‘निर्यातलाई प्रतिस्पर्धी बनाउन तत्काल तयारी थाल्नुपर्ने’

शुक्रबार, ३० असोज, २०८३
प्रिन्ट संस्करण


काठमाडौं/ नेपाल अति कम विकसित मुलुक (एलडिसी)बाट विकासशीलमा स्तरोन्नति भएपछि निर्यात व्यापारमा आउन सक्ने चुनौतीको सामना गर्न अहिल्यै तयारी थाल्नुपर्ने सरोकारवालाले बताएका छन् । स्तरोन्नति भएपछि सिर्जना हुन सक्ने चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सरकार र निजी क्षेत्रले तत्कालै तयारी थाल्नुपर्नेमा व्यवसायी र विज्ञहरूले जोड दिएका हुन् । 

निर्यात व्यवसायी महासंघ नेपाल (फिन)को आयोजना तथा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को सहयोगमा बिहीबार ललितपुरको कुपन्डोलस्थित होटेल हिमालयनमा आयोजित ‘नेपालको एलडिसी स्तरोन्नति : निर्यातमुखी उद्यमका चुनौती र अवसर’ विषयक राष्ट्रिय संवादमा सहभागी सरकारी अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधिले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा साउथ एसियन वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भाइरोन्मेन्टका कार्यकारी निर्देशक डा. पारस खरेलले ‘एलडिसी स्तरोन्नति : निर्यातमुखी साना तथा मझौला उद्यमका अवसर, चुनौती र प्रभाव’ विषयमा प्रस्तुति दिँदै अवसरको सदुपयोग र चुनौतीको सामना गर्न अहिल्यै तयारी गर्नुपर्ने बताए ।

अन्तर्राष्ट्रिय श्रम संगठनको एलडिसी स्तरोन्नति परियोजनाका राष्ट्रिय परियोजना संयोजक प्रकाश शर्माले स्तरोन्नतिलाई चुनौतीका रूपमा मात्र नभई अवसरका रूपमा लिनुपर्ने बताउँदै त्यसका लागि तयारी तत्काल सुरु गर्नुपर्ने धारणा राखे । 
 

सुझावित समाचार