- एन्फा र १४ क्लबको सोमबार बसेको बैठकले ०७९ देखि हुन नसकेको लिगको सट्टा राष्ट्रिय लिग गर्ने निर्णय गरेको थियो
राष्ट्रियस्तरका खेलाडीहरूले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता खेल्न अझै थप १४ महिना प्रतीक्षा गर्नुपरेको छ । गत वैशाखमा अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारणसभाले आगामी ९ पुसमा होम एन्ड अवे अवधारणाअनुरूप ‘ए’ डिभिजन लिग हुने पारित गरेको थियो । तर, एन्फाले तयारी नपुगेको र आर्थिक अभावले लिग घोषित मितिमा गर्न नसकिने बतायो ।
सहभागी १४ क्लबहरूले होम एन्ड अवे आधारमा हुने लिगमा आफूहरू सहभागी हुन नसक्ने जनाएका थिए । नवनियुक्त खेलकुदमन्त्री बब्लु गुप्ताले सहिद स्मारक ‘ए’ डिभिजन लिगको बारेमा चासो राखेपछि एन्फाले सोमबार १४ क्लबका पदाधिकारीसँग सहमति गर्दै यस वर्ष ‘ए’ डिभिजन नभएर राष्ट्रिय लिग गर्ने सहमित गर्यो । यसै वर्ष घोषित लिग हुनुपर्ने अडान राखेका क्लबहरूले एन्फासँग ०८३ को पुसमा ‘ए’ डिभिजन लिग आयोजनाका लागि सहमति जनाए ।
एन्फा र क्लबबिचको सहमतिपछि अधिकांश राष्ट्रियस्तरका खेलाडीले निर्णयको विरोध गरेका छन् । ‘ए’ डिभिजन लिगको आशामा बसेका खेलाडी यो वर्ष राष्ट्रिय लिग मात्र हुने भएपछि मंगलबार विरोधमा उत्रिएका हुन् । राष्ट्रिय टोलीका खेलाडीहरू अनन्त तामाङ, अञ्जन विष्ट, एरिका विष्ट तथा रोहित चन्दले सोसल मिडियाबाटै पछिल्लो निर्णयप्रति सीधै विरोध गरेका छन् । यसअघि नेपाल फुटबल खेलाडी संघले मंगलबारै एन्फा र क्लबबिच भएको सहमतिको विज्ञप्ति निकालेर विरोध गरेको थियो ।
तीन वर्षअघि सम्पन्न लिगमा चर्च ब्वाइजलाई आफ्नो कप्तानीमा उपाधि दिलाएका अनन्तले खेलाडीलाई जिउँदै मार्ने काम नगर्न आग्रह गरेका छन् । ‘हामी खेलाडीलाई जिउँदै नमार्नुहोस्,’ उनले भने, ‘हामी खेलाडीको अभिभावक संस्था एन्फाले क्लबसँग मिलेर एक विज्ञप्तिमार्फत अझै १३ महिना लिग नहुने घोषणा गर्यो । म आफू ‘ए’ डिभिजन लिगको साबिक विजेता चर्च ब्वाइजका कप्तान तथा सो लिगको सर्वोत्कृष्ट खेलाडी पनि हुँ,’ अनन्तले भने, ‘सामान्य अवस्था हुन्थ्यो भने म त्यसपछि अझै दु्ई संस्करणको लिगमा उपाधि जोगाउन वा जित्न खेलिरहेको हुन्थेँ, तर त्यो सौभाग्य मैले पाउन सकिनँ ।’
राष्ट्रिय टोलीका एट्याकिङ मिडफिल्डर रोहितले लिग नभएका कारण खेलाडीहरू बाध्य भएर विदेश पलायन भइरहेको बताए । ‘ए डिभिजन लिग अझै कतिपटक सर्ने हो ? खेलाडीहरू रहरले विदेश पलायन भएका होइनन्, अव्यवस्थित र दूरदृष्टिविहीन प्रणालीका कारणले गर्दा हो,’ चन्दले सोसल मिडियामा भनेका छन्, ‘अब अर्को वर्ष बल्लतल्ल लिग होला, तर बी र सी डिभिजनका खेल कहिले हुन्छ ? लिगको प्रतीक्षामा रहेका अधिकांश खेलाडी अन्तत: बिदेसिन बाध्य हुने नै भए त ?
