आइतबार दोहोरो अंकले बढेको नेप्से परिसूचक सोमबार सामान्य अंकले घटेको छ। नेप्से ८.२४ विन्दु (०.३१ प्रतिशत)ले घटेर दुई हजार ६२२.८९ विन्दुमा कायम भएको छ। आज ‘क’ वर्गका कम्पनीको कारोबार मापक ‘सेन्सेटिभ इन्डेक्स’ पनि ०.१८ प्रतिशतले घटेको छ।
सोमबार ३३३ कम्पनीका एक करोड २१ लाख ८५ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ६ अर्ब पाँच करोड २२ लाख २६ हजार रुपैयाँको सेयर कारोबार भएको छ। आज कारोबार रकममा समेत गिरावट भएको हो। अघिल्लो दिन नौ अर्ब २० करोड ३१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।
आज नेप्सेका १३ मध्ये ६ समूहको सूचक एक प्रतिशतभन्दा कमले बढ्दा बाँकी घटेका छन्। विकास बैंक, होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड, अन्य र व्यापार समूहमा वृद्धि भएको हो। सर्वाधिक घटेका जलविद्युत् र जीवन बिमामा एक प्रतिशतभन्दा धेरैको गिरावट देखिएको छ।
बजार घटे पनि आज मुक्तिनाथ कृषि कम्पनी, एक्सेल डेभलपमेन्ट बैंकले नौ प्रतिशतभन्दा धेरै आर्जन गरेका छन्। तर, इस्टर्न हाइड्रोपावरको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ। सामुदायिक लघुवित्त र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स पनि क्रमशः सात र पाँच प्रतिशतभन्दा धेरैले ओरालो लागेका छन्।