पक्राउ परेकालाई राजनीतिक दबाबमा छोडेको पीडितको आरोप, तथ्यपरक सूचना सम्प्रेषण गर्न प्रहरीको अपिल

शनिबार, ९ कार्तिक, २०८२
डिजिटल संस्करण

सिराहाको मिर्चैया नगरपालिका-३, राघोपुर छड्की टोलको कुटपिटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेका पाँचमध्ये तीनजनालाई राजनीतिक दबाब र प्रभावको आधारमा छोडेको पीडित पक्षले आरोप लगाएको छ ।

२ कात्तिकको साँझ करिब पौने ८ बजेतिर भएको कुटपिटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेका पाँचमध्ये पूर्ववडाध्यक्ष हरि कुसियैत, किशोर यादव र जगदीश धुरझार यादवलाई राजनीतिक दबाबमा छोडिएको पीडित शिवनन्दन यादवको गुनासो छ। ‘योजनाबद्ध रूपले घरेलु हातहतियारसहित घर घेरा हालेर मेरी श्रीमती, छोरा, बुहारीलाई मरणासन्न हुने गरी कुटपिट गर्दै लुटपाटसमेत गरियो,’ उनले भने, ‘प्रहरीले तत्काल चारजना र भोलिपल्ट एक गरी पाँचजनालाई पक्राउ गरेको भए पनि तीनजनालाई राजनीतिक दबाबमा छोड्यो।’

यस्तो थियो घटना
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार करिब एक महिनाअघि राघोपुर गाउँनजिकै लागेको जितमहान मेलामा मोटरसाइकल चलाएको विषयमा सामान्य विवाद भएको थियो। त्यही विवादको विषयमा २ कात्तिकको साँझ करिब ६ बजेतिर मिर्चैया- १२ स्थित सिक्रौन बजारमा रहेको श्याम इन्टरप्राइजेज नजिक जवाहरप्रसाद यादव, छोरा र भाइहरूसहितले करिब ३० वर्षीय भगवती चौधरीलाई कुटपिट गरेको प्रहरीले जनाएको छ। त्यसको प्रतिक्रियास्वरूप गाउँ फर्किएपछि चौधरीले गाउँलेहरूलाई भेला गराई जवाहरको घर पुगेर पुन: कुटपिट गरेर घाइते बनाएको अनुसन्धानको क्रममा खुलेको प्रहरीको कथन छ।

प्रहरीले घटनाको निष्पक्ष अनुसन्धान गरिरहेको दाबी गर्दै पीडितले दिएको किटानी जाहेरीमा नाम किटान गरिएका र अनुसन्धानको क्रममा नियन्त्रणमा लिइएका व्यक्तिहरूको संलग्नता रहे/नरहेको बारेमा स्थानीय गाउँलेहरूसँग पनि सोधपुछ गरेको जनाएको छ। घटनास्थलमा तीनजना उपस्थित नरहेको, काम विशेषले मिर्चैया आएकाले फर्किनुअघि स्थानीय एक होटेलमा खाजा खाइरहेको खुलेपछि होटेल सञ्चालकको समेत घटना विवरण कागज गरेर छोडिएको प्रहरीको भनाइ छ। ‘छोडिएकाहरूलाई अनुसन्धानको क्रममा आवश्यक परेको खण्डमा उपस्थित हुने गरी तारेखामा छोडिएको हो,’ प्रहरीले भनेको छ। प्रहरीका अनुसार भगवती चौधरी र अशोक यादव अझै नियन्त्रणमै छन्।

प्रहरीले वर्तमान परिस्थितिमा अनुसन्धान जारी रहेकाले समाजमा भ्रम सिर्जना हुने खालका टिप्पणी सम्प्रेषणका कारणले अनुसन्धानमा नकारात्मक असर पर्ने र प्रहरी कर्मचारीको मनोबलमा समेत असर पर्ने हुँदा तथ्यपरक सूचना सम्प्रेषण गरी अनुसन्धानलाई निष्कर्षमा पुर्याउन सहयोगको अपिल गरेको छ। 

घाइतेहरूको उपचार हुँदै 
कुटपिटमा घाइते भएका करिब ६० वर्षीय शिवनन्दन यादव, उनकी श्रीमती ५७ वर्षीया दुर्गीदेवी यादव, ४२ वर्षीय छोरा जवाहरप्रसाद यादव र बुहारी ३७ वर्षीया रिता यादव घाइते छन्। शिवनन्दन र उनकी श्रीमतीको मिर्चैया र छोरा बुहारीको गोलबजारमा उपचार भइरहेको परिवारले जनाएको छ। 

पीडित परिवारका अनुसार शिवनन्दन र उनकी श्रीमतीको टाउकोसहित शरीरमा विभिन्न भागमा घरेलु हतियारको चोट लागेको छ। जवाहर र उनकी श्रमितीलाई २ कात्तिकको साँझ नै जनकपुरस्थित रामजानकी अस्पताल पुर्याएर सिटिस्क्यान गरी पुन: फर्काएर गोलबजारस्थित बर्धमान अस्पतालमा उपचार भइरहेको छ। उनको दाहिने हात र श्रीमतीको देब्र हातको शल्यक्रिया गरी शुक्रबार स्टिल हालिएको परिवारले जनाएको छ। 

See More On

सुझावित समाचार