धनगढीको उत्तरबेहडीबाट ९५ लाखभन्दा बढी मूल्यको मोबाइल पार्टससहित दुईजना नियन्त्रणमा

बुधबार, २७ कार्तिक, २०८२
डिजिटल संस्करण

कैलालीकाे धनगढी उपमहानगरपालिका– ४, उत्तरबेहडी इलाकाबाट करिब ९५ लाख पाँच सय ५० रुपैयाँबराबरको मोबाइल पार्टससहित दुईजनालाई  प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकाहरू सोही उपमहानगरपालिका– १९, खेदा बस्ने ३३ वर्षीय सन्तोष चौधरी र शिवपार्वती ट्रेड एन्ड सप्लायर्सका सञ्चालक भारत घर बताउने २५ वर्षीय आशुतोषकुमार गुप्ता छन् ।

चौधरीले सुदूरपश्चिम प्रदेश ०१–००८ प ५१३२ नम्बरको मोटरसाइकलमा राखी भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको नाै लाख आठ हजार रुपैयाँबराबरको मोबाइलका पार्टससहित उनलाई सुदूरपश्चिम प्रदेश एपिएफ इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरले नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएका चौधरीले भारतबाट अवैध रूपले ल्याएको मोबाइलका पार्टस् सोही ठाउँमा रहेको शिवपार्वती ट्रेड एन्ड सप्लायर्समा दिने गरेको बताएका थिए। सोपश्चात् प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर र भन्सार कार्यालयका कर्मचारीको संयुक्त टोलीले स्टोरमा छापा मारेर बिलबिजक नभएको ८४ लाख ४२ हजार पाँच सय ५० रुपैयाँबराबरको मोबाइल पार्टसहित सप्लायर्सका सञ्चालक आशुतोषकुमार गुप्तालाई समेत नियन्त्रणमा लिएको हो।    

नियन्त्रणमा लिइएका सामान तथा मोटरसाइकलसहित दुवैजनालाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको  डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

See More On

सुझावित समाचार