प्रतिफल नेपालले पहिलोपटक आइसिसी एकदिवसीय विश्वकपको ग्लोबल छनोट, एसिया कप तथा १० वर्षपछि दोस्रोपटक आइसिसी टी–२० विश्वकपमा स्थान बनायो । दुई वर्ष नेपाली टोली हेर्दा उनले नेपाली खेलाडी र समर्थकबाट नसोचेको माया पाएका छन् । अहिले पुन: एकपटक उनी प्रशिक्षकका रूपमा एनपिएलका माध्यमबाट जोडिएका छन् । काठमाडौंले उनलाई मुख्य प्रशिक्षक जिम्मेवारी सुम्पिएर नेपालमा पुनरागमन गराएका छन् । सबैभन्दा राम्रो पक्ष भनेको देसाई त्रिवि मैदानको पिचबारे परिचित छन् । यसपटक काठमाडौंले विदेशीदेखि अक्सनमा घरेलु खेलाडी भित्र्याउँदै सन्तुलित टोली बनाएको छ । ‘यस मैदानमा हामीले बुझेअनुसार रणनीति बनाउने हो,’ उनले भने, ‘पहिलो रणनीति अपनाएर प्लान बी लागू गर्नुपर्छ ।’ गत सिजनमा पाँचौँ स्थानमा रहेर काठमाडौंले एनपिएल सकाएको थियो ।
पुबुदु दासानायेके (विराटनगर किंग्स)
विराटनगर किङ्सले गत सिजनको उपाधि विजेता प्रशिक्षक पुबुदुलाई अप्रत्याशित रूपमा यसपटक मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । यसपटक पुबुदुसमक्ष अवसरसँगै चुनौती थपिएको छ । पहिलो, जनकपुरलाई जस्तै विराटनगरलाई एनपिएलको च्याम्पियन बनाउनुपर्छ । दोस्रो भनेको उपाधि जित्दा लगातार दुई संस्करणको विजेता प्रशिक्षकका रूपमा उनले रेकर्ड बनाउनेछन् । वास्तवमा पुबुदु एसोसिएट क्रिकेटका उत्कृष्ट प्रशिक्षक हुन् । अहिले उनी अमेरिकी राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक हुन् । उनकै प्रशिक्षणमा अमेरिकाले आइसिसी विश्वकप लिग–२ मा उत्कृष्ट नतिजा निकाली शीर्ष स्थान कब्जा जमाएको छ । यसपटक अमेरिकाको विश्वकपको ग्लोबल छनोट पक्का हुनुका साथै चार वर्षका लागि एकदिवसीय मान्यता पनि लगभग सुरक्षित भइसकेको छ । नेपालको क्रिकेट इतिहासमा पुबुदु पनि सफल प्रशिक्षक हुन् । उनकै प्रशिक्षणमा नेपालले पहिलोपटक आइसिसी टी–२० विश्वकप खेलेको थियो । नेपाली खेलाडीको मानसिकता र क्षमतासँग राम्रोसँग परिचित पुबुदु र मार्की खेलाडी सन्दीप लामिछानेबिचको सहकार्य गज्जबको हुनेछ । यी दुवैले यसपटक विराटनगरलाई बलियो दाबेदारका रूपमा प्रस्तुत गर्नेछन् ।
राजीव कुमार (पोखरा एभेन्जर्स)
पहिलो संस्करणमा पोखरा सबैभन्दा खर्चिलो फ्रेन्चाइज टोली बनेको थियो । यद्यपि, पोखराले एनपिएलमा सोचेजस्तो नतिजा भने निकाल्न सकेन । पोखराले पुन: एकपटक राजीवमाथि नै विश्वास गरी दोस्रो संस्करणको पूरै प्रशिक्षणको जिम्मेवारी सुम्पिएको छ । अर्थात् उनी दोस्रोपटक पोखराकै मुख्य प्रशिक्षकका रूपमा एनपिएलमा देखिनेछन् । गत सिजन सातौँ स्थानमा रहेको पोखरालाई यसपटक नतिजा सुधार गर्नुपर्ने दबाब रहेको उनले बताए । पहिलो सिजन स्थानीय खेलाडीको प्रदर्शन राम्रो हुन सकेको थिएन । यसपटक स्थानीय खेलाडीमा बढी केन्द्रित भएर उनले प्रशिक्षण गराइरहेका छन् । दोस्रो एनपिएलमा गतिलो नतिजा निकाल्न उनले टोलीलाई भारतमै प्रशिक्षण गराइरहेका छन् । पहिलो सिजनका केही खेलाडी रिटेन भएका छन्, जसले राजीवको उनीहरूसँग काम गर्ने क्षमता पनि राम्ररी जानेका छन् ।
टिनु योहान्नान (लुम्बिनी लायन्स)
राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनीले भारतका टिनुलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । उनलाई एउटा प्लस प्वाइन्ट भनेको भारतका पूर्वखेलाडी रोबिन सिंहले साथ दिनेछन् । यसपटक रोबिन लुम्बिनीको मेन्टरका भूमिकामा रहनेछन् । टिनुले पछिल्लो नतिजा नहेर्ने र नयाँ लक्ष्यका साथ अगाडि बढ्ने बताए । ‘गत सिजन समाप्त भइसकेको छ । हामीले त्यसबाट धेरै पाठ सिकेका छौँ,’ उनले भने, ‘अब नयाँ सिजनमा अवश्य पनि राम्रो गर्नुपर्छ ।’ उनले यसपटक पहिलो लक्ष्य नै प्ले अफ छनोट भएको बताए ।
भारतीय मूलका प्रशिक्षक टिनु योहान्नान पहिलोपटक नेपाली क्रिकेटमा आएका हुन् । उनले दोस्रो सिजनको एनपिएलका लागि लुम्बिनी लायन्सको प्रशिक्षकको भूमिका सम्हाल्नेछन् । नेपालमा आएर हाल टिमसँग प्रशिक्षणमा जोडिइसकेका प्रशिक्षक टिनुसँग भारतको रणजी ट्रफीको अनुभव छ । उनले २०२० देखि ०२३ सम्म केरेला क्रिकेट टोलीका मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । उनकै प्रशिक्षणमा केरेलाले विजय हजारे ट्रफीमा दुईपटक क्वार्टरफाइनल स्थान बनाएको थियो । भारतीय राष्ट्रिय टोलीका पूर्वतीव्र गतिका बलरसमेत रहेका टिनुले भारतका लागि समान तीन टेस्ट र तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।