एसियन टी–२० विश्वकप छनोट आजदेखि : नेपालको लक्ष्य तेस्रोपटक छनोट हुने

बुधबार, २२ असोज, २०८२
डिजिटल संस्करण
एसियन टी–२० विश्वकप छनोट आजदेखि : नेपालको लक्ष्य तेस्रोपटक छनोट हुने

आइसिसी पुरुष टी–२० विश्वकपअन्तर्गत एसियन छनोटमा सहभागी नौ राष्ट्रका कप्तान ट्रफीका साथ । तस्बिर : क्यान

आइसिसी पुरुष टी–२० विश्वकपअन्तर्गत एसियन छनोट प्रतियोगिता बुधबारदेखि ओमानमा सुरु हुँदै छ । विश्वकपमा अब एसियन राष्ट्रबाट तीन टोली छनोट हुन बाँकी छन् । अहिलेसम्म विश्वकपमा १७ राष्ट्रले स्थान पक्का गरेका छन् । यसपटक इटालीले विश्वकपमा डेब्यु गर्नेछ । एसियन छनोटमा नेपालसँगै युएई, मलेसिया, कतार, कुवेत, जापान, आयोजक ओमान, पपुवा न्युगिनी र सामोआले प्रतिस्पर्धा गर्नेछन् । सुपर सिक्सका शीर्ष तीन राष्ट्रले अर्को वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा स्थान पक्का गर्नेछ ।

सहभागी नौ टोलीका एउटै लक्ष्य सुपर सिक्समा शीर्ष स्थानमा रहँदै विश्वकप खेल्ने छन् । एसियन छनोटमा नेपाल समूह ‘बी’मा रहेको छ । नेपालले कुवेत र जापानविरुद्ध प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्नेछ । यसपटक जापान नेपालको नयाँ प्रतिद्वन्द्वी हो । कुवेतसँग नेपालले विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गरिसकेको छ । कुवेतले नेपाललाई स्तब्ध पनि बनाएको छ । यद्यपि, नेपालको लक्ष्य भनेको लगातार दुई तथा समग्रमा तेस्रोपटक आइसिसी टी–२० विश्वकपमा स्थान बनाउने हो ।

नेपाल पहिलोपटक सन् २०१४ मा बंगलादेशले आयोजना गरेको विश्वकप खेलेको थियो । त्यसपछि दोस्रोपटक खेल्न नेपालले १० वर्ष लगायो । सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा विश्वकप आयोजना गरेका थिए । लगातार दोस्रोपटक विश्वकपमा स्थान पक्का गर्ने लक्ष्यका साथ नेपाली राष्ट्रिय टोली ओमानमा छ । ओमानमा नेपालले दुई मैत्रीपूर्ण खेलमा जित हात पार्दै आत्मविश्वास बलियो बनाएको छ । यसका साथै नेपालले गत साता टेस्ट मान्यताप्राप्त वेस्ट इन्डिजसँगको टी–२०आई सिरिजमा २–१ को ऐतिहासिक जित निकालेको थियो ।

वेस्ट इन्डिज र अभ्यास खेलमा प्राप्त नतिजाले पनि नेपाली खेलाडीको मनोबल यतिवेला उच्च रहेको छ । कप्तान रोहितकुमार पौडेलले यी वेस्ट इन्डिजमाथिको ऐतिहासिक सफलता र अभ्यास खेलपछि टोली छनोट चरणमा उत्कृष्ट प्रदर्शन गर्न तयार भएको बताएका छन् । ‘हामी ओमानमा उत्कृष्ट प्रदर्शन गरी विश्वकपमा स्थान बनाउँछौँ,’ रोहितले भनेका छन्, ‘विश्वकप छनोटका लागि नेपालको तयारी निकै राम्रो रह्यो ।’ उनले पछिल्लो दुई वर्षदेखि खेलाडीसँगै खेलिरहेका कारण पनि नेपाल टोली उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्ने बताए ।

‘छनोट भएका सबै खेलाडीहरू लगातार दुई वर्षदेखि सँगै खेलिरहेका छौँ । यसले पनि टोलीको सन्तुलन राम्रो छ,’ उनले भने, ‘तर हाम्रो पहिलो लक्ष्य सुपर सिक्समा पुग्ने हो । समूहचरण पार गर्न कम्तीमा पनि एक खेल जित्नैपर्नेछ ।’

