- भारतविरुद्ध १९ खेलमा नेपालले चौथो जित निकाल्यो । कप्तान सावित्रा भण्डारीले समग्रमा भारतको पोस्टमा दश गोल गरेकी छिन् ।
कप्तान सावित्रा भण्डारी चम्किएपछि सोमबार नेपालले त्रिदेशीय फुटबल प्रतियोगिताको अन्तिम खेलमा घरेलु टोली भारतलाई २–१ ले पराजित गरेको छ । भारतको सिलोङमा नेपाललाई जित दिलाउन दुवै गोल कप्तान सावित्राले गरेकी हुन् । उनले पहिलो तथा दोस्रो हाफमा समान एक गोल गरिन् । भारतकी करिश्मा सिरभोइकरले एक गोल फर्काइन् । समग्रमा नेपालले भारतविरुद्धको १९ अन्तर्राष्ट्रिय खेलमा चौथोपटक जित निकालेको हो ।
नेपालेल भारतविरुद्ध १९ अन्तर्राष्ट्रिय खेलमा १४ गोल गर्दा सावित्रा एक्लैले १० गोल गरिसकेकी छिन् । सन् २०२४ दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा हराएको थियो । सन् २०२२ मा रश्मिकुमारी घिसिङको एक मात्रै गोलमा नेपालले भारतलाई निराश बनाएको थियो । सन् २०१९ मा नेपालले पहिलोपटक भारतलाई हिरो गोल्डकपमा पराजित गरेको थियो । पछिल्लो दुवै भेटमा नेपालले भारतलाई पाखा लगाउँदा टोलीकी कप्तान अञ्जिला तुम्बाप्पो सुब्बा थिइन् ।
प्रशिक्षक नवीन न्यौपानेले स्ट्राइकर मीना देउवालाई डेब्यु गराइन् । यसैगरी, पुर्णिमा राई पहिलोपटक राष्ट्रिय महिला टोलीमा परिन् । नेपाल प्रतियोगिताको उपविजेता भएको छ । इरान लगातार दुई खेल जित्दै च्याम्पियन भएको थियो । भारत जितविहीन रह्यो । भारत पहिलो खेलमा इरानसँग २–० र नेपाल पनि इरानसँग ३–० ले नै पराजित भएको थियो । अब, नेपालले भारतसँग अर्काे मैत्रीपूर्ण खेल खेल्नेछ ।
सावित्राले पुर्याइन् ६६ गोल
सन् २०१४ मा राष्ट्रिय टोलीमा डेब्यु गरेकी सावित्राले ६२ खेलमा ६६ अन्तर्राष्ट्रिय गोल गरिसकेकी छिन् । उनी नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा मात्र सर्वाधिक गोलकर्ता हुन् । युरोप तथा न्युजिल्यान्डबाट व्यावसायिक फुटबल खेल्ने पहिलो नेपाली खेलाडी सावित्रा युरोपियन लिगमा ह्याट्रिक गर्ने पहिलो दक्षिण एसियाली खेलाडीसमेत हुन् ।
भारतविरुद्धको प्रतिस्पर्धामा उनले उत्कृष्ट प्रदर्शन गर्न सफल भइन् । भारतको घरेलु मैदानमा नेपालले आक्रामक रूपमा दोस्रो मिनेटमै अग्रता लियो । कप्तान सावित्राले सेन्ट्रल ब्याक विमला विकको लामो पास सदुपयोग गर्दै सुन्दर गोल गरेकी थिइन् । सावित्राले खेलको ६३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल २–० ले अघि रह्यो । उनले डिबक्सअगाडि प्राप्त फ्रिकिकमा उत्कृष्ट गोल गर्न सफल भइन् । सावित्राको प्रहारलाई भारतीय गोलरक्षक इलाङबाम पान्थोई चानुले रोक्न सकिनन् । खेलको ८१औँ मिनेटमा भारतले एक गोल फर्कायो । करिश्माले नेपालको कमजोर