सौर्य सिमेन्टको चुनढुंगा ढुवानी रोकिएपछि टिपर व्यवसायीद्वारा टायर बालेर प्रदर्शन

बुधबार, २१ असोज, २०८३
डिजिटल संस्करण

उदयपुर । सौर्य सिमेन्टको खानीबाट चुनढुंगा ढुवानी रोकिएपछि ट्रिपर व्यवसायीहरूले सिद्धिचरण लोकमार्गको कटारी नगरपालिका– ४ को सिम्ले बजारखण्डमा टयार बालेका प्रदर्शन गरेका छन् । व्यवसायीहरूले सडकमा टायर बाल्नुका साथै एउटा टिपर सडकमा तेर्स्याएर  राखेपछि सिद्धिचरण लोकमार्गमा केही समय सवारी आवागमन प्रभावित पारेका थिए ।

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी उपेन्द्र खरेलले अहिले सडक खुलाइसकिएको बताए। उनका अनुसार प्रदर्शनकारीले सडकमा टायर बाल्नुका साथै एउटा टिपर तेर्स्याएर  सडक अवरुद्ध गरेका थिए। ‘सिद्धिचरण लोकमार्ग अहिले खुला भइसकेको छ। सडकमा टायर बालेर प्रदर्शन गरिएको थियो। एउटा टिपर तेर्स्याएर  राखिएको छ। त्यसको चालक खोजिरहेका छौँ। भेटिएपछि टिपर पनि हटाउँछौँ,’ उनले भने । 

प्रहरीका अनुसार सौर्य सिमेन्टको चुनढुंगा ढुवानी गर्ने टिपर व्यवसायी र स्थानीयबिचको विवादका कारण सडक अवरुद्ध भएको हो। स्थानीयले खानी क्षेत्रमा चुनढुंगा उत्खनन गर्न नदिन माग गर्दै आएका छन् भने टिपर व्यवसायीले उत्खनन तथा ढुवानी रोक्न नहुने भन्दै विरोध गरिरहेका छन्।

सौय सिमेन्टले कटारी नगरपालिका– ८ गाल्टार क्षेत्रबाट चुनढुंगा उत्खनन गर्दै आइरहेको छ । त्यसमा कटारी नगरपालिका– ७ स्थित मर्जेतपुर टोल विकास संस्थाले सौर्य सिमेन्टको चुनढुंगा ढुवानीका लागि स्थानीय बस्ती हुँदै जाने सडक प्रयोग नगर्न माग आएको छ । उत्खनन क्षेत्र र ढुवानी हुने सडकआसपासका स्थानीय विरोध गरेपछि ढुवानी रोकिएको छ ।

स्थानीयले चुनढुंगा ढुवानीका लागि मरुवा–नैनखाडी–आहालेतर्फको सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न माग गरेको छ। स्थानीयको पर्याप्त सहभागिता र जानकारीविना तयार गरिएको १८ मिटर चौडाइको सडकसम्बन्धी आइइई प्रतिवेदन खारेज गरी प्रक्रिया पुनः अघि बढाउनसमेत माग गरिएको छ।
 

सुझावित समाचार