काठमाडौं महानगरपालिकाका ५६ हजार ६६३ जना व्यक्ति स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् । स्वास्थ्य विभागको आर्थिक वर्ष ०८१/८२ को समीक्षाअनुसार अहिलेसम्ममा ५६ हजार ६७३ जना काठमाडौं महानगरवासी स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका हुन्।
यसमा १३ हजार ५७५ जना ज्येष्ठ नागरिक, एक हजार ८५ जना अपांगता भएका व्यक्ति, एचआइभी संक्रमित दुईजनासहितका व्यक्ति छन्। महानगरपालिकाको स्वास्थ्य विभागले आर्थिक वर्ष ०८१/८२ को वार्षिक समीक्षा गर्दै यससम्बन्धी जानकारी दिएको हो । यस वर्ष एक लाख ९४ हजार १९३ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको र उनीहरूमध्ये ८४ हजार ७०४ जनाले बहिरंग सेवा लिएको जनाइएको छ ।
यस वर्ष ३० वटा स्वास्थ्य संस्था दर्ता र नवीकरण भएको छ। महानगरले १२० वटा स्वास्थ्य संस्थाको अनुगमन गरेको छ। जसमा एक हजार ८७ जनाको विपन्न नागरिक उपचार सिफारिस भएको, बेवारिसे, विपन्न र बेसहाराको निःशुल्क उपचारअन्तर्गत २१० जनालाई निःशुल्क उपचार सेवा प्रदान गरेको छ।
नसर्ने रोग स्क्रिनिङ महाअभियानअन्तर्गत २६ हजार १९ जनाको जाँच भएको स्वास्थ्य विभागले जनाएको छ। किशोरीहरूको रक्तअल्पता स्क्रिनिङ कार्यक्रममा दुई हजार तीन सय किशोरीको परीक्षण गरिएको छ। एक हजार दुई सय २२ पिन्ट निःशुल्क रगत र रक्त तत्त्व उपलब्ध गराइएको पनि महानगरले जनाएको छ।