हरि खड्का र नीराजन रायमाझीसँगै राष्ट्रिय टोलीबाट कीर्तिमानी रूपमा १३ गोलका बराबरी गरेका अञ्जन विष्टले पुन: एकपटक लिग नहुने भएपछि आफूहरू दु:खी भएको बताएका छन् । यसअघि विष्टले लिग सञ्चालन हुँदा साढे दुई वर्षको प्रतीक्षा समाप्त हुने भन्दै खुसी जनाएका थिए । ‘झन्डै साढे दुई वर्ष ‘ए’ डिभिजनविहीन भएर बसेका हामी ‘ए’ डिभिजन खेल्न योग्य रहेका खेलाडी मैदानमा रमाउने र आफ्ना आवश्यकता परिपूर्ति गर्ने अवसर पाउने भएका छन्,’ उनले भनेका थिए, ‘तर अब यो अर्को वर्ष मात्र हुने भएको छ ।’
खेलाडी खेल्नबाट वञ्चित
खेलाडी संघका अध्यक्ष विक्रम लामाले लिगको साइकल पूरा नहुँदा खेलाडीहरू वार्षिक रूपमा खेल्न पाउने अधिकारबाट वञ्चित भएको बताएका छन् । लामाले विज्ञप्तिबाट एन्फा र क्लबबिचको सहमतिले खेलाडीहरू अवसरबाट वञ्चित भएको जनाए । ‘एन्फाले गर्ने भनेको राष्ट्रिय लिगमा १० टोली मात्र सहभागी हुने र यसले नेपाली फुटबल वृत्तमा रहेका अधिकांश खेलाडीका लागि पर्याप्त अवसर नहुने हाम्रो बुझाइ हो,’ लामाले भने, ‘एन्फाले नेपालमा लिग नगर्दा यसले ए डिभिजनका १४, ‘बी’ डिभिजनका १४ क्लब र सी डिभिजनका १४ गरी कुल ४२ क्लबको उपस्थिति पुन: अर्को वर्ष नहुने पक्का भएको छ । यसो हुँदा हरेक क्लबबाट न्यूनतम ३० र अधिकतम ५० गर्दा १२५० देखि २१०० खेलाडी अर्को एक वर्ष खेल्नबाट वञ्चित भएका छन् ।’
राष्ट्रिय लिगमा केन्द्रित एन्फा
एन्फाले यस वर्ष राष्ट्रिय लिग आयोजना गरेर लिगको चक्र पूरा गर्ने जनाएको छ । त्यसमा पनि ०७९ को लिगका शीर्ष ६ क्लब मात्रै प्रतिस्पर्धा गर्न पाउने छन् । बाँकी टोलीहरू हेटौँडामा आयोजना हुने एन्फा प्रेसिडेन्ट कपबाट आउनेछन् । राष्ट्रिय लिगमा रेलिगेसनको व्यवस्था छैन । चर्च ब्वाइज, मच्छिन्द्र, नेपाल पुलिस, जावलाखेल, सातदोबाटो र न्युरोड टिम (एनआरटी)जस्ता क्लब रेलिगेसनमा पर्नेछैन । हेटौडामा हुने एन्फा प्रेसिडेन्ट लिगको सेमिफाइनलमा पुग्ने चार टोली गरी १० टोलीबिच राष्ट्रिय लिग गराउने सहमति भएको थियो । राष्ट्रिय लिगमा बाँकी आठ ‘ए’ डिभिजन क्लबले प्रतिस्पर्धा गर्न पाउनेछैनन् । चर्च–ब्वाइजका कप्तान अनन्तले क्लबका प्रतिनिधिहरूसँग लिग आयोजनाको आग्रह गरेका छन् ।