डडेल्धुराको आलिताल गाउँपालिका– ३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहको रकम हिनामिना गरेको आरोपमा समूहका अध्यक्ष सर्वजित मडैविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
किर्ते गरी सामुदायिक वनको कोषबाट १८ लाख १५ हजार रुपैयाँ हिनामिना गरेको अभियाेगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
उपभोक्ता समूहका अध्यक्ष मडैले २०७८/०८/१० गतेको समितिको माईन्युटिङको नक्कली प्रतिलिपि तयार गरी चेकमा किर्ते हस्ताक्षर गरी आफ्नै नाममा २० लाख १५ हजार रकम झिकेको देखिएको अख्तियारले जनाएको छ। उनले २०७८/०८/१६ देखि २०७९/०१/२५ सम्म विभिन्न मितिमा सात वटा चेकबाट साे रकम निकालेका थिए।
यस विषयमा समितिले थाहा पाएपछि अध्यक्ष मडैले २०७९/०२/३० गते दुई लाख रुपैयाँ कोषको खातामा जम्मा गरी बाँकी रकम हिनामिना गरेको आरोपपत्रमा उल्लेख छ।