काठमाडौं/ बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कर्मचारी बढुवा, अध्यादेश सिफारिसलगायत विभिन्न निर्णयहरू गरेको छ। बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले ६ निर्णयहरू सार्वजनिक गरेका हुन्।
हेर्नुस् सार्वजनिक गरिएका निर्णयहरू :
१. राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने,
२. पोर्चुगल सरकारलाई काठमाडौंमा महावाणिज्यदूतावास स्थापना गर्न सहमति दिने,
३. भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, विपतसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशलगायतका अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने,
४. सहसचिव नवीनराज सिंहलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फका राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने,
५. नेपाल प्रशासन सेवा समूहीकरणतर्फका राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव चक्रबहादुर बुढालाई बढुवा गर्ने,
६. नेपाल लेखापरीक्षण सेवा समूहीकरणतर्फ राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा नायब महालेखापरीक्षक चन्द्रकान्त भण्डारीलाई बढुवा गर्ने ।