सुर्खेत । कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालीकोटको शुभकालिका– १ मा पर्ने गगने खोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको हो ।
बुधबार बिहानदेखि पहिरो गएका कारणले कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक अवरुद्ध भएको छ । निरन्तर पहिरो झरिरहेकाले तत्काल पन्छाएर सडक सञ्चालन गर्न सकिने अवस्था नभएको कालीकोटका प्रहरी प्रमुख डिएसपी हिमबहादुर खत्रीले बताए ।
‘पहिरोका कारणले बुधबार बिहानदेखि नै सडक अवरुद्ध भएको छ,’ उनले भने, ‘सुर्खेतबाट आएका गाडी खिड्की ज्युला र दैखोलामा रोकिएका छन् भने माथिबाट सुर्खेतका लागि हिँडेका गाडी कालीकोटको मान्म, हुल्म, खुलालु बजारमा रोकिएका छन् ।’
पहिरो लगातार झरिरहेकोले जेसिभी मेसिन गगने खोलाकै साइडमै भए पनि पहिरो पन्छाउन नसकिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । गगने खोलामा लेदोसहितको पहिराेले सडक अवरुद्ध हुने गरेको छ ।