डिफेन्समा गोल गरिन् । उनले करिब ३० यार्ड टाढाबाट हानेको बल गोल भएको थियो । खेलको १८औँ मिनेटमा नेपालले गोल व्यहोर्ने सम्भावना टारेको थियो । रतनबला देवीको लामो प्रहार गोलरक्षक अञ्जना रानामगरले पन्च गरेकी थिइन् । नेपालका प्रशिक्षक न्यौपानेले नियमित गोलरक्षक सुब्बालाई विश्राम दिएपछि अञ्जनाले अवसर पाएकी हुन् । खेलको ७५औँ मिनेटमा विमला विकका सुन्दर हेडिङ क्रसबारमाथिबाट बाहिरिएको थियो ।
तीन खेलाडीले पाए मौका
प्रशिक्षक न्यौपानेले युवा स्ट्राइकर मीनालाई भारतविरुद्ध डेब्यु गराए । मीना खेलको ७८औं मिनेटमा रेखा पौडेलको स्थानमा मैदान प्रवेश गरेकी हुन् । नेपाल यू–२० टोलीबाट खेलिसकेकी उनले दोस्रो प्रयासमा स्थान बनाइन् । घरेलु फुटबलमा मीना नेपाल पुलिस क्लबबाट खेल्दै आएकी छिन् । नेपालगन्जमा भएको लुम्बिनी कपबाट मीनाको प्रभाव नेपाली फुटबलमा देखिएको थियो ।
भारतसँगको प्रतिस्पर्धामा तीन नेपाली खेलाडीले अवसर पाएका छन् । इरानविरुद्ध खेलेका तीन खेलाडीले विश्राम पाएका छन् । अञ्जनाले नियमित गोलरक्षक सुब्बाको स्थान लिइन् । लेफ्ट ब्याक मनमाया दमाईं र सेन्ट्रल मिडफिल्डर दीपा शाहीले पनि पहिलो ११ बाट खेल्ने अवसर पाएका थिए । डिफेन्डर हिराकुमारी भुजेलको स्थानमा मनमाया र निशा थोकरको स्थानमा दीपा शाहीले अवसर पाए । यसबाहेक डिफेन्डर समीक्षा घिमिरे, विमला विक र पूजा राना तथा मिडफिल्डर रेनुका नगरकोटे, प्रीति राई, सविता राना, रेखा पौडेल तथा स्ट्राइकर सावित्राले निरन्तरता पाएका थिए ।
हामीले गल्ती सुधार्यौँ : सावित्रा भण्डारी, कप्तान, नेपाल
प्रतियोगिताको अघिल्लो खेलमा हामीले धेरै गल्ती गरेका थियौँ । भारतसँगको खेलमा ती गल्ती सच्याउने योजना थियो । योजनाअनुसार हामीले भारतविरुद्धको प्रतिस्पर्धामा गल्ती सच्यायौँ । उनीहरूको घरेलु मैदानमा जितका लागि केन्द्रित भएर खेल्यौँ । डिफेन्स लाइन बलियो भयो । एकआपसमा नमिलेको तालमेल यसपटक मिल्यो । भारतको डिफेन्सको गल्तीमा गोल भयो । जितबाट म एकदम खुसी छु ।
भारतको भूमिमा नेपाल टोलीमाथि दबाबको अर्थ रहँदैन । हाम्रो लक्ष्य नै जहाँ भए पनि जित निकाल्ने हो । उनीहरूको घरेलु मैदानमा नेपालीहरूबाट समर्थन पायो । भारतीय दर्शकले पनि राम्रो व्यवहार देखाए । उनीहरूका समर्थक कहिलकाहीँ उग्र हुने गर्छन् । भारतले एसियन कप खेल्दै छ । यो प्रतिस्पर्धामा भारतका केही खेलाडी घाइते छन् । हामीविरुद्ध युवा टोलीले प्रतिस्पर्धा गरेको हो । यद्यपि, युवा खेलाडीले पनि राम्रो खेल देखाए । जहाँसम्म एसिया कप छनोट पक्ष थियो । हामीले उज्वेकिस्तानसँग जित्नुपर्ने थियो । अन्तिम समयमा पेनाल्टी सुटमा हामी पराजित भएका थियौँ ।