शीर्ष तीन टोली विश्वकपमा पुग्ने
आइसिसीले यसपटक एसियन विश्वकप छनोट नयाँ फर्म्याटमा आयोजना गर्दै छ । सुपर सिक्सका शीर्ष तीन टोली आइसिसी टी–२० कपमा छनोट हुनेछन् । तीन समूहका समान शीर्ष दुई टोली गरी सुपर सिक्समा पुग्नेछन् । जहाँ उनीहरूले एक–अर्काविरूद्ध खेल्नेछन् । आफ्नो समूहबाट आएको टोलीले सुपर सिक्समा प्रतिस्पर्धा गर्नेछैन । समूहचरणमा शतप्रतिशत जित निकाल्ने टोलीको अंक पनि सुपर सिक्समा समावेश हुनेछ । यसैकारण पनि नेपालले आफ्नो समूहमा दुई जितका साथ सुपर सिक्समा पुग्ने लक्ष्य राखेको छ । समूहचरणको जित सुपर सिक्समा महŒवपूर्ण हुनेछ । समूहचरणमा बलियो राष्ट्रले अप्रत्याशित नतिजा निकाल्दा सुपर सिक्समा दबाब सामना गर्नुपर्ने हुन्छ । एक हारले पनि विश्वकप यात्रामा धक्का लाग्न सक्छ । यसकारण पनि नेपालले समूहचरणमा प्रस्ट जित निकाल्नुपर्नेछ । 

वेस्ट इन्डिज र अस्ट्रेलियनसँगको तयारी
नेपाल क्रिकेट संघ (क्यान)ले ओमानले आयोजना गर्ने विश्वकप छनोटका लागि नेपाली टोलीलाई लामो समयदेखि नै तयारीमा राखेको छ । एकमात्र अन्तर्राष्ट्रियस्तरको त्रिभुवन क्रिकेट मैदान पुनर्निर्माण कार्य भइरहँदा क्यानले खेलाडीलाई स्वदेशमा भन्दा विदेशमै अभ्यासमा व्यस्त बनायो । यसक्रममा नेपालले दुई महŒवपूर्ण प्रतियोगितामा सहभागी भयो । विश्वकपको तयारी क्रममा नेपालले इंग्ल्यान्डमा अभ्यास खेल खेल्यो । त्यसपछि गत भदौमै नेपालले अस्ट्रेलियामा टप एन्ड कप खेलेको थियो । जहाँ बंगलादेश र पाकिस्तानको ‘ए’ टोलीसँग नेपालले प्रतिस्पर्धा गर्‍यो । टप एन्ड कपपछि नेपाली खेलाडीले अस्ट्रेलियाकै स्थानीय टोलीसँग मैत्रीपूर्ण खेल खेलेका थिए । अस्ट्रेलिया र इंग्ल्यान्डको भ्रमणपछि नेपालले ऐतिहासिक रूपमा सारजहाँ क्रिकेट मैदानमा वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्यो ।

नेपालले पहिलोपटक टेस्ट राष्ट्रसँग टी–२० आई सिरिज खेलेको थियो । विश्वकप छनोटअघि अभ्यास खेलमा पनि नेपालले राम्रो प्रदर्शन गर्‍यो । नेपालका कप्तान पौडेलले विश्वकप छनोटअघि राम्रो तयारी भएको बताएका छन् । उनले वेस्ट इन्डिजविरुद्धको सिरिजबाट नेपाली टोलीलाई राम्रो भएको प्रतिक्रिया दिएका छन् । ‘नेपालको समग्रमा राम्रो तयारी भएको छ । सबै फर्ममा र छनोट खेल्न तयार भएका छौँ,’ उनले भने, वेस्ट इन्डिज सिरिजले कन्फिडेन्स बढाएको छ ।’ कप्तान पौडेलले विश्वकप छनोटमा नयाँ सुरुवात गर्ने बताए । ‘अघिल्लो नतिजा बिर्सेर हामी छनोट प्रतियोगितामा सुरुदेखि नै सुरुवात गर्छौँ,’ उनले भने, ‘हामीले जुन ब्रान्डको क्रिकेट खेल्यौँ त्यसले कन्फिडेन्स दिएको छ ।’ 

सबै पक्षमा नेपाल बलियो
नेपालका प्रशिक्षक स्टुवार्ट लले विश्वकपका लागि छनोटका लागि अन्तिम टोली घोषणा गरिसकेका छन् । उनले नेपालको टोलीलाई मिश्रित बनाएका छन् । तर, टोलीमा अलराउन्डर धेरै छन् । सबै खेलाडीले बलिङ गर्न सक्छन् । अभ्यास खेलपछि घोषणा भएको नेपालको बलियो पक्ष ब्याटिङ, बलिङ र फिल्डिङ हो । जुन वेस्ट इन्डिजसँगको खेलमा खेलाडीले प्रमाणित गरेका थिए । नेपालका कप्तान पौडेलले भने बलियो पक्ष फिल्डिङ भएको बताए । उनले ब्याटिङमा सुधार गर्नुपर्ने जनाए । ‘हाम्रो बलियो पक्ष फिल्डिङ हो । हाम्रो टोलीमा अलराउन्डरले भरिएको छ,’ उनले भने, ‘सबै खेलाडी बलिङ, ब्याटिङ, फिल्डिङ गर्न सक्छन् । धेरैजसो एरिया कभर भइसक्यो ।’ 

सुझावित समाचार