नेपालले सामोआलाई दियो २१२ रनको लक्ष्य

शुक्रबार, ३१ असोज, २०८२
डिजिटल संस्करण

दुई खेलाडीले अर्धशतक बनाएपछि नेपालले आइसिसी टी–२० विश्वकप छनोटको अन्तिम खेलमा सामोआलाई २१२ रनको लक्ष्य दिएको छ । 

शुक्रबार ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २११ रन बनाएको हो।

नेपालका ओपनर आसिफ शेखले सर्वाधिक ६९ रन बनाए। उनले ४१ बलमा सात चौका र चार छक्का प्रहार गरेका हुन्। तेस्रो नम्बरमा आएका दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५३ रन बनाए। यो प्रतियोगितामा पहिलोपटक तेस्रो क्रममा आएका दीपेन्द्रले दुई छक्का र चार चौका हिर्काएका हुन्। 

यसबाहेक कुशल भुर्तेलले १७, कप्तान रोहितले २१ तथा लोकेश बमले ३९ रन बनाए।

प्रशिक्षक स्टुआर्ट लले अन्तिम खेलमा सोमपाल कामी, कुशल मल्ल र आदिल आलमलाई विश्राम दिँदै करण केसी, आरिफ शेख र ललित राजवंशीलाई मौका दिएका छन्।

नेपाल लगातार खेल जित्दै विश्वकपमा छनोट भइसकेको छ। नेपाल सामोआलाई हराउँदै विश्वकप छनोटको एसिया तथा इस्ट एसिया प्यासिफिकको च्याम्पियन बन्ने योजनामा छ।

यो प्रतियोगिताबाट नेपालसहित युएई र ओमान विश्वकपमा पुगिसकेका छन्।

सुझावित समाचार