आइसिसी टी–२० विश्वकप छनोट : नेपालसहित सुपर–६ मा छनोट हुने टिम कस्ता?

आइतबार, २६ असोज, २०८२
डिजिटल संस्करण

दक्षिण एसियाली मुलुक भारत र श्रीलंकामा आगामी वर्ष आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इएपी छनोटको सुपर–६ पक्का भएको छ । नौ टिम सहभागी भएको छनोटबाट नेपालसहित जापान, ओमान, कतार, सामोआ र संयुक्त अरब इमिरेट्स (युएई)मा छनोट भए । अब, एसिया र इएपीबाट तीन टिम छनोट भएसँगै विश्वकप खेल्ने २० टोलीको टुंगो लाग्नेछ । 

समूह ‘ए’बाट युएई र कतार छनोट हुँदा मलेसिया लगातार दुई खेलमा पराजित हुँदै बाहिरियो । समूह ‘बी’मा नेपाल लगातार विजयी हुँदा जापान उपविजेता भयो । कुवेत भने अप्रत्याशित दुवै हार निकाल्दै अगाडि बढ्न सकेन । समूह ‘सी’मा ओमानले दुवै जित निकाल्दा सामोआ पहिलोपटक सुपर ६ मा स्थान बनायो । यो समूहबाट अर्काे अप्रत्याशित हार व्यहोर्ने टोली बन्यो पपुवा न्युगिनी । अब, सुपर–६ को तालिकामा शीर्ष तीनभित्र रहने टोली सीधै विश्वकपमा छनोट हुनेछन् । सुपर–६ सुरु नहुँदै समूहमा लगातार दुई खेल जितेका नेपालसहित ओमान र युएईले दुई अंक जोडेका छन् । यी तीन टिमलाई नै विश्वकप पुग्ने सम्भावित राष्ट्रको रूपमा हेरिएको छ । 

नेपाल (लगातार दुई जित)
नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रोपटक विश्वकप खेल्ने योजनामा छ । पछिल्लोपटक विश्वकपमा सानदार प्रदर्शन गरेको नेपाल योपटक पनि भारत र श्रीलंकाको टिकट काट्ने योजनामा छ । नेपाल बलियो दाबेदारीको रूपमा उभिएको छ । यसको छाँटकाँट समूह चरणमा पनि देखियो । समूह चरणको खेलमा नेपालले कुवेतलाई ५८ तथा जापानलाई पाँच विकेटले पराजित गरेको थियो । नेपालले ब्याटिङमा औसत प्रदर्शन गर्‍यो । बलिङ र फिल्डिङमा भने नेपाली खेलाडीले बहादुरी प्रदर्शन गरेका छन् । छनोटमा नेपालको तर्फबाट सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिएका छन् । ब्याटिङतर्फ ओपनर कुशल भुर्तेलले ८७ रन बनाएका छन् ।

संयुक्त अरब इमिरेट्स (दुवै खेलमा जित)
पछिल्लोपटक अन्तिम समयमा विश्वकप छनोटबाट बाहिरिएको थियो युएई । यसपटक टोलीले विश्वकपमा स्थान बनाउने योजनासहित तयारी गरेको थियो । युएई तेस्रोपटक विश्वकप खेल्ने योजनामा छ । टोली यसअघि सन् २०१४ र सन् २०२२ मा विश्वकप खेलेको थियो । सायद अजिजको कप्तानीमा रहेको उसले विश्वकप छनोटको समूह ‘ए’मा लगातार दुई जित निकाल्यो । पहिलो खेलमा मलेसियालाई ६ विकेट र दोस्रो खेलमा कतारलाई सात विकेटले पराजित गरेको हो । युएईका लागि पूर्वकप्तान मोहम्मद वासिमले मलेसियाविरुद्ध सर्वाधिक ८४ रन बनाएका थिए । उनी नै समूह चरणमा सर्वाधिक ९५ रन बनाउने पहिलो खेलाडी बनेका छन् । 

