रावललाई नेपाली कम्युनिस्ट पार्टीमा छैटौँ वरीयता, जिम्मेवारी टुंगिन बाँकी

बिहिबार, २८ कार्तिक, २०८२
डिजिटल संस्करण

एमाले छाडेका भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेपाली कम्युनिस्ट पार्टीमा समायोजन भएको छ । राष्ट्रिय सभागृहमा बुधबार आयोजित पार्टी समायोजन कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाललगायतले खादा र माला लगाएर रावललगायतलाई पार्टीमा स्वागत गरे । रावल नेकपामा छैटौँ वरीयतामा रहनेछन् । उनको जिम्मेवारी टुंगिन बाँकी रहेको नेताहरूले बताएका छन् ।

प्रमोद यादवको नेकपा श्रमजीवी पार्टी पनि नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ । एमाले केन्द्रीय सदस्य प्रकाश साहलगायत नेता तथा कार्यकर्ता पनि नेकपामा प्रवेश गरेका छन् । 

समायोजनअघि प्रचण्ड, नेपाल र रावलले सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने सहमति छ । महाधिवेशनको मिति र स्थान भने तोकिएको छैन । महाधिवेशनमार्फत एकीकृत पार्टीको संरचना, नीति तथा नेतृत्वलाई संस्थागत गरिने सहमति छ । पार्टी सञ्चालनका सन्दर्भमा लोकतान्त्रिक मान्यता, सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको सिद्धान्तलाई अंगीकार गर्ने उल्लेख छ ।

नेपाल र नेपाली जनताको सर्वोपरि हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता र आत्मनिर्णयको अधिकारको संरक्षण गर्ने प्रतिबद्धता नेताहरूले जाएका छन् । बाह्य हस्तक्षेप र दबाबमुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र र संस्कृतिको मार्गमा अघि बढ्ने सहमति छ । समाजवाद र सामाजिक न्यायमा आधारित आर्थिक–सामाजिक रूपान्तरण र समृद्धिको अभियानलाई अघि बढाउने प्रतिबद्धता नेताहरूले गरेका छन् ।

सहमतिसँगै मातृभूमि जागरण अभियानअन्तर्गतका सबै तहका नेता तथा कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । पार्टीको विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रमलगायत दस्ताबेज संयुक्त रूपमा तयार पार्ने र पार्टी एकीकरणलाई सहज बनाउन आवश्यकताअनुसार विभिन्न तहमा कार्यदल गठन गर्ने सहमति पनि भएको छ । 

नेकपा संयोजक प्रचण्डले राष्ट्र बचाउनुपर्ने ऐतिहासिक आवश्यकतालाई ध्यानमा राखेर एकता गरिएको बताए । एकता तत्काल निर्वाचन जित्नका लागि मात्रै नभएको उनको दाबी छ । देशमाथि इतिहासमा यति ठुलो संकट कहिल्यै नपरेको उनले बताए । ‘सुगौली सन्धिपछिको स्थिति हेर्ने हो भने देश अहिले असाधारण संकटमा छ । इतिहासमा यति संकटमा सायद कहिल्यै परेको थिएन देश । राष्ट्र बचाउनुपर्ने ऐतिहासिक आवश्यकतालाई मध्यनजर गरेर एकता गरिएको हो । एकता गरिहालौँ चुनाव जित्नका लागि भनेर होइन,’ उनले भने ।

जेन–जी आन्दोलनले आफैँलाई बदल्न धक्का दिएकाले पनि छिटो एकतामा पुगिएको उनले बताए । राष्ट्रको आवश्यकता र जेन–जी विद्रोहको समीक्षाका आधारमा एकता भएको उनले बताए ।  कम्युनिस्ट एकतालाई टिकाइराख्ने जिकिर उनले गरे । अघिल्लोपटकको एकता एमाले अध्यक्ष केपी ओलीको अहंकार र दम्भले नदिएको उनले दाबी गरे । 

सहसंयोजक नेपालले नेपाली कम्युनिस्ट पार्टी गठनले नेपाली राजनीतिमा तरंग लाएको भन्दै बलियो पार्टी बनाएरै छाड्ने जिकिर गरे । एकता प्रक्रिया अझै नरोकिने उनले बताए । ‘कतिको होस–हवास गुमेको हुन सक्छ । होस गुमाएर गालीगलौजमा उत्रिनुपर्ने आवश्यक छैन । बरु हामीलाई धन्यवाद दिनुस् । मैले त बिगारे तपाईंहरूले सपार्नुभयो भनेर धन्यवाद प्रस्ताव पास गरे हुन्छ,’ उनले भने । 

नेता रावलले राष्ट्रिय स्वाधीनतालाई बलियो बनाउन नेकपामा लागेको बताए । राष्ट्रियता, जनजीविकाको विषय सशक्त रूपमा उठाउने उनले दाबी गरे । एमाले अध्यक्ष ओलीतर्फ लक्षित गर्दै रावलले अहंकार र सत्ता स्वार्थकै कारणले विगतमा नेकपा नटिकेको दाबी गरे । ‘एकजनाको सत्ता स्वार्थ, अहंकार विरोधी राजनीतिक दलसँग मिलेर भए पनि सत्तालिप्सामा पुगेर ढलेको त्यो नेकपाको इतिहासलाई म स्मरण गरिरहेको छु । दुईतिहाइका प्रधानमन्त्रीले एउटा अँध्यारो कोठामा विदेशी गुप्तचरसँग कुराकानी गर्नुभयो । त्यसको दुई दिनपछि प्रतिनिधिसभा विघटन गर्नुभयो,’ रावलले स्मरण गरे, ‘सर्वोच्च अदालतले संविधानविपरीत भन्यो । त्यो कुरा पनि सुन्नुभएन, दोस्रोपटक फेरि प्रतिनिधिसभा विघटन गर्नुभयो । नेपालको कम्युनिस्ट आन्दोलनमा यति ठुलो धोका, यति धेरै गद्दारी अरू के हुन सक्छ ।’

नेता प्रकाश शाहले मौसम बदलिए पनि ओलीको अहंकार नबलिएका कारण एमाले परित्याग गरेर नेकपामा आबद्ध भएको बताए । ‘देशमा ऋतु बद्लिए, मौसम बद्लिए, नदीले पनि बहाव बदलेको छ, तर केपी ओलीको अहंकर बदलिएको छैन, दम्भ बदलिएको छैन । हुँकार बदलिएको छैन,’ उनले भने ।
 

सुझावित समाचार