बंगलादेशका दसौँ लाख प्रवासी आगामी हुने राष्ट्रिय चुनावमा पहिलोपटक मतदान गर्न सक्षम हुने भएका छन् । देशको निर्वाचन आयोगले विदेशमा रहेका आफ्ना नागरिकको चुनावमा सहभागिता सुनिश्चित गर्ने कदम चालेको छ ।
निर्वाचन आयोगका अनुमान आप्रवासी श्रमिकसहित लगभग एक करोड ५० लाख बंगलादेशी प्रवासी खाडी, युरोप, अमेरिका र दक्षिणपूर्वी एसियामा बस्छन् । यो देशको कुल मतदाताको १० प्रतिशतभन्दा बढी हो । विदेशमा बसेका नागरिकको सहभागितालाई सहज बनाउन, निर्वाचन आयोगले ‘पोस्टल भोट बिडी’ नामक एप ल्याउने बताएको छ । एप र हुलाक मतपत्रमार्फत विदेशबाट अब मतदान गर्न सकिने आयोगले बताएको छ ।
जनवरी २००९ मा लागू भएको ‘मतदाता नामावली ऐन’मा टेकेर अहिले विदेशमा रहेका मतदातालाई मतदान गराउने व्यवस्था गरिएको हो । ऐनले विदेशमा बस्ने बंगलादेशी नागरिकलाई उनीहरू अन्तिमपटक बसोवास गरेको क्षेत्र वा उनीहरूको आफ्नै वा पुर्खाको घर रहेको क्षेत्रको बासिन्दाका रूपमा मान्यता दिएको छ ।
नोभेम्बरको पहिलो सातादेखि सार्वजनिक गर्ने तय भएको ‘पोस्टल भोट बिडी’ एपमार्फत विदेशमा रहेका प्रवासीले आफ्नो मतपत्र दर्ता गर्न सक्छन् । सोही एपले उनीहरूको मतपत्रको अवस्थाबारे समेत जानकारी दिनेछ । मतदाताले आफ्नो राष्ट्रिय परिचयपत्र (एनआइडी) नम्बर प्रयोग गरेर एपमार्फत आफ्नो नाम दर्ता गर्न सक्छन् । ‘एनआइडी नम्बरलाई निर्वाचन क्षेत्र निर्धारण गर्न निर्वाचन आयोगको सर्भरसँग लिंक गरिएको छ,’ निर्वाचन आयोगका वरिष्ठ सचिव अख्तर अहमदले भने ।