ओमान (दुवै खेलमा जित)
ओमानले समूह ‘सी’मा लगातार दुई जित निकाल्दै विजेता बन्यो । पहिलो खेलमा पिएनजीलाई ५२ रन तथा दोस्रो खेलमा सामोआलाई पाँच विकेटले पराजित गर्‍यो । ओमान चौथोपटक विश्वकप खेल्ने योजनामा छ । यसअघि टोलीले सन् २०१६, सन् २०२१ तथा सन् २०२४ मा खेलेको थियो । दुवैपटक समूह चरणबाट माथि बढ्न सकेन । छनोट खेलमा ओमानको तर्फबाट नदिम खान र सकिल अहमदले सर्वाधिक समान तीन विकेट लिएका छन् । ५६ रन बनाएका ३१ वर्षीय विनायक शुक्ला समूह चरणमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा १४औँ स्थानमा छन् । 

जापान (एक जित, एक हार)
जापान पहिलोपटक विश्वकपमा छनोट हुने योजनामा छ । जापानले यसपटक क्रिकेटमा लगानी गर्‍यो र प्राथमिकतामा पनि राख्यो । उसले जापानमा जन्मिएर विभिन्न मुलुकमा रहेका खेलाडीलाई पनि टिममा समावेश गरेको छ । श्रीलंका, भारत, पाकिस्तान मूलका खेलाडी जापानको टिममा छन् । जापानले पहिलो खेलमा कुवेतविरुद्ध ऐतिहासिक जित निकालेको थियो । उसले छनोट निकालेको यो नै पहिलो जित हो । कुवेतले दिएको १७७ रनको लक्ष्य जापानले पाँच विकेट गुमाएर तीन बलअघि पूरा गरेको थियो । दोस्रो खेलमा उसले नेपाललाई चुनौती दियो । तर, अन्तिममा जापानले नेपाली खेलाडीअघि घुँडा टेक्न बाध्य भयो । खेलमा नेपाल पाँच विकेटले विजयी भयो ।

कतार (एक जित, एक हार)
कतार पनि पहिलोपटक विश्वकप खेल्ने योजनामा छ । भारतीय र पाकिस्तानी मूलका खेलाडी समावेश गरेको कतारले योपटक समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्‍यो । पहिलो खेलमा उसले बलियो मलेसियालाई १७ बलअघि आठ विकेटले पराजित गरेको हो । दोस्रो खेलमा भने नौ बलअघि युएईसँग सात विकेटले पराजित भयो । यो समूहमा मलेसियाविरुद्ध कतारले अप्रत्याशित जित निकालेको थियो । छनोटमा कतारका ओवाइस अहमेदले तीन विकेट लिएका छन् । उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा नवौँ स्थानमा छन् । ६५ रन बनाएका जुबाइर अली सातौँ स्थानमा छन् ।

सामोआ (एक हार, एक जित)
सामोआ पहिलोपटक विश्वकप छनोट हुने योजनामा छ । यसले छनोटमा यसको छाँटकाँट पनि देखाएको छ । समूहमा ओमान र पिएनजीलाई बलियो प्रत्याशीको रूपमा हेरिएको थियो । तर, सामोआले उत्कृष्ट प्रदर्शन गर्र्दै सुपर ६ मा स्थान बनायो । पहिलो खेलमा सामोआले उत्कृष्ट प्रदर्शन गर्दै पिएनजीलाई ६ विकेटले हरायो । 

ओमानसँग भने पाँच विकेटले पराजित भएको हो । न्युजिल्यान्डबाट खेलेका विश्वविख्यात ब्याटर रस टेलर सामोआबाट खेलिरहेका छन् । यद्यपि, उनी पहिलो खेलमा एक रन बनाउँदा ‘रिटायर्ड हर्ट’ भए । दोस्रो खेलमा ओमानविरुद्ध भने २८ बलमा मात्र २२ रन बनाएका थिए । छनोट खेलमा १९ वर्षीय सोलोमन मेने नासले सर्वाधिक पाँच विकेट लिएका छन् । 

सुझावित समाचार