नवलपुरको कावासोती– २ स्थित कावासोती हाटबजारमा बिक्रीका लागि राखिएको काउलीमा विषादी अत्यधिक मात्रामा भेटिएपछि जफत गरेर नष्ट गरिएको छ। कावासोती हाटबजारमा रहजरका किसान बन्चु मियाँले बिक्रीका लागि पठाएको काउलीमा ९८.८५ प्रतिशत विषादी भेटिएको हो।
सोमबार हाटबजारमा बिक्रीका लागि ल्याइएको तरकारीहरूको विषादी चेकजाँचको क्रममा उनले उत्पादन गरेर बजारमा पठाएको काउलीमा उपभोक्ताले खानै नमिल्ने गरी विषादी पाइएपछि जफत गरिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ नवलपुरका नायब प्राविधिक सहायक वीरेन्द्र भण्डारीले बताए। सोमबार उनले बजारमा पठाएको १५१ किलो काउली बरामद गरी नष्ट गरिएको हो।
३५ प्रतिशतभन्दा कम विषादी देखिए मात्र उपभोग योग्य हुने वीरेन्द्र भण्डारीले जानकारी दिए। त्यसैगरी केही दिनअघि रजहरकै अर्का किसान महमत अन्सुरले बिक्रीका लागि बजार पठाएको काउलीमा पनि विषादी देखिएपछि नष्ट गरिएको थियो। उनले उत्पादन गरेको काउली आज परीक्षण गर्दा अझै ४१.४१ प्रतिशत विषादी देखिएपछि अझै केही दिन नटिप्न भनिएको उनले बताए।
यसअघि बजारमा बोडी र काँक्रोमा पनि विषादी भेटिएपछि नष्ट गरिएको थियो। कावासोतीमा एक वर्षअघि विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ स्थापना गरिएपछि बजारमा आएका तरकारीहरू बिहान ६ बजे संकलन गरी आठ बजेभित्र रिपोर्ट आएपछि विषादी देखिएका तरकारीहरू जफत गरी नष्ट गर्ने गरिएको छ।