नेप्से ६२ अंकले बढ्दा साढे चार अर्बको सेयर कारोबार

मंगलबार, ११ कार्तिक, २०८२
डिजिटल संस्करण

मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से ६२.२९ अंकले बढेर दुई हजार ५७१.३४ विन्दुमा कायम भएको हो। नेप्से २.४८ प्रतिशतले बढ्दा ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २.७४ प्रतिशतले बढेको छ।

आज ३१४ कम्पनीका ९२ लाख ४३ हजार कित्ता सेयर ४७ हजारपटक खरिद–बिक्री हुँदा कारोबार रकम चार अर्ब ५७ करोड ३९ लाख ४३ हजार रुपैयाँबराबरमा पुगेको छ। अघिल्लो दिन दुई अर्ब ३६ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।

नेप्सेका १३ समूहमध्ये आज व्यापार समूह ०.७६ प्रतिशतले घट्दा बाँकी सबै समूहको सूचक बढेका छन्। विकास बैंक सर्वाधिक ४.४७ प्रतिशतले उकालो लागेको छ। वित्त, जलविद्युत्, लगानी र जीवन बिमा तीन प्रतिशतभन्दा धेरैले वृद्धि हुँदा होटेल तथा पर्यटन, लघुवित्त र निर्जीवन बिमा दुई प्रतिशतभन्दा धेरैले बढेका छन्।

बढेको बजारमा आज न्यादी हाइड्रोपावरमा सकारात्मक सर्किट लागेको छ। बुटवल पावर कम्पनी, एक्सेल डेभलपमेन्ट बैंक, राधी विद्युत् कम्पनी, लुम्बिनी विकास बैंकका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरै कमाएका छन्।

यता सबैभन्दा धेरै घटेको हिमालयन पावर पार्टनरका लगानीकर्ताले ६ प्रतिशतभन्दा धेरै गुमाएका छन्। युनिलिभर नेपाल, बोटलर्स नेपाल (बालाजु) र महिला लघुवित्तको सेयर मूल्य पनि तीन प्रतिशतभन्दा धेरैले घटेको छ।

सुझावित समाचार