शिवम् सिमेन्ट र हिमाल आइरनले पनि बुझाए बक्यौताको किस्ता

१७ उद्योगले तिरे किस्ता, अब १७ उद्योगको बाँकी

मंगलबार, २६ कार्तिक, २०८२
डिजिटल संस्करण

धेरै बक्यौता हुने उद्योगीको सूचीमा तेस्रो स्थानमा रहेको शिवम् सिमेन्टले विद्युत् प्राधिकरणलाई पहिलो किस्ताबराबरको रकम भुक्तानी गरेको छ । ६६ करोड ८९ लाख बक्यौतालाई २८ किस्तामा विभाजन गरी शिवम् सिमेन्टले दुई करोड ३८ लाखबराबरको पहिलो किस्ता बुझाएको हो । हेटौँडामा सञ्चालित शिवम् सिमेन्टले विगतमा बक्यौता तिर्न आनाकानी गर्दै आए पनि सोमबार पहिलो किस्ता बुझाएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले तोकेको समयमा बक्यौता नतिरेपछि ४ कात्तिकमा उद्योगको लाइन काटिएको थियो । 

यो उद्योग धेरै बक्यौता हुनेमा तेस्रो नम्बरमा छ । पहिलो नम्बरमा रहेको जगदम्बा स्टिलको एक अर्ब ६० करोड र दोस्रो नम्बरमा रहेको रिलायन्स स्पिनिङ मिल्स ७५ करोड ३७ लाख बक्यौता छ । रिलायन्स स्पिनिङ मिल्सले पनि बक्यौता तिर्न सुरु गरिसकेको छ । जगदम्बा स्टिलमा भने लाइन काटिएकै अवस्था छ । यस्तै, हिमाल आइरन एन्ड स्टिलले पनि आइतबार बक्यौताको पहिलो किस्ता तिरेको छ । हिमाल आइरन एन्ड स्टिलको १३ करोड ६५ लाख रुपैयाँ बक्यौता छ । त्यसपछि उद्योगमा लाइन जोडिएको छ । 

यद्यपि, उद्योगीहरूले यसलाई किस्ताका रूपमा नभएर धरौटीका रूपमा भुक्तानी गरेको बताएका छन् । गत साता प्रधानमन्त्री कार्यालयमा उद्योगीले धरौटीका रूपमा पहिलो किस्ता तिरेपछि लाइन जोड्ने र न्यायिक प्रक्रिया अघि बढाउने सहमति भएको थियो । त्यसपछि केही उद्योगीले धरौटी भन्दै पहिलो किस्ता तिरेका छन् । तर, प्राधिकरणले भने किस्ताकै रूपमा बक्यौता बुझेको बताउँदै आएको छ । 

यसमा द्विविधा भएपछि गत शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सहमतिका आधारमा बक्यौता असुल गर्न सहजीकरणका लागि ऊर्जा मन्त्रालयलाई पत्र पठाएको छ । 

प्राधिकरणमा भने हालसम्म त्यस्तो पत्र आइनपुगेको कार्यकारी निर्देशक मनोज सिलवालले बताए । ‘हामीलाई तालुक निकायबाट कुनै लिखित पत्र आएको छैन । लिखित पत्र आएपछि त्यहीअनुसार निर्णय गर्न सकिन्छ होला,’ उनले भने, ‘अहिले किस्ताकै रूपमा बक्यौता असुल गरेका छौँ । पछि न्यायिक प्रक्रियामा हुने निर्णयका आधारमा त्यसलाई समायोजन गर्न सकिन्छ ।’

योसँगै लाइन काटेपछि किस्ता तिर्न सुरु गर्ने उद्योगको संख्या १४ पुगेको छ । यीसहित किस्ता तिर्न सुरु गर्ने उद्योग संख्या भने १७ पुगेको छ । तीन उद्योगले लाइन नकाट्दै पहिलो किस्ता तिरेका थिए । बक्यौता नतिर्ने कुल २५ उद्योगमा लाइन काटिएको थियो । अहिले ११ उद्योगमा लाइन काटिएकै अवस्था छ । 

बक्यौता नतिर्ने ३४ मध्ये तीन उद्योगले मात्रै तोकिएको म्यादभित्र पहिलो किस्ता तिरेका थिए । त्यसपछि प्राधिकरणले अदालतबाट अन्तरिम आदेश पाएका ६ बाहेक २५ उद्योगमा ४ र ७ कात्तिकमा गरेर लाइन काट्यो । लाइन काटिएपछि १४ उद्योग बक्यौता तिर्ने प्रक्रियामा आएका छन् भने अब ११ उद्योगमा लाइन नै काटिएको अवस्था छ । अदालतबाट अन्तरिम आदेश पाएका कारण कारबाहीबाट बचेका ६ उद्योगसहित अब १७ उद्योग बक्यौता तिर्ने प्रक्रियामा आउन बाँकी छ । 

See More On

सुझावित समाचार