जेन–जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा

बिहिबार, २३ असोज, २०८२
डिजिटल संस्करण

व्यापारिक घराना चौधरी ग्रुप (सिजी)ले जेन–जी आन्दोलनमा सहिद भएका परिवारलाई रोजगारी दिने घोषणा गरेको छ । सिजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बुधबार सामाजिक सञ्जालमार्फत प्रत्येक सहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने घोषणा गरेका हुन् ।

२३ र २४ भदौमा देशभर भएको आन्दोलनका क्रममा ७६ जनाको मृत्यु पुष्टि भइसकेको छ । आन्दोलनपछि गठित अन्तरिम सरकारले मृत्यु भएका सबैलाई सहिद घोषणा गरिसकेको छ । चौधरी ग्रूपले सबै जेन–जी आन्दोलनका सबै सहिद परिवारका एक सदस्यलाई रोजगारी दिने भएको हो । 

जेन–जी आन्दोलनका क्रममा अराजक भिडले सरकारी संरचनाका साथै निजी उद्योग–व्यवसायमा तोडफोड, लुटपाट र आगजनी गरेका थिए । सोही क्रममा चौधरी ग्रुपको सतुंगलस्थित सिजी डिजिटल पार्क, ग्रुपका अध्यक्ष विनोद चौधरीको निजी आवास, सोरुमलगायतमा समेत आक्रमण भएको थियो । अर्बौँको क्षति व्यहोरेको चौधरी ग्रुपले आफ्नो पीडालाई बिर्सिँदै सहिद परिवारको पीडामा मलम लगाउने प्रयास गरेको छ । 

ग्रुपका प्रबन्ध निर्देशक चौधरीले आफूहरूको निजी निवास, कार्यालय, सोरुम र कारखानामा ठुलो क्षति भएको र यो विध्वंशले गहिरो पीडा दिए पनि सहिद परिवारलाई रोजगारी दिनु ग्रुपको कर्तव्य भएको उल्लेख गरेका छन् । ‘यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वासका साथ पुनर्निर्माणको यात्रामा अघि बढेका छौँ,’ उनले भने, ‘सहिद परिवारलाई रोजगारी दिने आफूहरूको वाचा मात्र नभई कर्तव्य र श्रद्धा पनि हो ।’

चौधरीका अनुसार सिजीको टिमले सम्पूर्ण सहिद परिवारलाई सम्पर्क गरिरहेको छ । साथै सम्पर्कमा आउन नसकेकाहरूलाई भने चौधरी ग्रुपको कर्पोरेट कम्युनिकेसन विभागमा सम्पर्क गराउन पनि चौधरीले सार्वजनिक अनुरोध गरेका छन् । यता, कम्युनिकेसन विभाग प्रमुख मधुसुदन पौड्यालले सहिद परिवारलाई रोजगारीका लागि उनीहरूको योग्यता र रुचिअनुसार छनोट गरिने बताए । ‘अहिले सहिद परिवारको योग्यता र रुचि के छ हामीलाई थाहा छैन,’ पौड्यालले भने, ‘उहाँहरू कोही टेक्निकल फिल्डको हुनुहोला, कोही इन्जिनियरिङ फिल्डको हुनुहोला । कोही हाइलेभल वा कोही सामान्य क्षेत्रको पनि हुनुहोला । जो जुन क्षेत्रमा योग्य हुनुहुन्छ र रुचि छ सोही क्षेत्रमा रोजगारी प्रदान गरिनेछ ।’ साथै, विशेष योग्यता नभएको सहिद परिवार भए पनि सोही प्रकृतिको रोजगारी सिर्जना गरिने पौड्यालको भनाइ छ ।

प्रबन्ध निर्देशक चौधरीले सामाजिक सञ्जालमा गरेको घोषणालगत्तै केही सहिद परिवार रोजगारीका लागि सम्पर्कमा आइसकेको उनले बताए । कम्पनीले आधिकारिक सूचना प्रकाशित गरी रोजगारीसम्बन्धी थप प्रस्ट्याउने पौड्यालले जानकारी दिए । 

आन्दोलनका क्रममा सिजीको सतुंगलस्थित डिजिटल पार्कमा तोडफोड एवं आगजनी भएको थियो । एक हजारभन्दा बढी कर्मचारी कार्यरत रहेकामा कसैको पनि रोजगारी प्रभावित नभएको पौड्यालले जानकारी दिए । ‘प्रदर्शनका क्रममा सिजी प्रभावित भएको हो । आगजनीले अफिस पनि छैन । तर, एक हजारभन्दा बढी कर्मचारी रहेकामा कसैको पनि रोजगारी प्रभावित भएको छैन, हुन पनि दिन्नौँ,’ पौड्यालले भने । 

सुझावित समाचार