काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरानिकट भएर शंकास्पद गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका झापाका इनाम सापकोटाविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा म्याद थप भएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई बुधबार जिल्ला अदालत काठमाडौंबाट सम्पत्ति शुद्धीकरणको कसुरमा म्याद थप गरेको हो । यसअघि उनीमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान हुँदै आएको थियो ।
बिचौलियाको काम गरेर अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढेको हो । यद्यपि, अदालतले भने उनलाई एक दिन मात्र म्याद थप गरेको छ । यस्तो मुद्दामा अदालतले म्याद दिएमा दुई महिनासम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिने प्रावधान छ ।
सापकोटाले अदालतका मुद्दाका विषयमा डिल गरेका विवरण भेटिएका छन्। उनको सम्पत्तिसमेत रोक्का गरेर प्रहरीले अनुसन्धान गर्न लागेको हो । हाल सम्पत्ति शुद्धीकरणको कसुर हेर्ने अधिकार प्रहरीलाई समेत दिइएको छ ।
सापकोटाको मोबाइल र ल्यापटपबाट थप प्रमाण संकलनको काम भइरहेको काठमाडौं प्रहरी परिसरका एक अधिकारी बताउँछन् । उनकै मोबाइलमा भेटिएका प्रमाणका आधारमा सरकारले सशस्त्र प्रहरी बलका एआइजी वंशीराज दाहाललाई निलम्बन गरी छानबिन गरिरहेको छ । दाहालले चोेलेन्द्रका लागि सापकोटामार्फत सूचना पठाउने गर्दथे।
उता, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बुधबार चोलेन्द्रनिकट पाँच व्यक्तिको घरमा खानतलासी लिएको छ । उनका भाइ प्रभुशमशेर जबरा, पूर्वन्यायाधीश नवराज थपलिया तथा बिचौलियाको काम गरेको आरोपमा नारायण दाहाल, दीपक तिमल्सिना र नवीनराज बस्नेतको घरमा खानतलासी गरेको हो ।