धनगढी । कैलालीमा वर्षाले धानबालीमा क्षति पुगेको छ । पाकेर काट्ने तयारीमा रहेको धान तथा काटेर खेतबारीमै राखिएको धानमा सोमबार राति र बुधबार बिहान परेको वर्षाले क्षति पुगेको हो । पाकेको धानमा वर्षाका कारण पाँच–सात प्रतिशतसम्म क्षति पुगेको कृषि ज्ञान केन्द्र कैलालीको अनुमान छ ।
धनगढी बोराडाँडीकी कलसादेवी धानुकले तीन दिनअघि काटेर सुकाउन राखेको १० कट्ठा जमिनको धान खेतमै डुबानमा परेको छ। धानमा क्षति पुगेपछि उनी कसरी गुजारा चलाउने भन्ने चिन्तामा छिन् । ‘रोपेको सबै धान काटेर खेतमै थियो । वर्षाले डुबानमा परेको छ,’ उनले भनिन्, ‘आम्दानीको अरू बाटो छैन । लगाएको धान पनि भित्र्याउन नपाएपछि कसरी गुजारा गर्ने भन्ने चिन्ता छ ।’
बोराडाँडकीकै डम्बरा बिष्ट बुधबार दिउँसो खेतमा जमेको पानी मिडा काटेर निकासको प्रयास गरिरहेकी थिइन् । उनको पाँच कट्ठा जमिनकाे काटेर सुकाउन राखेको धान डुबानमा परेको छ। खेतमा पानी जमेकाले धान उठाएर अन्यत्र राख्ने ठाउँ छैन। ‘यत्रो धान उठाएर कहाँ राख्नु । मिहिनेत र लगानी सबै खेर जाने भयो,’ उनले भनिन्।
पानी जमेकाले काटेको धान खेतमै उम्रने र सड्ने भएकाले किसान चिन्तामा छन्। धान जोगिइहाले पनि गुणस्तर राम्रो नहुने पीडित किसान बताउँछन् । काटेर खेतमा सुकाउन राखेको धानमा पानी भरिएको छ । डुबानका कारण परालमा समेत क्षति पुगेको किसानले बताएका छन् ।
मौसम तथा जलवायु कार्यालय अत्तरियाका अनुसार बुधबार बिहानदेखि दिउँसोसम्म यहाँ ४७.४ मिलिमिटर वर्षा मापन भएको छ । त्योभन्दा अघिल्लो २४ घण्टामा ४.५ मिलिमिटर वर्षा भएको थियो । जिल्लाको घोडाघोडी क्षेत्रमा बुधबार केहीबेर असिनासमेत परेको थियो । वर्षा भोलिसम्म हलुका वर्षा हुने पूर्वानुमान रहेको कार्यालय प्रमुख अखिलेखप्रसाद चौरासियाले जानकारी दिए । वर्षाको सम्भावना कायम रहेकाले किसानलाई अझै एक–दुई धान नकाट्न कार्यालयले किसानलाई आग्रह गरेको छ
कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा करिब १५ प्रतिशत धान काटिएको छ । मेसिन प्रयोग गरेर धान काटेका किसानले भने धान भित्र्याइसकेका ज्ञान केन्द्रले जनाएको छ । काटेर खेतमा सुकाउन राखेको तथा पाकेको धानमा वर्षाले क्षति गरेको कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि प्रसार अधिकृत टेकबहादुर विष्टले बताए ।
उनका अनुसार कैलालीमा रोपेको करिब ६० प्रतिशत धान अहिले पाकेको छ । किसान धान काटेर भित्र्याउन थालेका थिए । ‘पाकेको धान कतिपय ठाउँमा वर्षाले ढलेको छ। कहीँ काटेर खेतमै डुबानमा परेको छ,’ उनले भने, ‘मेसिनहरू प्रयोग गरेर धान काटेका किसानले भने भित्र्याउन पाएका छन्।’ वर्षाले धानबालीमा क्षति पुगेकाले जिल्लाको समग्र उत्पादनमा केही कमी आउने कृषि प्राविधिकहरूले बताएका छन्।
धान उत्पादनको पकेट क्षेत्रको रूपमा रहेको कैलालीमा करिब साढे ६३ हजार हेक्टरमा धानी खेती हुने गरेको कृषि ज्ञान केन्द्रको अनुमान छ । यहाँ प्रतिहेक्टर उत्पादकत्व ४.७ मेट्रिकटन रहेको वरिष्ठ कृषि प्रसार अधिकृत विष्टले जानकारी दिए ।